काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट निर्माणको काम सुरु भएको छ ।
निर्माण कम्पनी बी.के.ओ.आई के.सी.डी.सी. जेभीले २ महिनामा निर्माण सम्पन्न गर्ने गरी प्यारापिट निर्माणको काम सुरु गरेको हो । परियोजनाको औपचारिक सिलान्यास नगरिए पनि आजदेखि निर्माण सुरु भएको हो । हाल १० हजार दर्शक क्षमताको विना छतको प्यारापिट निर्माण गरिने निर्माण कम्पनीका प्रतिनिधि बिनोद गौतमले जानकारी दिए ।
निर्माणको काम आगामी वैशाख २० गतेभित्र सम्पन्न गर्नुपर्ने समय सिमा तोकिएको छ । निर्धारित समयमा काम सक्न निर्माण कम्पनीले २४ सै घण्टा ३ सिफ्टमा काम गर्ने बताएको छ ।
शहरी विकास मन्त्रालयअन्तर्गत संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले फागुन १ गते केसीडीसी जेभीको प्यारापिट निर्माणका लागि ४३ करोड ७७ को बोलपत्र स्वीकृत गरेको थियो र सोहीअनुसार कम्पनीले निर्माण कार्य सुरु गरेको हो ।
फ्लड लाइट जडानका लागि ४२ करोड १९ लाखको बोलपत्र स्वीकृत भएपछि विशाण-ईश्वरी जोइन्ट भेन्चरले पनि निर्माण कार्य सुरु गर्ने तयारी गरेको छ ।