राष्ट्रपतिको चुनावमा केको अल्झन् ?

माघ ९, २०७९ |अञ्जना लामिछाने|अवतार राई
राष्ट्रपतिको चुनावमा केको अल्झन् ?

काठमाडौं । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनमा भएको व्यवस्थाअनुसार अब १९ दिनभित्र नयाँ राष्ट्रपति चयन गरिसक्नुपर्छ । राष्ट्रपतिको पदावधि सकिनु एक महिनाअघि नयाँ राष्ट्रपति चयन गरिसक्नुपर्ने व्यवस्थाअनुसार माघ २८ भित्रै चुनाव गरिसक्नुपर्ने हो । तर, न निर्वाचन आयोगले मिति तोकेको छ न त सरकारले नै चासो देखाएको छ । बरु आयोग संविधान र कानुन बाझिएको भन्दै अल्झन देखाएर बसेको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ अनुसार कार्यकाल सकिनु १ महिनाअघि नै निर्वाचन गरिसक्नुपर्नेछ । वर्तमान राष्ट्रपतिको कार्यकाल फागुन २९ मा सकिँदै छ । त्यस हिसाबले राष्ट्रपतिको निर्वाचन माघ २८ भित्रै गरिसक्नुपर्छ । तर निर्वाचन आयोगलाई निर्वाचन मिति तोक्न हतार छैन । उसले संविधान र ऐन बाझिएको बहाना देखाएर अलमल गर्दै आएको छ ।

कांग्रेसको नजर अब राष्ट्रपतिमा

नेपालको संविधानको धारा ६३ मा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल निर्वाचित भएको मितिले पाँच वर्ष तोकेको भन्दै कार्यकाल पूरा गर्न दिने कि ऐनमा टेकेर निर्वाचन गराउने भन्नेमा आयोग दुविधामा परेको हो । ऐनभन्दा संविधान माथि हुने भएकाले कार्यकाल पूरा गर्न दिने पक्षमा आयोग छ ।

त्यसो त सरकार पनि स्पष्ट हुन सकेको छैन । यही विषयमा सरकारले आयोगसँग पटक-पटक छलफल गरेको छ, तर कुनै निर्णय गर्न नसकेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती बताउँछन् ।

एकदमै राष्ट्रिय सहमति हुनुपर्छ राष्ट्रपतिमा : ओली

कानुनले भनेअनुसार एक महिना अघि नै निर्वाचन गर्ने हो भने दुईजना राष्ट्रपति हुन्छन्, जुन संविधानले कल्पना गरेको छैन । संविधानको व्यवस्थाअनुसार वर्तमान राष्ट्रपतिको कार्यकाल पाँच वर्ष पूरा गर्न दिने हो भने राष्ट्रपतिको पद रिक्त हुने सम्भावना पनि उत्तिकै छ । 

सरकारले कानुनी अड्चन बेलैमा सुल्झाउन नसक्दा अहिले अवस्था जटिल बनेको हो ।


Image

अञ्जना लामिछाने

लामिछाने कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।

Image

अवतार राई

राई कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।