कांग्रेसको नजर अब राष्ट्रपतिमा

माघ ९, २०७९ |प्रकाश बम
कांग्रेसको नजर अब राष्ट्रपतिमा

काठमाडौं । फेरिएको राजनीतिक समीकरणसँगै संघ र सातै प्रदेशमा सरकारबाट बाहिरिएको नेपाली कांग्रेसको नजर अब राष्ट्रपतिमा पदमा परेको छ। सभामुख र उपसभामुख निर्वाचनमा एकीकृत समाजवादी र लोसपाको समर्थनमा विपक्षी गठबन्धन बनाएको कांग्रेसले राष्ट्रपति पद प्राप्तिका लागि मा‌ओवादी केन्द्रको समेत साथ लिने रणनीति बनाएको छ ।

राष्ट्रपतिको आशमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको कांग्रेस यही मुद्दामा आन्तरिक विवादमा फसेको छ । अब पार्टीभित्रको विवाद मिलाउँदै राष्ट्रपति पद हात पार्ने कांग्रेसको योजना कत्तिको सफल होला ?

पुस २६ गते प्रधानमन्त्री दाहालले संसद्‌बाट विश्वासको मत लिँदा विपक्षी कांग्रेसलेसमेत मत हाल्यो । कांग्रेसको त्यो कदमलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीले माछा नपर्ने खोलामा ढोक्सा थापेको भन्दै व्यङ्ग्य गर्न भ्याए । प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेसले कमजोर अंकगणित हुँदाहुँदै पनि सभामुख र उपसभामुखमा उम्मेदवार उठायो । माओवादी केन्द्रलाई नचिढ्याउने रणनीति लिएको कांग्रेसले सभामुख तथा उपसभामुख दुबै पदमा पराजय व्यहोर्यो ।

कांग्रेसले गलत सोचेर समर्थन गरे माछा नभएको खोलामा जाल हाने जस्तो हुन्छ : ओली

अब उसको अर्जुनदृष्टि राष्ट्रपति पदमा परेको छ । आइतबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी, पूर्वपदाधिकारी र शीर्षनेताहरुको बैठकले कांग्रेसका तर्फबाट राष्ट्रपतिको उम्मेदवार उठाउने निर्णय नै गरेको नेता शशांक कोइराला बताउँछन् ।

राष्ट्रपतिका लागि कांग्रेसले तीनवटा रणनीति अपनाएको छ । पहिलो- प्रधानमन्त्री दाहाललाई मनाएर राष्ट्रिय सहमतिमा आधारमा कांग्रेसको पक्षमा राष्ट्रपति पार्ने । दोस्रो अस्त्र- माओवादी केन्द्रलाई साथ लिएर राष्ट्रपति निर्वाचन आफ्नो पक्षमा पार्ने । र, तेस्रो- दुवै रणनीति असफल भए सत्ता बाहिर रहेका दलहरुको साथ लिएर प्रतिस्पर्धामा उत्रने कांग्रेसको अन्तिम विकल्प छ ।

दाहालले कांग्रेसप्रति विश्वास देखाउलान् कि एमालेप्रति ?

तर, यति हुँदा पनि कांग्रेसले पुस १० मा पुष्पकमल दाहाललाई भड्काउने र २६ गते विश्वासको मत दिने निर्णय गरेपछि पार्टीभित्र विवादमा कायमै छ । केन्द्रीय कार्य समितिको बैठकसमेत दुईपटक सरेको छ। दाहाललाई विश्वासको मत दिनु गल्ती भएको सोमबार असन्तु्ष्ट पक्षको भेलामा केही नेताले टिप्पणी गरेका थिए । कोइराला समूहको भेलाबाट आक्रोशित बनेका सभापति देउवाले मंगलबार पदाधिकारी बैठक नै बोलाएर त्यसबारे नेताहरुसँग सोधखोज गरे ।

आसन्न राष्ट्रियसभाको निर्वाचन, राष्ट्रपति चुनाव, भ्रातृ स‌ंस्था र विभागको पूर्णतालगायत एजेन्डामा कांग्रेस एक ठाउँमा उभिने निष्कर्षमा पुगेको नेताहरुले दाबी गरेका छन् । पार्टीको आन्तरिक विवाद मिलेको दाबी गरे पनि कांग्रेसलाई राष्ट्रपतिमा जित हासिल गर्न भने अहिलेसम्मको अंकगणितले साथ दिएको छैन । 

यो पनि...

दाहाललाई कांग्रेसको विश्वासको मत, चुलियो असन्तुष्टि


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।