गृहमन्त्री गुरूङद्वारा राजीनामा

वैशाख ९, २०८३ |दशरथ राई
गृहमन्त्री गुरूङद्वारा राजीनामा

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राजीनामा दिनुभएको छ । 

सेयर लगानीको स्रोत र सम्पत्ति शुद्धीकरण अनुसन्धानमा हिरासतमा रहेका विवादित व्यवसायी दीपक भट्टसँगको व्यावसायिक साझेदारीबारे विवाद उत्पन्न भएपछि गृहमन्त्री गुरूङले आफूमाथि छानबिन गर्न माग गर्दै बुधबार प्रधानमन्त्री वालेन्द्र शाहलाई राजीनामा दिनुभएको हो । 

गुरुङको राजीनामापछि गृह मन्त्रालय प्रधानमन्त्री शाहले नै राख्नुभएको छ । सुशासनको मुख्य मुद्दा बनाएर चुनावमा गएको र परिवर्तनलाई आत्मसात गर्ने भन्दै सरकार बनाएको रास्वपाबाट सरकार बनेको २७ दिनमा दुईजना मन्त्री सरकारबाट बाहिरिनु परेको छ । 

पदमा रहँदा स्वार्थ नबाझियोस् भनेर मार्गप्रशस्त गर्न राजीनामा दिएको भन्दै गुरुङले सामाजिक सञ्जालमार्फत रामराज्यको चाहाना राख्नेहरुले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्ने उल्लेख गर्नुभएको छ । राजीनामा दिनुअघि गुरुङले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर दुई घण्टा भेटवार्ता गर्नुभएको थियो । 

उहाँले रास्वपा सभापति रवि लामिछानेसँग पनि भेट गर्नुभएको थियो । राजीनामा दिएपछि गृह मन्त्रालयमा पुगेर गुरुङले कार्मचारीलाई धन्यवाद दिँदै साँझ पाँच बजेतिर परिसरबाट बाहिरिनुभएको थियो । मन्त्रालयमा सञ्चारकर्मीको बाक्लो उपस्थिति रहे पनि गुरुङले कुनै प्रतिक्रिया भने दिनुभएन ।

राजीनामा दिएकोबारे गुरुङले सामाजिक सञ्जालमा भने सेयरलगायतका अन्य लगानीका विषयमा नागरिकस्तरबाट प्रश्न उठेको विषयलाई आफूले गम्भीर रूपमा लिएको उल्लेख गर्नुभएको छ। गुरुङले पदभन्दा ठूलो कुरा नैतिकता र जनविश्वासभन्दा ठूलो शक्ति कुनै नभएको भन्दै उहाँले स्वार्थको द्वन्द्व नदेखियोस् भनेर राजीनामा दिएको जिकिर गर्नुभएको छ । 

जेन-जी आन्दोलनको जगमा मुलुकमा सुशासन, पारदर्शीता र जवाफदेहीताको माग गर्दै उठिरहेकाले छानबिनका लागि राजीनामा दिएको उहाँको तर्क छ । जेन-जी आन्दोलनका क्रममा युवाहरूको बलिदानीको आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता भएको गुरुङको जिकिर छ।

सम्बन्धित समाचार :

गृहमन्त्री सुधन गुरुङका कारोबारका तथ्यले उब्जाएका शंका र अनुत्तरित प्रश्नहरू

शेयर, ऋण र सम्पत्तिबारे स्पष्टीकरणले झनै विवादमा तानिए गृहमन्त्री गुरुङ

गृहमन्त्री गुरूङको स्पष्टीकरण : अनुसन्धानमा सहयोग गर्न तयार छु


Image

दशरथ राई

राई कान्तिपुर टेलिभिजनको समाचार विभागमा कार्यरत छन् ।