
काठमाडौं । विवादित व्यापारी दिपक भट्टसँग व्यापारिक साझेदारी रहेको विवरण सार्वजनिक भएपछि गृहमन्त्री सुधन गुरुङ राजीनामाको दबाबमा पर्नुभएको छ।
आइतबार साँझ दियो पोस्ट र जनआस्था डटकमलगायतका सञ्चारमाध्यमले अनुसन्धानका क्रममा रहेका भट्टसहित शंकर समुहको लगानी रहेको स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा गुरुङको पनि लगानी रहेको विवरणसहितका कागजात सार्वजनिक भएका थिए।
पार्टीभित्र र बाहिरबाट राजीनामाको चर्को दबाब परेपछि गृहमन्त्री गुरुङ सोमबार दिनभर परामर्शमा रहनुभयो। आइतबार साँझ नै प्रधानमन्त्री वालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेसँग छलफल गर्नुभएको थियो । भेटमा राजीनामाकै विषयमा छलफल भए पनि के गर्ने भन्ने टुंगो लागेको छैन। मन्त्री गुरुङको सचिवालयले भने गुरुङ प्रधानमन्त्री शाहको निर्देशनको पर्खाइमा हुनुहुन्छ।
सोमबार बिहानै मन्त्रालय पुग्नुभएका गुरुङले महान्यायाधिवक्तासँग पनि छलफल गर्नुभएको छ। अपराह्न सभापति लामिछाने र महान्यायाधिवक्तासँग भएको छलफलको विषय भने सार्वजनिक भएको छैन। मन्त्री गुरुङले आफू अनुसन्धानमा सघाउन भने तयार रहेको सामाजिक सञ्जालमार्फत बताउनुभएको छ।
व्यापारी भट्टको इन्स्योरेन्स कम्पनीमा २५ लाख रुपैयाँ बराबारको शेयर रहेको तथ्य सार्वजनिक भएपछि गृहमन्त्री गुरुङ विवादमा तानिएका हुन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानलाई सघाउनुपर्ने पर्ने माग गरेको छ।
यस्तै जेन-जी मुभमेन्ट नेपालले पनि गृहमन्त्री गुरुङमाथि लागेका गम्भिर आरोपहरुको निष्पक्ष छानबिन गर्न र तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेका छन् ।
सम्बन्धित समाचार :