नेपालको पहिलो एआई कम्प्युट सेन्टर : डिजिटल भविष्यको जग कि ठूलो चुनौती ?

जेष्ठ २०, २०८३ |कृपाल गौतम
नेपालको पहिलो एआई कम्प्युट सेन्टर : डिजिटल भविष्यको जग कि ठूलो चुनौती ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत काठमाडौंको स्यूचाटारमा देशकै पहिलो ‘सार्वभौम एआई कम्प्युट केन्द्र’ स्थापना गर्ने घोषणा गरेको छ। 

आज हामी सरकारले स्थापना गर्न चाहेको एआई कम्प्युट सेन्टरको सम्भावना र चुनौती केलाउँदैछौं। तर, यसअघि बुझौं, के हो एआई कम्प्युट सेन्टर ।

के तपाईंले कहिल्यै सोच्नुभएको छ, च्याट जीपीटी वा जेमिनाई जस्ता एआई (AI) प्रविधिले तपाईंले सोधेको जटिल प्रश्नको जवाफ केही सेकेन्डमै कसरी दिन्छन्? करोडौँ पुस्तक, वेबसाइट र अनुसन्धानपत्रहरू विश्लेषण गरेर एआईले यति चाँडै उत्तर कसरी तयार पार्छ ?

साधारण भाषामा बुझौँ, पर्दा पछाडि हजारौँ शक्तिशाली कम्प्युटरहरू एकै समयमा चलिरहेका हुन्छन्। शब्द, वाक्य र तथ्यांकहरुको सम्बन्ध बुझ्न र सही उत्तर तयार पार्न एआईले एक सेकेन्डमै अरबौँ गणना गरिरहेको हुन्छ। यही गणना गर्ने शक्ति र यसका लागि आवश्यक डिजिटल पूर्वाधारलाई भनिन्छ एआई कम्प्युट। र, यस्ता हजारौँ कम्प्युटर एकै ठाउँमा राखिएको ठूलो पूर्वाधार नै एआई कम्प्युट सेन्टर हो।

एपवान सफ्टका प्रमुख सूचना अधिकृत अकबर खान भन्नुहुन्छ,'एआई कम्प्यूटिङ सेन्टर भनेको खास लार्ज ल्याङ्वेज भन्छ । यौ चै कुनै पनि सर्भरमा राख्नका लागी उसलाई हामीले कुनै कुरा दियौ भने उसले, त्यस्को एन्सर दिनका लागिचै खास टेक्निकल्ली इन्फ्रेन्सिङ भन्छ, मैले कुनैकुरा टेक्टमा दिन्छु, उस्ले टेक्टमै रेसपोन्स दिने हो । त्यो गर्नको लागी लार्ज ल्याङ्वेज मोडल ट्रेन गर्नका लागि, त्यस्पछि कन्जुम गर्नका लागि चाहिने कुराचै खास जिपियू एआई कम्प्यूट सिस्टम हो ।'

यदि एआईलाई एउटा अत्याधुनिक कार मान्ने हो भने, कम्प्युट त्यसको 'इन्जिन' हो। इन्जिन बिना कार चल्न नसकेझैँ, कम्प्युटिङ शक्ति बिना एआई पनि चल्न सक्दैन। र, यो इन्जिनलाई शक्तिशाली बनाउने काम गर्छ जीपीयू अर्थात् ग्राफिक्स प्रोसेसिङ युनिटले।

हामीले गुगलको जेमीनाई एआईलाई जीपीयूको बारेमा सोध्यौं।

जेमीनाईले जीपीयूलाई कम्प्युटरको सीपीयूसँग दाँजेर दिएको जवाफ यस्तो छ:

सीपीयू - यो कम्प्युटरको 'दिमाग' हो। यसमा केही संख्यामा (जस्तै: ४, ८ वा १६ वटा) निकै शक्तिशाली कोरहरू हुन्छन्। यसले एकपटकमा एउटा वा केही सीमित कामहरू पालैपालो तर निकै तीव्र गतिमा गर्छ। यो सामान्य सफ्टवेयर चलाउन र अफिसका काम गर्न उपयुक्त हुन्छ।

जीपीयू - यसमा सीपीयूको जस्तो थोरै होइन, बल्कि हजारौँ साना-साना कोरहरू हुन्छन्। यसले धेरै ठूला र जटिल कामहरूलाई टुक्रा-टुक्रा पारेर एकैसाथ प्यारेलल प्रोसोसिङ, हजारौँ गणनाहरू सेकेन्डभरमै गर्न सक्छ। सामान्य कम्प्युटरका प्रोसेसर दैनिक कामका लागि उपयुक्त हुन्छन्, तर एआईलाई विशाल मात्रामा डाटा विश्लेषण गर्नुपर्ने भएकाले जीपीयू बढी प्रभावकारी मानिन्छ। 

आज विश्वभर एआई क्षेत्रमा प्रयोग हुने अधिकांश उन्नत जीपीयू अमेरिकी कम्पनी एनभिडियाले बनाउँछ। एएमडी र इन्टेल जस्ता कम्पनीहरू पनि यस क्षेत्रमा सक्रिय छन्। एआई बजारमा यसको प्रभाव सबैभन्दा धेरै छ। एआई कम्प्युट केन्द्र भनेको यस्तै हजारौँ जीपीयू, डाटा भण्डारण प्रणाली र उच्च गतिको नेटवर्कलाई एकै ठाउँमा जोडेर बनाइने नेटवर्क हो। 

विश्वका धेरै देश अहिले यही कम्प्युट पूर्वाधार निर्माणको दौडमा छन्। अमेरिकासँग संसारकै ठूलो क्षमता छ भने चीन, भारत र साउदी अरेबियाले यसमा अर्बौँ डलर लगानी गरिरहेका छन्। कम्प्युटिङ शक्ति प्रविधिको नयाँ मेरुदन्ड बनिसकेको छ र यसैको सहारामा विश्व नै डिजिटल क्रान्तितर्फ अघि बढिरहेको छ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।