काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक दर्ता प्रमाणपत्र अर्थात् लाइसेन्स परीक्षामा यस वर्ष ६३ दशमलव ५० प्रतिशत विद्यार्थी उर्तीण भएका छन् ।
परीक्षामा स्वदेशका मेडिकल कलेजमा अध्ययन गर्नेहरु १२ सय ६४ जना सहभागी भएकामा ९ सय ६३ जना पास भएका छन् भने विदेशबाट पढेर आएका ५ सय ८३ मध्ये १ सय ९९ जनामात्रै पास भएका छन् । यो नतिजाले विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेर आएका विद्यार्थीहरु कमजोर रहेको देखाएको छ ।
विदेशमा अध्ययन गरेर आएकाहरु लाइसेन्स परीक्षामा किन धेरै फेल हुन्छन् ?
नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक दर्ता प्रमाणपत्र अर्थात् लाइसेन्स परीक्षामा यस वर्ष १८ सय ३७ जना सहभागी भएकामा ११ सय ६२ अर्थात् ६३ दशमलव ५० प्रतिशत विद्यार्थी पास भएका छन् । नेपालका विभिन्न मेडिकल कलेजबाट एमबीबीएस पूरा गरेका १२ सय ५४ मध्ये ९ सय ६३ अर्थात् ७६ प्रतिशत लाइसेन्स परीक्षामा पास भएका छन् ।
फेल हुनेको संख्या २ सय ८७ अर्थात् २४ प्रतिशत रहेको छ । तर, भारत, चीनसहित १० वटा देशबाट एमबीबीएस पुरा गरेका फर्केका अधिकांश नेपाली विद्यार्थी लाइसेन्स परीक्षामा फेल भएका छन् । चीनबाट एमबीबीएस पूरा गरेर लाइसेन्स परीक्षामा सहभागी १ सय ३३ मध्ये २० जना अर्थात् १५ प्रतिशतमात्र पास भएका छन् ।
भारतबाट एमबीबीएस गरेर आएका २६ मध्ये ११ जना अर्थात् ४२ प्रतिशत पास भएका छन् । भारत, चीनसहितका मुलुकबाट एमबीबीएस गरेर आएकाहरु ५ सय ७६ मध्ये पास हुनेको संख्या १ सय ९९ मात्र छ । सबैभन्दा धेरै बंगलादेशबाट पढेर आएकाहरु फेल भएका छन् ।
बंगलादेश पढेर आएका ३ सय ६७ जना लाइसेन्स परीक्षामा सहभागी भएकामा २ सय १६ जना अर्थात् ५९ प्रतिशत फेल भएका छन् । यस्तै पाकिस्तानबाट ६ जनामध्ये ४ जना पास भएका छन् भने फिलिपिन्सबाट पढेर आएकामा ४२ जना सहभागी भएकामा २९ जना अर्थात् ७२ प्रतिशत फेल भएका छन् ।
सउदी अरबमा पढेर आएका एक जना भने परीक्षामा पास भए । इजिप्टमा अध्ययन गरेर आएका २ जना, रुसबाट ३ जना, काजकिस्तानबाट एक जना र युक्रेनमा पढेर आएका एक जना सहभागी भएकामा कोही पनि सहभागी हुन सकेन । विदेशबाट मेडिकल शिक्षा पूरा गरेर आएका नेपाली विद्यार्थी लाइसेन्स परीक्षामा यतिधेरै विद्यार्थी फेल हुनुले विदेशको चिकित्सा शिक्षाको गुणस्तरीयताप्रति नै प्रस्न उब्जिएको चिकित्सा शिक्षाका जानकारहरुको भनाइ छ ।
त्यसैगरी दन्त चिकित्सा विज्ञान अथात बीडीएसमा नेपालका मेडिकल कलेजबाट सहभागी ४ सयमध्ये ३ सय ४३ जना अर्थात् ८५ प्रतिशत पास भएका छन भने ५७ जना फेल भए । बंगलादेश भारत र फिलिपिन्सबाट सहभागी ३४ जनामध्ये १० जना पास र २३ जना फेल भएका छन् भने एकजना अनुपस्थित भए ।
काउन्सिलले लिएको लाइसेन्स परीक्षा उर्तीण नभएसम्म चिकित्सा शिक्षा पूरा गरे पनि अभ्यास भने गर्न पाइँदैन । त्यसैले काउन्सिलले लिने लाइसेन्स परीक्षालाई गुणस्तर परीक्षणको रुपमा समेत लिने गरिएको छ ।