मनसुनजन्य विपद्का बेला उद्धारमा खटिने सुरक्षा संगठनसँग पर्याप्त स्राेत साधन छैन

जेष्ठ १६, २०८३ |शिखा श्रेष्ठ
मनसुनजन्य विपद्का बेला उद्धारमा खटिने सुरक्षा संगठनसँग पर्याप्त स्राेत साधन छैन

काठमाडौं । नेपाल जलजन्य प्रकोपमा ३०औं र बहुप्रकोपीय जोखिममा विश्वको २०औँ स्थानमा पर्छ । 

तर, विपद्‌मा जोखिम मोलेर व्यवस्थापन र उद्धारमा खटिने सुरक्षा संगठन भने अझै स्रोतसाधन सम्पन्न छैनन् । सशस्त्र प्रहरीले गृह मन्त्रालय मातहतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा बर्सेनि विपद्‌मा उद्धार कार्यका लागि आवश्यक सामग्रीहरूको लिस्ट पठाउँछ । 

तर, राज्यसँग माग्दा पनि रेस्क्यू भेहीकल, खोज तथा पहिचानका लागि प्रयोग हुने ड्रोन र लाइफ डिटेक्टिङ उपकरणहरू सशस्त्र प्रहरीले पाउन सकेको छैन । त्यस्तै नदी तथा तालहरूमा हुने दुर्घटनाका लागि डीप डाइभिङ उपकरण, रेस्क्यू राफ्ट र मोटर बोट पनि सशस्त्रले सरकारसँग माग गरेको गर्‍यै छ । 

उच्च हिमाली भेगका लागि आवश्यक खोज तथा उद्धार उपकरण पनि अझै उपलब्ध हुन सकेका छैनन् । नेपाल प्रहरीमा पनि उच्च प्रविधियुक्त सामग्रीको अभाव नै छ । प्रहरी प्रधान कार्यालयका अनुसार प्रभावकारी खोज तथा उद्धारका लागि १३ वटा सामग्री उपलब्ध गराइदिन प्राधिकरणसँग अनुरोध गरिएको छ । 

तर, रेस्क्यू ट्रक, रेस्क्यू भ्यान, एम्बुलेन्स, क्रेन रेस्क्यू ड्रोन, रेस्क्यू राडार, ड्रेन इन्स्पेक्सन क्यामरा, हेलिकोप्टरलगायत उपकरण अहिलेसम्म प्राप्त भइसकेको छैन । पानीमुनि खोजतलास गर्ने क्यामेरा, डेमोलिसन ह्याम्मर र ग्यामो ब्याग पनि प्रहरीसँग अभाव नै छ । 

उसो त विपद् उद्धारमा खटिने कर्मचारीलाई जोखिम बीमा र जोखिम भत्ताको समेत अपेक्षा प्रहरीले राखेको छ । अन्य निकायको तुलनामा मनसुनजन्य विपद् प्रतिकार्यका लागि नेपाली सेना स्रोतसम्पन्न नै छ । काठमाडौँसहित सुर्खेत र इटहरीमा एक/एक वटा हेलिकोप्टर तयारी अवस्थामा राखिएको सेनाको भनाइ छ । 

मौसम पूर्वानुमानका आधारमा उद्धारकर्ता पूर्वतैनाथ गरिएको, बाढीपहिरोले राजमार्ग अवरुद्ध भएमा तत्काल यातायात सञ्चालन गर्न धादिङको गजुरी, चितवनको भरतपुर र बाराको जितपुरमा बेलीब्रिज तयार राखिएको सेनाले जनाएको छ । विगतका अनुभव र सिकाइका आधारमा यस वर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तयार पारिएको सैनिक प्रवक्ताको भनाइ छ ।

विपद्जन्य घटनामा खोज तथा उद्धारका लागि तीनवटै निकायका २१ हजार ६ सय ९८ सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ । जसमध्ये नेपाली सेनाका ३ हजार ३, नेपाल प्रहरीका १० हजार ५ सय ८५ र सशस्त्र प्रहरीबाट १ सय ३४ गोताखोरसहित ८ हजार १ सय १० जना छन् ।

उनीहरू आवश्यकताका आधारमा ७७ वटै जिल्लामा खोज तया उद्धारका लागि तयार पारिएका जनशक्ति हुन् । तीनवटै सुरक्षा संगठनका अस्पतालहरूमा आवश्यक जनशक्ति, उपकरण र औषधिसहित आपत्कालीन मेडिकल टिमसमेत तयारी अवस्थामा छन् ।

सरकारले यस वर्षको मनसुन प्रतिकार्यका लागि गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्य मन्त्रालय, सडक विभाग, जल तथा मौसमविज्ञान विभागलगायत निकायलाई जिम्मेवारी तोकेको छ । उद्धार, राहत, सञ्चार, स्वास्थ्य सेवा, अस्थायी आश्रयस्थल, खानेपानी तथा खाद्य सुरक्षाका लागि छुट्टाछुट्टै क्लस्टर परिचालन गरिने योजना बनाइएको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणले तयार पारेको राष्ट्रिय प्रतिकार्य योजना लागू भइसकेको जनाएको छ ।


Image

शिखा श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनकाे सुरक्षा ब्युराेमा कार्यरत छिन् ।