दिदीको सम्झनामा हरेक स्पाइक, राष्ट्रिय टोलीमा मीनाको उदय

जेष्ठ २०, २०८३ |सविना कार्की
दिदीको सम्झनामा हरेक स्पाइक, राष्ट्रिय टोलीमा मीनाको उदय

काठमाडौं । काठमाडौंमा गत शुक्रबार सम्पन्न काभा महिला भलिबल च्याम्पियनसिपमा नेपाल पदकविहीन भयो । 

घरेलु कोर्टमा भएको काभामा नेपालले पदक नजितेको यो पहिलो पटक हो । असफलतामा निराशा मात्र हुँदैनन् । निरुता ठगुन्नाको कप्तानीमा रहेको नेपाली टीममा अधिकांश नयाँ खेलाडीको बाहुल्यता थियो । तीमध्ये एक हुन् मीना सुनार, जसले यही प्रतियोगितामार्फत सिनियर टिममा डेब्यू गरिन् ।

१७ वर्षकी मीना सुनार करिअरको सुरुआती चरणमै छिन् । उमेर समूह हुँदै सिनियर टीमको यात्रा तय गरेकी मीना स्पाइकर हुन् । केही साताअघि घरेलु कोर्टमा भएको काभा महिला भलिबल च्याम्पियनसिपअन्तर्गत भारतसँगको खेलमार्फत उनले राष्ट्रिय टीममा डेब्यू गरिन् । 

भलिबल खेल्न सुरु गरेको ५ वर्षको अवधिमा मीनाले धेरै समर्थक कमाइसकेकी छिन् । बाग्लुङको ढोरपाटनमा जन्मिएकी उनी छैटौं एनभीए अवार्डको महिलातर्फ इमर्जिङ प्लेयर बनिन् । बुटवलको एभरेस्ट भलिबल क्लबबाट घरेलु प्रतियोगिता खेल्ने मीनाको रोजाइ भने कहिल्यै भलिबल थिएन ।

मीना आफ्नो सपना बाँचिरहेकी छैनन् । हरेक पटक जब कोर्टभित्र प्रवेश गर्छिन, उनीसँगै हुन्छ आफ्नी दिदीको सपना । दुई वर्षअघि मीनाको परिवारमा अकल्पनीय घटना भयो । मीनाकी दिदी शान्ता, जो आफैं पनि भलिबल खेलाडी थिइन्, सधैंका लागि अस्ताइन् । 

दिदीको करले भलिबल समातेकी मीना दिदीकै लागि खेलिरहेकी छिन् । जति बेला पनि मुस्कुराइरहने मीनाको मनमा छुट्टै पीडा छ । ती पीडालाई विपक्षीको कोर्टमा स्पाइक हान्दै कम गर्ने प्रयास गर्छिन् । सयौं समर्थकले मीनालाई खोज्छन् । मीना ती भिडहरुमा आफ्नी दिदीको उपस्थिति महसुस गर्छिन् । 

उनले प्राप्त गर्ने हरेक सफलता दिदीकै लागि समर्पित हुन्छन् । बुबा, आमा, दाइ सबै खेल क्षेत्रबाट आएकाले परिवारको बलियो साथ छ मीनालाई । उनले आफ्नो अगाडिको यात्राबारे केही सोचेकी छैनन् । सबैभन्दा ठूलो लक्ष्य राष्ट्रिय टीममा आउनु थियो, जुन उनको दिदीले देखेको सपना हो ।

एभरेस्ट भलिबल क्लबकी कप्तान मीना राम्रो सम्भावना भएकी खेलाडी हुन् । विभागीय टीमबाट केही प्रतियोगिता खेले पनि उनले स्थायी रुपमा आवद्ध हुने बारे कुनै योजना बनाएकी छैनन् । पढाइ र भलिबलसँगै अघि बढाइरहेकी मिनाले आफूलाई कुनै समय लगाव नै नभएको खेलमा भविष्य खोजीरहेकी छिन । र, यही भलिबल अहिले उनको परिवारको पिडा कम गर्ने माध्यम बनेको छ । 

मीनाले राष्ट्रिय टीमबाट कति टाढासम्मको यात्रा गर्छिन् त्यो अहिले भन्न सकिँदैन । अनुशासन, मिहिनेत र सही मार्गनिर्देशन प्राप्त भयो भने उनमा अब्बल खेलाडी बन्ने क्षमता छ ।


Image

सविना कार्की

कार्की कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।