.png&w=1000&height=550)
कपिलवस्तु । नेपालमा पाइने १६ प्रजातिका बगेडीमध्ये बगाले बगेडी निक्कै सुन्दर र आकर्षित पन्छीको रुपमा लिइन्छ ।
पाहेलो छाती र धर्कासहितको पिठ्यूले बगाले बगेडी उत्तिकै मनमोहक देखिन्छ । बगेडी प्रजातिमध्ये बगाले बगेडी निक्कै संकटमा परेको विश्वकै दुर्लभ पन्छी हो । पहिले सयौंको संख्यामा बथानमा देखिने बगाले बगेडी अहिले घटेर सीमित संख्यामा देखिन थालेपछि यसको संरक्षणमा लाग्नु पर्ने बहस थालिएको छ ।
बगाले बगेडी नेपालमा हिउँदे आगन्तुक चराका रुपमा आउँछन् । खेतबारी, घाँसेमैदान, सिमसार क्षेत्र र उखुबारीमा बस्न मन पराउने यो चरालाई दशक अघिसम्म जाल थापेर मार्ने गरिन्थ्यो । यही चलनले नेपालमा यसको संख्या ९० प्रतिशतसम्म घटेर गएको चराविद्हरु बताउँछन् ।
सन् २००४ देखि अनुगमन/मूल्यांकन हुँदै संख्या घट्न थालेपछि यसलाई सन् २०१८ मा विश्वकै दुर्लभ चराको रुपमा घोषणा गरिएको थियो । बगेडीको मासु शक्तिबर्द्धक र स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भन्ने अन्धविश्वासले यसको शिकार बढ्दो छ ।
जाल थापेर एकै पटक सयौंको संख्यामा मार्न सकिने र यसको मासुको माग बढी हुँदा चोरी शिकारी पनि बढ्दै गएको छ । अर्कोतर्फ खेतबारीमा रासायनिक मल र विषादीको बढ्दो प्रयोगले पनि यो चरालाई असर गरेको छ । संख्या एकाएक कम भएपछि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ-आईयुसीएनले यो चरालाई उच्च जोखिमपूर्णको सूचीमा राखेर संरक्षणका लागि पहल गर्न आग्रह गरेको छ ।
यो चरा हिउँदमा आहारा र बासको खोजीमा नेपाल, भारत, म्यानमार, थाइल्यान्ड र कम्बोडियासम्म पुग्छ। अरु बेला फिनल्यान्ड, साइबेरिया हुँदै काजकिस्तान, मंगोलिया र चीनको उत्तरी क्षेत्रमा बसेर त्यही प्रजनन् गर्छ । नेपालमा असोजतिर आइपुग्ने यो चरा वैशाखामा फर्कन्छ।
यो वर्ष हिउँदमा पहिलो पटक यसको अवस्था पत्ता लगाउन नेपालसहित थाइल्यान्ड, म्यानमार र कम्बोडियामा एकै पटक गणना गर्दा १ लाख ८७ हजार ३ सय १० वटा बगाले बगेडी फेला परेका थिए । नेपालमा पहिलो पटक गत फेब्रुअरी/मार्च मा 'बगाले बगेडी'को गणना गरिएको थियो ।
१२ जिल्लाका २० ठाउँमा भएको गणनामा २ हजार ५ सय ३० वटा यो चरा गणना भएको थियो । यसको विश्लेषण गर्ने काम भइरहेको छ । दुर्लभ हुँदै गएको संरक्षण गर्नुपर्ने चरा हेर्न पर्यटकले पनि रुचि देखाउँछन् । त्यसैले राम्ररी संरक्षण गर्न सक्यौं भने यो चरा पर्यटनको पनि राम्रो आधार बन्न सक्ने चराविद्हरु बताउँछन् ।
उता, सिमसार र उखु बारीमा बस्ने यो चरा खेतबारीमा गएर चर्ने गर्छ । अन्न र साना किरा फट्याङ्ग्रा यसको आहारा हो । बाली नोक्सान गर्ने किरा खाने भएका कारण यो चरा किसानको साथी हो । तर, बढ्दो चोरी शिकारीले कृषकदेखि संरक्षणमा पनि नोक्सानी पुगेको छ ।