काठमाडौं । विश्व फुटबलको महाकुम्भमा जब साउदी अरबको कुरा आउँछ, तब सन् २०२२ को कतार विश्वकपको त्यो क्षण स्वतः फुटबल प्रेमीहरुको मानसपटलमा आउँछ - जहाँ साउदीले विश्व विजेता अर्जेन्टिनालाई २-१ ले स्तब्ध पारेको थियो ।
त्यति मात्र होइन, सन् १९९४ को विश्वकपमा सइद अल-ओवैरानले बेल्जियमविरुद्ध मैदानको आधा भाग एक्लै पार गरेको त्यो 'म्याराडोना शैली' को सोलो गोल आज पनि विश्वकप इतिहासकै उत्कृष्ट गोलहरू मध्ये एक मानिन्छ । आजको विश्वकप विषेशमा हामी विश्व फुटबललाई त्यस्तै अविश्मरणीय क्षण पस्किएको साउदी अरबको चर्चा गर्दैछौं ।
सन् १९९४ को त्यही डेब्यू विश्वकप नै साउदी अरबको अहिलेसम्मकै सबैभन्दा सफल यात्रा हो, जहाँ उनीहरू राउन्ड अफ १६ सम्म पुग्न सफल भएका थिए । सन् २०२६ मा उत्तर अमेरिकामा आयोजना हुने यो विश्वकप साउदी टोलीका लागि सातौँ उपस्थिति र लगातार तेस्रो सहभागिता हो ।
यस पटकको विश्वकप यात्रा साउदी अरबका लागि सहज भने रहेन । छनोटको दोस्रो चरणमा जोर्डन पछि दोस्रो र तेस्रो चरणमा जापान र अस्ट्रेलिया पछि तेस्रो स्थानमा हुँदा साउदी टोलीले चौथो चरणको चुनौतीपूर्ण बाटो रोज्नुपर्यो । चौथो चरणमा इन्डोनेसियालाई ३-२ ले हराउँदै र इराकसँग गोलरहित बराबरी खेल्दै साउदीले बढी गोल गरेको आधारमा इराकलाई पछि पार्दै आफ्नो स्थान पक्का गरेको हो ।
गत सन् २०२२ को विश्वकपमा अर्जेन्टिनालाई हराएर सानदार सुरुवात गरे पनि त्यसपछिका दुई खेलमा पोल्यान्ड र मेक्सिकोसँग पराजित भएपछि साउदी टोली समूह चरणबाटै बाहिरिएको थियो । यस पटकको टोलीमा कप्तान तथा मुख्य प्लेमेकर सलेम अल-दावसरीमाथि धेरैको आशा छ, जसले अर्जेन्टिनाविरुद्धको ऐतिहासिक जितमा निर्णायक गोल गरेका थिए ।
उनीसँगै छनोट चरणमा ५ गोल गरेका स्ट्राइकर फिरास अल-बुराकान, युरोपमा व्यावसायिक फुटबल खेलिरहेका डिफेन्डर साउद अब्दुलहमिद र युवा मिडफिल्डर मुसाब अल-जुवयर टोलीका प्रमुख खेलाडी हुन् । प्रशिक्षक जर्जियोस डोनिसको नेतृत्वमा साउदी टोलीले आफ्नो रक्षात्मक संरचना र काउन्टर अट्याकमा विशेष ध्यान दिएको छ ।
यस पटक साउदी अरब कठिन मानिएको समूह 'एच' मा छ, जहाँ उनीहरूले स्पेन र उरुग्वेजस्ता पूर्व विश्व विजेताहरूसँग प्रतिस्पर्धा गर्नेछन् । साउदले विश्वकप २०२६ मा आफ्नो पहिलो खेल जुन १५ मा उरुग्वे विरुद्ध मायामीमा खेल्नेछ । उसले समुह चरणको दोस्रो खेलमा जुन २१ मा स्पेनको सामना गर्नेछ भने आफ्नो समुह चरणको अन्तिम खेलमा ह्युस्टनमा केप भर्डेविरुद्ध खेल्नेछ ।
के 'ग्रीन फाल्कोन्स' ले यस पटक १९९४ को त्यो ऐतिहासिक सफलतालाई पुन: दोहोर्याउँदै विश्वलाई चकित पार्ला? वा २०२२ जस्तै फेरि पनि कुनै ठुलो 'अपसेट' दिन सक्ला?