गृहमन्त्री सुधन गुरुङका कारोबारका तथ्यले उब्जाएका शंका र अनुत्तरित प्रश्नहरू

अधिकांश लेनदेनको स्रोत र प्रयोजन अस्पष्ट
वैशाख ८, २०८३ |शिखा श्रेष्ठ
गृहमन्त्री सुधन गुरुङका कारोबारका तथ्यले उब्जाएका शंका र अनुत्तरित प्रश्नहरू

काठमाडौं । विवादित व्यवसायीसँगको कारोबारमा जोडिएपछि विवादमा तानिएका गृहमन्त्री सुदन गुरुङलाई राजीनामा दिन दबाब बढ्दै गएको छ । 

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानमा तानिएका व्यवसायी दीपक भट्टसँग व्यावसायिक साझेदारी रहेको विवरण सार्वजनिक भएपछि राजीनामाको माग मात्रै बढेको हैन, गृहमन्त्री गुरुङमाथि थुप्रै प्रश्नहरू पनि सोझिएका छन् । सेयर कारोबारमा लगानी गर्नु गैरकानुनी नभए पनि लगानीको स्रोत र गुरुङको सम्पत्ति विवरणका विषयमा पनि संशयहरू पैदा भएका छन् । 

‘हामी नेपाली’ नामक गैरनाफामूलक संस्थाको नेतृत्वमा रहेर जेन-जी आन्दोलन हुँदै र निर्वाचन जितेर गृहमन्त्री बनेका गुरुङको सम्पत्तिको स्रोत र कारोबार विवरणले प्रशस्तै प्रश्न उब्जाएको छ । अनुसन्धानकारी निकायबाट कान्तिपुरले प्राप्त गरेका कागजातका आधारमा पनि सुधन गुरुङको बैंकिङ कारोबार, सम्पत्ति र लगानीको श्रोतका बारेमा कैयौं प्रश्न छन् जसको उत्तर गुरुङ स्वयंम्‌ले दिनुभएको छैन। 

कान्तिपुरले हालसम्म प्राप्त गरेका तथ्य र विवरणहरुका आधारमा तयार पारिएको यो रिपोर्ट हामीले केही अनुत्तरित प्रश्नहरुमा छोडेका छौं। सुधन गुरुङ अध्यक्ष रहेको गैरनाफामूलक संस्था ‘हामी नेपाल’ को हिमालय बैंक र नबिल बैंक दुवैमा खाता रहेको देखिन्छ । 

हिमालयन बैंकको खाता १८ फेब्रुअरी २०२५ मा बन्द गरिएको देखिन्छ । खाता बन्द गर्नुअघि यसमा ५३ लाख ४८ हजार रुपैयाँ जम्मा भएको थियो । खाता बन्द हुनुअघि यही खाताबाट ३० लाख ९४ हजार रुपैयाँ नबिल बैंकमा रहेको ‘हामी नेपाल’को खातामा सारिएको हामीलाई प्राप्त विवरणमा देखिन्छ।

नबिल बैंकमा रहेको खातामा जुलाई २०२१ देखि अगस्ट २०२५ सम्ममा २ करोड २८ लाख रुपैयाँ जम्मा भएको पाइयो । जसमा सन् २०१५ को मे र जुलाईमा मनिता देवकोटाको नामबाट ४ लाख ४० हजार आएको छ । नबिल बैंकमै रहेको सुधन गुरुङको व्यक्तिगत खातामा २०२१ को मे देखि जुन महिनासम्म कोभिड–१९ का लागि सहयोग भन्दै विभिन्न स्रोतबाट उपलब्ध भएको करिब ६० लाख जम्मा भएको देखिन्छ । 

५ अगस्ट २०२१ मा यही व्यक्तिगत खाताबाट २५ लाख ९० हजार नबिल बैंकमा रहेको हामी नेपालको खातामा स्थानान्तरण गरिएको छ । यो तथ्यले सहायता रकम व्यक्तिगत खातामै लिने गरेको पुष्टि गर्छ । त्यसो त सुधनको नबिल बैंकमा रहेको खातामा फरक मितिमा फरक व्यक्तिले लाखौँ रकम जम्मा गरेको देखिन्छ । 

तीमध्ये केहीको स्रोत विवरणमा ‘सापटी फिर्ता’ उल्लेख छ भने अन्य धेरै कारोबारमा स्रोत र प्रयोजन खुलाइएको छैन । २०२३ को मे ९ मा चाङ अग्रवाल नामका व्यक्तिले गुरुङको खातामा २२ लाख ५० हजार रुपैयाँ र सोही मितिमा विजयकुमार श्रेष्ठको नामबाट ३७ लाख ५० हजार रुपैयाँ जम्मा भएको पाइएको छ ।

सुधनको व्यक्तिगत खाताबाट अर्को दिन मे १० का दिन लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको खातामा २५ लाख र स्टार माइक्रो इन्स्योरेन्सको खातामा २५ लाख रुपैयाँ जम्मा भएको देखिन्छ । यी दुवै लघुबीमा कम्पनीमा सुधनको २५ हजार कित्ता सेयर रहेको कम्पनी रजिस्ट्रार कार्यालयको अभिलेखमा छ । 

अहिले गृहमन्त्री गुरुङ विवादमा तानिएको यही विषयमा हो । २०२३ को जुन ७ मा सुधनको खाताबाट बिजेशकुमार मगरको खातामा ११ लाख भुक्तानी भएको र १३ अक्टोबरमा छिरिङ छोम्बेल गुरुङले सुधनको खातामा २५ लाख रुपैयाँ जम्मा गरेको कागजातले देखाएको छ । 

त्यसपछि १७ अक्टोबरमा पनि सुधनको खातामा २० लाख रुपैयाँ पैसा जम्मा भएको देखिन्छ । २० र २५ अप्रिल २०२४ मा सञ्जय सर्भिसेज सेन्टर प्रालिको नामबाट १० लाख र साढे १२ लाख रुपैयाँ जम्मा भएको छ । जसमा एउटा कारोबारको स्रोतमा ऋण फिर्ता उल्लेख छ, अर्कोमा व्यवसाय भनिएको छ ।

उल्लिखित विवरण केलाउँदा गेट अहेड ट्रेडिङ, एसआरएस इन्भेस्टमेन्ट र विनर लिक्वर उद्योग प्रालिलगायत कम्पनीका मालिक चाङ अग्रवाल र विजयकुमार श्रेष्ठबाट गुरुङको खातामा ६० लाख रुपैयाँ जम्मा भएको देखिन्छ । विजय कुमार श्रेष्ठको पहिचान भने खुल्ने विवरण हामीले भेटेका छैनौं। तर, त्यो रकम लघुबीमा कम्पनीको सेयर किन्न उपयोग भएको अनुसन्धानकारी निकायको दाबी छ ।

लिबर्टी र स्टार माइक्रो इन्स्योरेन्सको सेयर किनेको रकमको स्रोतमा विवाद सुरू भएपछि गृहमन्त्री गुरुङले कर्जा लिएर किनेको दाबी गरिरहँदा कर्जा दिने र खातामा पैसा पठाउने विजयकुमार श्रेष्ठ एउटै व्यक्ति हुन कि होइनन् भन्ने पनि खुल्न बाँकी छ ।

त्यसैगरी करिब २५ लाख रुपैयाँ छिरिङ छोम्बेल गुरुङको नबिल बैंकको खाताबाट सुधनको खातामा जम्मा गरिएको देखिन्छ । यो रकम सुशीलकुमार श्रेष्ठ र सुरेशकुमार यादवद्वारा नगदमा जम्मा भएको छ । यी दुवै व्यक्ति सीमाभन्दा बढी कारोबार गरेर पटक पटक सरकारी अनुसन्धानको दायरामा रहेका व्यक्ति हुन् । 

सञ्जय सर्भिसेज सेन्टर प्रालिसँग पनि गुरुङको केही कारोबार भएको देखिन्छ भने लगुम प्रिमियम अपार्टमेन्ट प्रालिको खातामा पनि केही रकम जम्मा गरेको खुल्छ । त्यस्तै, लक्ष्मी सनराइज बैंकमा पनि सुधनको खाता रहेको र २०२१ जुलाई ११ देखि २०२५ सेप्टेम्बर १५ सम्म १ करोड ७ लाख रुपैयाँ जम्मा भएको छ । 

यसमा ठूलो कारोबार गर्नेमध्ये एकजना हुन् अन्जल मानन्धर, जसको नामबाट उक्त खातामा करिब ४० लाख नगद जम्मा भएको देखिन्छ । बैकिङ कारोबारका यी विवरणले सुधनले विभिन्न व्यक्तिसँग ठूलो रकमको कारोबार गर्दै आएको देखिन्छ । तर, त्यस्तो कारोबारको स्रोत तथा विस्तृत विवरण भने धेरैजसोमा खुलाइएको छैन ।

गृहमन्त्री गुरुङ आफैंले खुलाएको सम्पत्ति विवरणमा एडभेन्चर भिल्ला, लगुम प्रिमियम अपार्टमेन्ट र होप होल्डिङस प्रालि गरी तीन कम्पनीमा लगानी रहेको देखिन्छ । सन् २०१६ जुन २२ मा स्थापना भएको एडभेन्चर भिल्ला प्रालिको लक्ष्मी सनराइज बैंक लिमिटेडमा बैंकमा खाता छ । 

यो खातामा २०१७ अगस्टदेखि २०२१ अगस्टसम्म एक करोड १३ लाख जम्मा भएको देखिन्छ, त्यसपछि कुनै कारोबार भएको देखिँदैन । यस्तै लगुम प्रिमियम अपार्टमेन्ट प्रालिको प्रभु बैंकमा खाता रहेको देखिन्छ। यहि खाताबाट कम्पनीका नाममा पारामाउन्ट मोटरबाट गाडी खरिद गरेको देखिन्छ । 

यो खरिद गर्दा करिब १९ लाख नगद र साढे २४ लाखभन्दा बढी ऋण लिएको कान्तिपुरलाई प्राप्त कागजातमा देखिन्छ । लगुमको कारोबार ५७ लाख रुपैयाँभन्दा बढी भएको तर खातामा जम्मा रकममध्ये २ लाख ३९ हजार रुपैयाँ मात्र बुकिङ वेबसाइटहरू र बाँकी रकम विभिन्न व्यक्तिबाट आएको अनुसन्धानकारी निकायले पत्ता लगाएका छन्।

यस्तै होप होल्डिङ्स प्रालिको प्रभु बैंकमा खाता छ । डिसेम्बर २०२४ देखि मे २०२५ सम्म यो खातामा १ करोड १९ लाख रुपैयाँ जम्मा भएको देखिन्छ । यो खाताबाट लगुम प्रिमियम अपार्टमेन्ट, सुधन गुरुङ र होप होल्डिङबीचमा धेरै पटक कारोबार भएको कान्तिपुरले प्राप्त गरेको विवरणबाट खुल्छ । 

यो कम्पनीको खातामा गैरनाफामूलक संस्था ‘हामी नेपाल’ ले एक पटक करिब साढे ४ लाख जम्मा गरेको देखिन्छ । तर कारण भने खुलाएको देखिन्न । गृहमन्त्री गुरुङको व्यक्तिगत खातामा भएका कारोबार हेर्दा प्रायः क्याफे, रेस्टुरेन्ट, क्लब, सिनेमाजस्ता स्थानमा खर्च गरेको सरकारी अनुसन्धानले देखाउँछ । तर गुरुङले कहाँ-कहाँ कति रकम खर्चेको भन्ने विवरण उपलब्ध हुन सकेको छैन ।

सन् २०२३ देखि २०२४ को बीचमा सुधनको खातामा विभिन्न व्यक्ति तथा संस्थाबाट लाखौं रुपैयाँ आएको देखिन्छ । गृहमन्त्री सुधन गुरुङका व्यावसायिक कारोबारका विवरण एक अर्कासँग अन्तरसम्बन्धित देखिन्छन् । तर गैरनाफामूलक संस्थाबाट व्यक्तिगत खातामा रकम पठाउनुको प्रयोजन र अर्थ खुल्न सकेको छैन । 

व्यक्तिगत खातामा आएको रकमको स्रोत के थियो भनेर पनि कारोबारका क्रममा उल्लेख भएको देखिन्न । जसले गुरुङको कारोबारमाथि संशय पैदा गरेको छ । कोभिड–१९ को बेलामा व्यक्तिगत खातामा सहायता रकम जम्मा हुनु पनि शंकास्पद नै देखिन्छ ।

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको सेयर खरिदका बेलामा गुरुङले कर्जा लिएको दाबी गरे पनि सेयर खरिदको एकदिन अघि मात्रै व्यक्तिगत खातामा चाङ अग्रवाल र विजयकुमार श्रेष्ठबाट ६० लाख रुपैयाँ आउनु तर कारण नखुल्नुले अर्को आशंका जन्माएको छ ।

विवादमा तानिएपछि गृहमन्त्री गुरुङले पार्टीभित्र र बाहिरबाट पनि थुप्रै प्रश्नको सामना गरिरहनु परेको छ । गुरुङले सामाजिक सञ्जालमा दुई पटक स्टाटस लेखेर प्रस्टीकरण दिने प्रयास गरे पनि त्यसले विश्वासलाग्दो आधार तयार गर्न सकेको छैन ।


Image

शिखा श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनकाे सुरक्षा ब्युराेमा कार्यरत छिन् ।