
इलाम । कल्पना गरौँ त केही क्षण बाहिरबाट ढोका बन्द हुँदा हामीलाई कस्तो महसुस हुन्छ ।
पक्कै पनि निस्सासिएजस्तो हुन्छ । तर, इलामको देउमाईमा चार वर्षदेखि एउटी महिला बन्द कोठाभित्र छन् । हुस्सु लागिरहने लेकाली गाउँ । मेची राजमार्गको त्रिवेणी चोकबाट करिब ५ किलोमिटर कच्ची सडक पार गरेपछि पुगिने एकतले जस्ताले छाएको घर । भित्रकोठाबाट अनेकथरी आवाज आइरहन्छ । इलामको देउमाई नगरपालिका २ साप्जुङको एउटा घरको यस्तो कारुणिक वास्तविकता छ ।
उन्माद तथा मनोविक्रित मानसिक रोगका कारण लाउँलाउँ र खाउँखाउँ अनि केही उद्यम गरौँ भन्ने उमेरकी भीमालाई एउटा अँध्यारो कोठामा थुनेर राखिएको छ । पटक/पटक उपचार गर्दा पनि सम्भव नभएको भन्दै अन्तिम विकल्पको रूपमा ३५ वर्षीया भीमालाई कोठामा नै थुनिएर राखिएको हो ।
उनको उपचारमा जायजेथा सकिएको भन्दै परिवार अब के गर्ने भन्ने ठूलो चिन्तामा छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले २०८१ वैशाखमा दिएको रिपोर्टअनुसार भीमाको समस्या दिमागसम्बन्धी रोग स्किोजोएफेक्टिभ उन्माद तथा मनोविक्रित नामक मानसिक समस्या भएको हो ।
बिरामीले उश्रृङ्खल गतिविधि गर्ने र जेसुकै बोल्ने भएपछि परिवार र छिमेकीले बन्धक बनाएर राखेको पाइएको छ । अस्पतालमा हुँदासम्म सामान्य भएजस्तो लागे पनि घर आएपछि पुरानै गतिविधि दोहोरिने समस्या भएकोले थुनेर राख्नुको विकल्प नरहेको परिवारकाको भनाइ छ ।
भीमकुमारीकी आमा ६० वर्षीया यादाकुमारीको जीवनमा कहिले खुसीको झुल्को पुगेन । करिब २२ वर्षअघि नै श्रीमान टंकप्रसादको मृत्यु भयो । त्यतिबेला छोरी भीमकुमारी तीन वर्षकी थिइन् । छोरा हरि ९ महिनाका । मानसिक समस्याकै कारण श्रीमानको निधन भएपछि एक्ली यादालाई स-सना छोराछोरी हुर्काउन् कम हम्मे परेन ।
सानो जमिनमा खेतिपातीकै भरमा यादाले छोराछोरीलाई उचित शिक्षादिक्षा दिइन्। छोरा हरिलाई पनि मानसिक समस्याले सताउने गरेको आमा यादाले बताइन् । जसरी भए पनि उपचार गराएर भीमालाई पहिलेको जस्तै देख्न पाए हुन्थ्यो भन्नेमा गाउँबासी छन् ।
कोठामा नथुनेसम्म नियन्त्रण गर्नै नसकिने भएकाले आफूहरू बाध्य भएको परिवारको भनाइ छ । देउमाई नगरपालिकाले पनि उनको उपचारमा सघाएको छ । उनको बिरामअनुसार सही अस्पताल र चिकित्सक भेट्ने हो भने बिरामी ठीक हुने अपेक्षा परिवारमा अझै छ ।