सप्तरीको बलान नदीमा फसेका ६ किसानको उद्धार

सप्तकोशीमा लगातार बहाब बढ्दै, ३ लाख क्युसेक कट्यो
कोशीका ५६ मध्ये ४१ ढोका खोलियो
असार २२, २०८१ |आरएन विश्वास
सप्तरीको बलान नदीमा फसेका ६ किसानको उद्धार

सप्तरी । सप्तरीको बलान नदीमा आएको बाढीमा आज शनिबार साँझदेखि फसेका ६ किसानको सुरक्षाकर्मीले उद्धार गरेको छ ।

बलान बिहुल गाउँपालिका ४, बेल्हीस्थित बलान नदीमा आएको बाढीमा उनीहरु फसेका थिए । खेतमा धान रोपेर घर फर्किंदै गर्दा शनिबार साँझ नदीमा अचानक बाढी आएको थियो ।

सशस्त्र प्रहरीले बाढीमा फसेका स्थानीय ६० वर्षीय श्रीदेव माली, मुक्ता माली, रामचन्द्र यादव, सत्यनारायण मण्डललगायत ६ जना किसानलाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको सप्तरी प्रहरीले जनाएको छ ।

कोशीमा लगातार बहाब बढ्दै, ३ लाख क्युसेक नाघ्यो

सप्तकोशी नदीमा लगातार बहाव बढ्दै गएको छ । अविरल वर्षासँगै सप्तकोशी नदीमा आज (शनिबार) बाढी आएको हो । पहाडी क्षेत्रमा लगातार भइरहेको वर्षाले बिहानदेखि कोशी ब्यारेजमा आएको बाढी बढ्ने क्रम जारी रहँदा बहाब पनि अत्यधिक हुन पुगेको छ ।

शनिबार राति १० बजे कोशी ब्यारेजमा गरिएको मापनअनुसार ३ लाख १५ हजार क्युसेक बहाव रेकर्ड भएको ब्यारेजस्थित नियन्त्रण कक्षले जनाएको छ । यसअघि साँझ ५ बजे कोशी ब्यारेजमा गरिएको मापनअनुसार दुई लाख ८२ हजार क्युसेक बहाब रेकर्ड भएको थियो ।

यस्तै शनिबार दिउँसो १ बजेको मापनअनुसार कोशीको बहाव दुई लाख ४४ हजार थियो भने हिजो शुक्रबार एक लाख क्युसेक मात्रै थियो । कोशी ब्यारेज नियन्त्रण कक्षका प्राविधिकहरुका अनुसार कोशीमा बिहानैदेखि लगातार बाढी आइरहेको हुँदा बहाव पनि सोहीबमोजिम बढिरहेको छ । कुल ५६ वटा ढोका रहेको कोशी ब्यारेजका ४१ वटा खोलिएको छ ।

कोशीको यो बहाब यस वर्षको उच्च हो । कोशीमा लगातार बाढी बढ्न थालेपछि खतरा स्वरुप रातो झन्डा लगाइएको छ । जिल्ला प्रशासन कार्यालयहरुले कोशी तटीय क्षेत्रका सप्तरी, सुनसरी र उदयपुरका बासिन्दालाई सूचना जारी गर्दै कटान र डुबानको उच्च जोखिम रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ ।

यो पनि...

बाढीले काठमाडौंको जनजीवन प्रभावित, सरकारको पुगेन पूर्वतयारी

महाकालीमा बढ्यो पानीको बहाब, बाढी र कटानको उच्च जोखिम

बढ्यो सप्तकोशीको बहाब, ३५ ढोका खोलिए

बझाङको झ्याँबगर गाउँमा बाढी पस्यो, १४ परिवार विस्थापित

अविरल वर्षासँगै आएको बाढी-पहिरोले देशका विभिन्न भागमा सडक अवरुद्ध

टिप्पणी : नागरिकले सरकार भएको अनुभूति कहिले गर्ने ?


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।