प्रधानमन्त्री ओली र एलन मस्कबीच भिडियो वार्ता

मंसिर ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री ओली र एलन मस्कबीच भिडियो वार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र संसारकै धनी व्यक्ति एलन मस्कबीच कुराकानी भएको छ । प्रधानमन्त्री ओली र अमेरिकी व्यवसायी एलन मस्कबीच भर्चुअल संवाद भएको हो । 

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् यसबारे जानकारी दिनुभएको छ । उहाँहरुबीच के कुरा भयो भन्नेबारे खुलेको छैन ।

अमेरिकाको ४७ औं राष्ट्रपतिमा डनल्ड ट्रम्प निर्वाचित भएसँगै अर्बपति एलन मस्कको कम्पनी स्टारलिंकले नेपालमा सेवा सुरु गर्न लबिइङ थालेको थियो । विश्वभर उच्च गतिको इन्टरनेट सेवा दिन स्थापना भएको स्टारलिंकले नेपाल आउन दुई वर्षअघि नै आवेदन दिएको थियो । तर उक्त प्रस्ताव नेपाल सरकारले अघि बढाएको थिएन । आजको संवादमा सोहि विषयमा कुराकानी भएको हुनसक्ने अनुमान गरिएको छ ।

स्टारलिंक नेपाल आउन चाहेको पहिलो पटक भने होइन । दुई वर्षअघि नियामक नेपाल दुरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम खनालसँग भिडियो कन्फ्रेन्स गरेर स्टारलिंकले आवेदन दिएको थियो । उक्त आवेदन सञ्चार मन्त्रालयसम्म पुगे पनि मन्त्रालयको फ्रिक्वेन्सी महाशाखाले फिर्ता पठाएको थियो । स्टारलिंकको प्रस्तावले दुरसञ्चार ऐन, वैदेशिक लगानी र प्रविधि हस्तान्तरण ऐनले तोकेको मापदण्ड पूरा नगरेको भन्दै मन्त्रालयले उक्त फाइल फिर्ता पठाएको थियो ।

नेपालको दुरसञ्चार ऐनमा विदेशी कम्पनीले २० प्रतिशत सेयर स्थानीयलाई दिनु पर्ने प्रावधान छ । तर स्टारलिंक भने २० प्रतिशत सेयर दिन तयार छैन । त्यतिमात्रै होइन नेपालको दुरसञ्चार क्षेत्रले भू-राजनीतिमा समेत प्रभाव पर्ने भएपछि नेपाल सरकारले स्टारलिंकलाई नेपाल प्रवेश दिने कि नदिने भन्ने निर्णय गर्न सकेको छैन ।

के हो स्टारलिंक ?

सन् २०१९ मे २३ मा ६० वटा स्याटेलाईबाट विश्वभर उच्च गतिको इन्टरनेट दिने उद्देश्यले स्टार लिङक सुरु गरिएको थियो । यो कम्पनीले अहिले १५ सयभन्दा बढी स्याटेलाईटमार्फत विश्वका ९३ देशमा उच्च गतिको इन्टरनेट सेवा दिइरहेको छ । अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले अप्टिकल फाइवरमार्फत इन्टरनेट पुर्‍याउने गरेकोमा स्टारलिंकले स्याटेलाइट प्रणालीमार्फत इन्टरनेट पृथ्वीमा पठाउने गर्छ ।

सोहीकारण स्टारलिंकको इन्टरनेट तीव्र गतिको हुने र दुर्गम क्षेत्रमा पुर्‍याउनसमेत सहज हुन्छ । स्याटेलाईटबाट सिधै उपभोक्तासम्म आइपुग्ने हुँदा लामो दुरीमा हुने सूचना प्रवाहको समयलाई स्टारलिंकले निकै घटाउने बताइन्छ ।

६ वर्षअघि स्थापना भएको स्टारलिंक अहिलेसम्म अल्बानिया, फिजी, घाना, मडागास्कर, इण्डोनेसिया, दक्षिण सुडान, यमन, जिम्बाबे लगायतका न्यून आय भएकादेखि उच्चआय भएका अमेरिका, क्यानडा, बेलायत, जर्मनी, अष्ट्रेलियालगायतका विश्वका ९३ देशमा पुगिसकेको स्टारलिंकको वेबसाइटमा उल्लेख छ । स्टारलिंकले आˆनो वेवसाईटमा राखेको सूचीमा भुटानमा सन् २०२५ मा सुरु हुने उल्लेख गरेको छ भने भारत र नेपालबाट अनुमति नपाएको जनाइएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.