टिप्पणी : नागरिकले सरकार भएको अनुभूति कहिले गर्ने ?

असार २२, २०८१ |डीपी उपाध्याय
टिप्पणी : नागरिकले सरकार भएको अनुभूति कहिले गर्ने ?

महिनौंदेखि विपद्को सामना गर्न पूर्वतयारी थालेको भन्दै आएको सरकार विपद्कै बेला भने प्रभावहीन देखिन्छ । लगातारको वर्षापछि देशका धेरै भूभाग बाढी, पहिरो र डुबानले प्रभावित भएका बेला राज्यको उपस्थिति नागरिकले खोजिरहेका छन् । नागरिक विपद्‌मा पर्दा सरकार सधैं किन उदासीन हुन्छ ?

शुक्रबार रातिदेखि नै अविरल र भारी वर्षाका कारण बाढी र पहिरोका कारण मुख्य राजमार्ग अवरोधदेखि मानवीय क्षतिका समाचार आइरहेका थिए । देशभरका ४० भन्दा बढी जिल्लाका नागरिक बाढी, पहिरो र डुबानमा परिरहेका छन् । मुख्यमुख्य राजमार्ग नै पहिरोले रोकिएका छन्, मानिसहरु आवतजावत गर्न सकिरहेका छैनन् । डुबान र बाढीले नागरिकले घरखेत गुमाइरहेका छन् । यस्तो बेला बेला स्वाभाविक हो, नागरिकले राज्यको उपस्थिति खोज्ने ।

सरकारले २ महिनाअघिदेखि मनसुनजन्य प्रकोपको जोखिम न्यूनीकरणका लागि भन्दै सिंहदरबार, सीडीओ कार्यालय र सरकारी कार्यालयहरुमा गरेको पूर्वतयारीको हालत चौबीस घण्टा लगातार पानी परेपछि छताछुल्ल भएको छ । सरकारको त्यो पूर्वतयारीको प्रभाव फिल्डमा देखिएन । नागरिकले घरबास गुमाएकै छन्, सम्पत्ति गुमाएकै छन्, ज्यानसमेत गुमाएका छन् ।

यतिबेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको संघीय सरकार पूरै अल्पमतमा छ । मुख्य दलले समर्थन फिर्ता लिइसके । विश्वासको मत पाउने कुनै सम्भावना बाँकी नरहँदा पनि दाहाल भने सत्ताको जोगाउन छक्कापञ्जाको प्रतीक्षामै हुनुहुन्छ । प्रधानमन्त्री सत्ता जोगाउन लाग्दा नागरिक भने प्रकृतिक विपत्तिका कारण ज्यान गुमाइरहेका छन् ।

संघको सत्ता चलखेलको छाया नयाँ कुरा रहेन । प्रदेशका सरकारहरु संघबाट आउने निर्देशनको हिसाबकिताबमै छन् । नागरिकले विपत्तिको सामना गरिरहेका बेला प्रदेश सरकारहरु आफ्नै भविष्यमाथि मुसलधारे वर्षाको सामना गर्दै छन् । उनीहरु आफ्नै अस्तित्वको संकटमा छन् । सरकारै अलमलमा भएपछि हाम्रो प्रशासनिक संयन्त्रले कस्तो काम गर्छ, भनिरहन पर्दैन होला ।

काठमाडौंको गृह मन्त्रालयमा आज पनि विपद् प्रतिकार्यका बारेमा बैठक बस्यो । कामचलाउ स्थितिमा रहेका गृहमन्त्रीबाट केही थान निर्देशन भए । नागरिकप्रति सबैभन्दा बढी जवाफदेही राजनीतिक नेतृत्व हुन्छ, हुनुपर्छ । प्रशासनिक नेतृत्व त्यही राजनीतिक नेतृत्वको आडभरोसामा अघि बढ्ने हो । तर प्रशासनिक नेतृत्वमा कुनै उत्साह छैन । उद्धार र राहतका लागि कुद्नुपर्ने समयमा प्रशासनिक संयन्त्र निर्देशनको पर्खाइमा रहँदा नागरिकले कसलाई पर्खिने ? कसको भर पर्ने ?

हुन त सत्तामा बस्नेहरुका लागि नागरिकले भोग्ने विपद्‌भन्दा सत्ता संकट नै महासंकट होला । राज्य भएको अनुभूति नागरिकले भोट हाल्ने, सत्ता सञ्चालन गर्न कर तिर्ने र शासकको लुछाचुँडी हेरेर मात्र गर्ने होइन । राज्यको धर्म नागरिकको सेवा हो । नागरिकको जीवन र सम्पत्तिको रक्षा हरेक राजनीतिकर्मीको धर्म हो । हुन त जो आफैं डुब्दै छ, उसबाट डुबानपीडितले के आशा गर्नु ?

मौसम पूर्वानुमानका अनुसार देशैभरि केही दिन अझै वर्षा जारी रहनेछ । नदीहरुको जलसतह बढिरहनेछ, तटीय क्षेत्रमा डुबान र बाढीको उच्च जोखिम रहनेछ । राजमार्गहरु हिँड्न लायक हुने छैनन् । यस्तोमा मानिसहरुको ज्यान जोखिममा हुनेछ । नागरिकको सम्पत्ति पनि उत्तिकै जोखिममा हुनेछ ।

देशले प्राकृतिक प्रकोपको सामना गरिरहेका बेला प्रशासनले कुनै निर्देशन पर्खेर नबसोस् । सुरक्षा संयन्त्रले आफ्नो स्रोत साधनले भ्याएसम्म जे गर्न सक्छ, गरोस् । सत्ता जोगाउने दाउ खोजिरहेका वा सत्तारोहण गर्न खुट्टा उचालिरहेकाहरुले बुझुन्, नागरिकलाई चाहिएका बेला राज्यको उपस्थिति नहुने हो भने राज्य सञ्चालनको नेतृत्व गर्न खोज्नेहरुको उपस्थिति धेरै लामो समय टिक्ने छैन ।

यो पनि...

बाढीले काठमाडौंको जनजीवन प्रभावित, सरकारको पुगेन पूर्वतयारी

महाकालीमा बढ्यो पानीको बहाब, बाढी र कटानको उच्च जोखिम

बढ्यो सप्तकोशीको बहाब, ३५ ढोका खोलिए

बझाङको झ्याँबगर गाउँमा बाढी पस्यो, १४ परिवार विस्थापित

अविरल वर्षासँगै आएको बाढी-पहिरोले देशका विभिन्न भागमा सडक अवरुद्ध


Image

डीपी उपाध्याय

उपाध्याय कान्तिपुर टेलिभिजनको जिल्ला ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement