प्रधानमन्त्रीको बोली : सिंहदरबारमा सत्य कि दरबारमार्गमा ?

सिंहदरबारमा प्रशासनिक संयन्त्रले कामै नगरेको भन्दै आक्रामक, दरबारमार्गमा रक्षात्मक
मंसिर ७, २०८१ |दीपक आचार्य
प्रधानमन्त्रीको बोली : सिंहदरबारमा सत्य कि दरबारमार्गमा ?

काठमाडौं । संसद्का दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसको सरकारको प्रभावकारितामाथि प्रश्न विपक्षी दलबाट मात्रै होइन, नागरिकस्तरबाट पनि उठिरहेकै छ । सरकारले न सेवा प्रवाहलाई चुस्त बनाउन सकेको छ न त सुशासन स्थापना गर्न सकेको छ । अर्थतन्त्र चलायमान बनाउने विषयमा पनि सरकारले परिणाम देखाउन सकेको छैन । यस्तोमा सरकारको नेतृत्व गरिरहेकै दल नेकपा एमालेले सुशासनकै लागि भनेर सडकमा जागरण सभा गर्‍यो ।

राजनीतिक दल सडकमा जनतामाझ जानु कुनै नौलो कुरा होइन, तर सरकार नै सडकमा गएर नागरिक र विपक्षी दल जस्तो काम भएन भन्ने भन्दा पनि गरेर देखाउने हो । अर्कोतर्फ सिंहदरबारमा सरकारी संयन्त्र समक्ष काम भएन भन्ने र सडकमा सरकारले राम्रो काम गरिरहेको छ भन्ने कुरालाई जागरुक नागरिकले सजिलै विश्लेषण गर्न सक्छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली सरकारी संयन्त्रको काम गराइबाट सन्तुष्ट हुनुहुन्न । तर उहाँ सार्वजनिक मञ्चमा सरकारले सबै काम राम्रो गरिरहेको दाबी गर्नु हुन्छ । सिंहदरबारको बैठकमा उहाँ सरकारी संयन्त्रले काम नगरेर देशको बेइज्जत भइरहेको देख्नु हुन्छ, तर दरबारमार्गको सभामा सरकारले एकदमै राम्रो काम गरिरहेको दाबी गर्नु हुन्छ ।

प्रधानमन्त्री ओलीको वर्तमान सरकार मात्र होइन, यीभन्दा अघिल्ला सरकारबाट पनि नागरिक सन्तुष्ट थिएनन् । देशमा गणतन्त्र स्थापना भएपछि जे जति प्रगति भएका छन् ती यिनै दलहरूको कारण भएको हो । र, जे जति बेथिति भएका छन् त्यो पनि यिनै दलहरूका कारण हो ।

देशमा नागरिक असन्तुष्ट छन्, भ्रष्टाचार बढेको छ, सुशासन छैन । यो कुरा प्रधानमन्त्री पनि स्वीकार गर्नु हु्न्छ । यही कारण उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय र मातहतका निकायको चालु आर्थिक वर्षको पहिलो चौमासिकको प्रगति समीक्षामा सरकारी संयन्त्रको काम गराइप्रति तीव्र असन्तुष्टि पोख्नु भयो । अध्यागमनको सेवादेखि भन्सार कार्यालयहरूमा कर्मचारीले दिने सेवा चित्तबुझ्दो नभएको प्रधानमन्त्रीले स्वीकार मात्र गर्नुभएन, काम गर्ने व्यवहार र मानसिकतामा परिवर्तन गर्ने निर्देशन पनि दिनु भयो ।

तर उहाँ सडकमा देशमा केही भएन भनेर सरकार र पार्टीप्रति अफवाह फैलाउने काम भइरहेको बताउनु हुन्छ ।

खासमा सत्य कुरा कुन हो ? जनताले महसुस गरे जस्तै काम नभएको भनेर सिंहदरबारमा उहाँले भनेको कुरा सत्य हो वा काम भएन भनेर भ्रम छरियो भन्ने सडकको कुरा सत्य हो ? केपी शर्मा ओली अहिले शक्तिशाली प्रधानमन्त्री हुनुहुन्छ । संसद्का दुई ठूला दल मिलेर बनेको सरकार शक्तिशाली छ । तर जनचाहना बमोजिम काम नभएको भन्दै प्रधानमन्त्री नै सन्तुष्ट हुनुहुन्न । उहाँ सरकारी संयन्त्रलाई काम गर्न कुनै अप्ठ्यारो छ भने तत्काल फुकाउन सक्नु हुन्छ भने कसैले असहयोग गरे कारबाही पनि गर्न सक्नु हुन्छ ।

वर्तमान प्रधानमन्त्री होऊन् वा अघिल्ला, सबैले कर्मचारीलाई तत्काल परिवर्तन महसुस गर्ने गरी काम गर्न निर्देशन दिइरहेका हुन्छन् । प्रधानमन्त्री ओलीले कर्मचारी मात्र होइन, मन्त्रीहरूलाई समेत पटकपटक निर्देशन दिनु भएको छ । तर काम हुँदैन । नागरिक पनि असन्तुष्ट, प्रधानमन्त्री पनि असन्तुष्ट । उहाँ भ्रष्टाचारीको मुख हेर्दिनँ भन्नु हुन्छ, तर भ्रष्टाचार भइरहेको छ भन्ने उहाँकै अभिव्यक्तिले पुष्टि गर्छ ।

हो, देशमा सुशासन नुहुँदा अहिले अराजकता मौलाएको छ । सामाजिक सञ्जाल मार्फत होस् वा व्यक्ति स्वयं उपस्थित भएर, कानुन विपरीतका काम लगातार भइरहेका छन् । शुक्रबार एमालेले यही अराजकता विरुद्ध जागरण सभा आयोजना गरेको हो । यस्ता अराजकता रोकिनु पर्छ । तर स्वार्थ पर्दा प्रधानमन्त्री ओलीकै दलले समेत यस्तालाई प्रश्रय दिएका उदाहरण छन् ।

अर्कोतर्फ जागरण सभा मार्फत एमालेले आफू र नेतृत्वमाथि लागेका आरोपको खण्डन गर्ने प्रयास समेत गरेको छ । आफू र आफ्ना नेतृत्वमाथि लागेको आरोप सडक सभाबाट भन्दा निष्पक्ष छानबिनबाट खण्डन गर्न उत्तम हुन्छ । किनकि, देशमा काम नभइरहेको र सुशासन नभएको कुरा प्रधानमन्त्री ओली विपक्षमा हुँदा उठाउनु हुन्थ्यो भने अहिले माओवादी अध्यक्ष पुष्पकमल दाहालले उठाइरहनु भएको छ । यही कुरा यी दुबै जना प्रधानमन्त्री हुँदा पनि उठाइरहनु हुन्छ । यसकारण सत्य कुरा के हो भने जनचाहना बमोजिम काम भइरहेको छैन ।


Image

दीपक आचार्य

आचार्य कान्तिपुर टेलिभिजनमा राजनीतिक ब्युरोमा कार्यरत छन् ।