काठमाडौं । रुस-युक्रेन युद्ध सुरु भएको एक हजार दिन नाघिसकेको छ । जारी युद्धमा हालसम्म लाखौँ मानिसको ज्यान गइसकेको छ ।
पछिल्ला दिनका गतिविधि हेर्दा युद्ध मत्थरभन्दा झन् चर्कने स्थितिमा पुगेको छ । अमेरिकाले लामो दूरीको हतियार प्रयोग गर्न अनुमति दिएसँगै युक्रेनले रुसका भित्रि क्षेत्रसम्म आक्रमण गरिरहेको छ । यता रुसले पनि परमाणु हतियार प्रयोगसम्बन्धी कानुन परिमार्जन गर्दै पश्चिमा मुलुकलाई चेतावनी दिइरहेको छ । दुई देशबीचको लडाईँमा संसारका मुख्य शक्ति राष्ट्रहरुका संलग्नता, बोली र व्यवहारमा कडापन ह्वात्तै बढेपछि एक पटक फेरि विश्वयुद्धको त्रासदी थपेको छ।
सन् २०२२ को फेब्रुअरी २४ देखि सुरु भएको रुस–युक्रेन युद्ध जारी छ । युद्धमा लाखौं मानिसको मृत्यु भइसकेको छ भने भौतिक संरचनामा पनि ठूलो क्षति पुगेको छ । इजरायल–हमास युद्धका कारण यो युद्ध केही समय छायामा परे पनि अमेरिकी निर्वाचनयता युद्ध झन् चर्कने स्थितिमा पुगेको छ । जो बाइडन प्रशासनले युक्रेनलाई राष्ट्रसंघले समेत प्रतिबन्ध लगाएको लामो दूरीको हतियार प्रयोगको अनुमति दिएपछि तनाव बढेको स्पष्ट देखिएको छ ।
युक्रेनले एटीएटीएसीएमएस क्षेप्यास्त्रबाट रुसका भित्री क्षेत्रमा आक्रमण गरिसकेको छ । यस्तै, बेलायतले दिएको लामो दूरीको स्टर्म स्याडो क्षेप्यास्त्र पनि युक्रेनले प्रहार गरिसकेको छ ।
रुसले पनि आक्रामक खालका अभिव्यक्ति दिँदै थप युद्धका लागि आफू तयार रहेको संकेत दिने खालका निर्णय गरिरहेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले परमाणु हतियार प्रयोगसम्बन्धी कानुन परिमार्जन गर्दै कुनै पनि उक्त हतियार प्रयोगको मार्गप्रशस्त गर्नुभएको छ ।
रुसले विगतमा पनि युक्रेनले पश्चिमा हतियारले रुसतर्फ प्रहार गरे पश्चिमा मुलुकसँग प्रत्यक्ष युद्ध हुने चेतावनी दिएको थियो । रुसबाट यस्तो चेतावनी आउँदा पनि युक्रेनले अमेरिकाको स्वीकृतिमा रुसतर्फ आक्रमण ग¥यो । जवाफमा रुसले युक्रेनतर्फ मध्यमदूरीको मार हान्ने नयाँ हाइपरसोनिक बलिष्टिक क्षेप्यास्त्र प्रयोग गरेको छ । साथै, पुटिनले युक्रेनलाई रुसविरुद्ध आफ्ना क्षेप्यास्त्र प्रयोग गर्न अनुमति दिने जुनसुकै देशका सैन्य ठेगानालक्षित आक्रमण गर्न सक्ने भन्दै पश्चिमा मुलुकलाई कडा चेतावनी दिनुभएको छ । यससँगै उहाँले दुई देशबीचको युद्ध वैश्विक द्वन्द्वतर्फ अग्रसर भइरहेको समेत चेतावनी दिनुभएको छ ।
यसले विश्वव्यापी रुपमा के अनुमान भइरहेको छ भने- यदि युक्रेनले पुनः पश्चिमा मुलुकको हतियारले रुसतर्फ आक्रमण गरे र रुसभित्र ठूलो क्षति पुगे युद्ध अन्य मुलुकमा पनि बिस्तार हुनेछ । जसले तेस्रो विश्वयुद्ध निम्त्याउने आँकलन भइरहेको छ । केही दिनअघि युक्रेनका पूर्वसैन्यकमाण्डर भालेरी जलुझ्नीले रुसका सहयोगी मुलुकको संलग्नता भइसकेकाले तेस्रो विश्वयुद्ध सुरु भइसकेको टिप्पणी गर्नुभएको थियो । उहाँको संकेत रुसमा युक्रेनविरुद्ध लडिरहेका उत्तर कोरियाली सैनिकतर्फ थियो । रुसमा हाल ११ हजार रुसी सैनिक रहेको दाबी युक्रेनले गर्दै आएको छ । यस्तै, रुसलाई चीनको पनि अप्रत्यक्ष समर्थन छ ।
निर्वाचनका क्रममा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले आफू विजयी भए २४ घण्टाभित्र रुस-युक्रेन युद्ध अन्त्य गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । निर्वाचनमा विजयी हुनु भएका उहाँले कार्यभार सम्हाल्न २ महिना बाँकी छ । तर, युद्ध झन् चर्कने स्थितिमा पुगेको छ ।