काठमाडौं । नेकपा एमालेको जागरणसभा र विभिन्न समूहको प्रदर्शनका कारण आज दिनभर नै काठमाडौं अस्तव्यस्त रह्यो । सवारी साधनको जाम हुन नदिने नाममा चक्रपथभित्र सार्वजनिक सवारी साधन प्रवेश नै दिइएन । यात्रुहरु घन्टौंसम्म बाटोमै रुमलिन बाध्य भए । कैयौं नागरिकको दिन सडकमा गाडी कुरेरै बित्यो भने कतिले गाडीमै दिन बिताए ।
काठमाडौंको दरबारमार्गमा एमालेको शक्ति प्रदर्शन थियो । केहि दिनयता जारी सहकारीपीडितको विरोध प्रदर्शन माइतीघरमा जारी नै थियो । कोटेश्वरमा नागरिक बचाउ महाअभियानको नाममा अर्को समूहको प्रदर्शन चल्यो जसकारण शुक्रबार दिनभर नै देशको संघीय राजधानी शहर अस्तव्यस्त भयो । एमालेको जागरण सभाका लागि ठाउँठाउँबाट जुलुस निकालिएकाले सवारी साधन निर्वाध रुपमा चल्नै पाएनन् ।
प्रधानमन्त्रीले नै सम्बोधन गर्ने तय गर्दै सत्तारुढ दलले जागरण सभा नाम दिएको कार्यक्रमका कारण ट्राफिक प्रहरीले सार्वजनिक यातायातका साधनलाई चक्रपथभित्र प्रवेश नै दिएन । यात्रु घण्टौंसम्म बाटोमा अलपत्र परेर बस्न बाध्य भए ।
तीनतिर प्रदर्शन छ भन्ने जानकारी भएका कतिपय त घरमै बसे । तर कामका लागि निस्किएका, क्याम्पस तथा विद्यालय पुगेका विद्यार्थी भने सवारी साधन नपाउँदा मलिन अनुहार लगाउँदै घण्टौ सडकमै उभिए ।
शुक्रबार ट्राफिक प्रहरीले काठमाडौँका १ सय १३ स्थानमा डाइभर्सन प्वाइन्ट राखेको थियो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यलयका प्रवक्ता उमाप्रसाद चतुर्वेदीले ठाउँठाउँको प्रदर्शनलाई हेरेर नागरिकको सुरक्षाकै लागि सार्वजनिक सवारीलाई चक्रपथ प्रवेशमै रोक लगाइएको बताउनुभयो । तर कुनै दल र समूहको प्रदर्शनका नाममा नागरिकको दिनचर्या नै अस्तव्यस्त हुने अवस्था सिर्जना हुनु पनि राम्रो भने होइन ।