रवि, सुमना र बालेनलक्षित आफ्ना अभिव्यक्तिप्रति के छ केपी ओलीको भनाइ ?

जेष्ठ २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
रवि, सुमना र बालेनलक्षित आफ्ना अभिव्यक्तिप्रति के छ केपी ओलीको भनाइ ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष  केपी शर्मा ओलीले  गृहमन्त्री रवि लामिछाने, शिक्षामन्त्री सुमना श्रेष्ठ र काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहमाथि आफूले कुनै गलत टिप्पणी नगरेको दाबी गर्नुभयो ।

हिजो काठमाडौंमा आयोजित डिजिटल कन्केल्भमा कान्तिपुर टेलिभिजनका नायव समाचार प्रमुख रुपेस श्रेष्ठसँगको संवादमा आफूले कसैप्रति गलत टिप्पणी नगरेको दाबी गर्नुभएको हो ।

हिजो चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेकपा एमालेका अध्यक्ष ओलीले बालेन्द्र शाहलाई झिंगाको संज्ञा दिनुभएको थियो । गिरीबन्धु टी-स्टेटको जग्गा सट्टापट्टा प्रकरणमा काठमाडौं महानगरपालिकाका प्रमुख शाहले सामाजिक सञ्जालबाट केही दिनअघि गरेको टिपप्णी गरेको विषयमा पत्रकारहरूले प्रश्न गरेपछि अध्यक्ष ओलीले यस्तो जवाफ जवाफ दिनुभएको थियो । तर साँझ डिजिटल कन्केल्भमा आफूले कसैप्रति गलत टिप्पणी नगरेको दाबी गर्नुभएको हो ।

यस्तै अध्यक्ष ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठप्रति लक्षित गरेर आफूले कुनै अभिव्यक्ति नदिएको स्पष्टिकरण समेत दिनुभएको छ । उहाँले आफूले सुनाएको कथा कसैसँग मिलेमा संयोग हुनेछ भन्ने हलुको जवाफ दिनुभयो । शिक्षामन्त्री श्रेष्ठलक्षित विदेशीसँग विवाह गरेर नेपाल घुम्न आएको बेलामा मन्त्री भएको भन्ने उहाँको अभिव्यक्ति विवादित भएको थियो ।

उहाँले सूचना प्रविधिलाई कसैको मानमर्दन गर्न नभएर देशको हितमा प्रयोग हुनुपर्ने बताउनुभयो ।

'सूचना प्रवधिको जसरी विकास भएको छ । त्यो देशका लागि हुनुपर्छ । जनताका लागि हुनुपर्ने छ,' उहाँले भन्नुभयो, 'त्यो दुरुपयोग हुने होइन । कसैको मानमर्दन गर्न होइन । बिनाआधार डिजिटल डिस्प्ले गरेर यो चोर हो । यो यस्तो हो, यो बदमास हो भ्रष्ट हो भनेर अपमानित गर्ने, यस्ताका लागि होइन । यस्ता कुरा छानबिन गर्ने निकायले यथार्थका लागि छानबिन गर्नुपर्छ । नागरिक समाजका लागि सूचना, सूचनाका रुपमा दिनुपर्छ । हाम्रो समाज एउटा मार्यादित समाज हुनुपर्‍यो ।'

अध्यक्ष केपी ओलीले संसदमा नीति निर्माणमाभन्दा बढी सांसदहरु एकअर्कालाई होच्याउन र अपमान गर्न लागि परेको बताउनुभयो । उहाँले आफू संसदीय मर्यादाप्रति सचेत रहेको र आफ्ना अभिव्यक्तिहरुले संसदीय मर्यादा ननाघेको  प्रतिक्रिया दिनुभएको हो । उहाँले अर्थतन्त्र खस्किए केही वर्षमा सुधार गर्न सकिने तर संस्कृति र संस्कार बिथोलिए त्यसको असर समाज र राष्ट्रमा लामो समय रही रहने पनि बताउनुभयो ।

सम्बन्धित समाचार...

बालेनको प्रहारलाई ओलीको जवाफ 'भैंसीको ढाडमा झिँगाको लात्ती'

शिक्षामन्त्री सुमनाविरुद्ध केपी ओलीको ‘हेट स्पिच’ : पछुतो न कारबाही

ओलीको ‘हेट स्पिच’बाट कसले के सिक्ने ?

आफूलक्षित ओलीको अभिव्यक्तिप्रति शिक्षामन्त्री सुमनाको जवाफ


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.