ओलीको ‘हेट स्पिच’बाट कसले के सिक्ने ?

जेष्ठ २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
ओलीको ‘हेट स्पिच’बाट कसले के सिक्ने ?

काठमाडौं । सामान्यत: एमाले अध्यक्ष केपी ओली मिलाएर बोल्न जान्ने नेताका रुपमा परिचित हुनुहुन्छ । उखान टुक्का जोडेर आममानिसले बुझ्ने भाषामा आफ्ना अभिव्यक्ति दिन माहिर सत्तारुढ एमाले अध्यक्ष ओलीका पछिल्लो समयका भाषणहरु सुन्दा पूर्वप्रधानमन्त्रीको आफ्नो ओहोदा नै उहाँले भुलेको भान हुन्छ ।

उहाँले विपक्षीको मात्र होइन आफ्नै सहयात्री दलका मन्त्रीकै समेत कटाक्ष गर्दै आउनुभएको छ । जिम्मेवार दलको मुख्य व्यक्तिबाट आएका घृणायुक्त अभिव्यक्तिबाट नेपाली समाजले के सिक्ने भन्ने प्रश्न उठेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद हुँदै हाल शिक्षामन्त्रीमा बहाल सुमना श्रेष्ठ लक्षित एमाले अध्यक्ष केपी ओलीको टिप्पणी अहिले चर्चामा छ । ओलीले श्रेष्ठलाई लक्षित गर्दै गरेको टिप्पणी पहिलोपटक भने होइन । उहाँले उस्तै टिप्पणी गरेको भिडियो सामाजिक सञ्जालमा त्यसअघि पनि सार्वजनिक भएको थियो । एक महिलाले विवाहपश्चात् आफू कुन देशमा बस्ने भन्ने निर्णय गर्ने अधिकार राख्छिन् । ओलीको यो टिप्पणी लिंगभेदी छ । ओलीको टिप्पणी गलत छ ।

ओलीको यही टिप्पणीलाई लिएर उहाँको आलोचना भइरहेको छ । उसो त रास्वपाका नेताहरुमाथि ओलीका अभिव्यक्तिहरु स्वस्फूर्तभन्दा पनि योजनाबद्ध रुपमा आएको भान हुन्छ । गठबन्धनको सहयात्री दल रास्वपा सभापति नै रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथिको टिप्पणीले त्यही देखाउँछ । सहकारी ठगीको विषयमा छानबिन समितिको माग गरिरहेको कांग्रेसलाई जवाफ दिने क्रममा ओलीले लामिछानेलाई भँगेराको संज्ञा दिनुभयो ।

कांग्रेसलाई ताकेर ओलीले लामिछाने र उहाँको दल रास्वपा कुनै शक्ति नै नभएको चराजस्तै भएको भन्दै खसालेर बोल्नुभयो । गठबन्धनको सहयात्री दल, त्यसमाथि आफ्नै सहयोगमा उपप्रधान तथा गृहमन्त्री बन्नुभएका लामिछानेमाथि ओलीको यस्तो टिप्पणी कति शोभनीय हो ? जुनसुकै विषयमा चर्को बोल्ने रास्वपाका नेताहरुको यस्ता विषयमा जवाफ भने सुनिएको छैन । उसो त राजनीतिमा चर्चा र प्रशंसा कमाइरहेका नयाँ र प्रतिरोधी स्वरलाई यसैगरी खसाल्ने ओलीको पुरानै बानी हो । आधुनिक युगमा यस्तो टिप्पणीलाई ‘हेट स्पिच’ अर्थात् घृणायुक्त अभिव्यक्तिको रुपमा अर्थ्याइन्छ । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहलाई ओलीले गरेको आलोचना पनि अहिले चर्चामा छ ।

सामाजिक सञ्जालबाटै जवाफ फर्काउन माहिर बालेन्द्रले भने ओलीलाई गिरीबन्धु टिस्टेट जग्गा प्रकरणमा १० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता झुक्याउन खोजेको भन्दै जवाफ फर्काउनुभएको छ । तिखो आलोचना गर्न खप्पिस अध्यक्ष ओलीका कतिपय अभिव्यक्तिले त भिडन्तसमेत निम्याउने जोखिम देखिन्छ । झन्डै साढे दुई महिनादेखि प्रमुख विपक्षी कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न भएको भन्दै संसदीय छानबिन समिति गठन गर्नुपर्छ भन्ने मागलाई लिएर लामिछानेको पक्षमा संसद्‌मै भिडन्तमा उत्रिन आफ्ना सांसदहरुलाई निर्देशन दिनुभएको थियो ।

ओलीको यो अभिव्यक्तिका कारण सत्तापक्ष र विपक्षीबीच संसद्‌मा धकेलाधकेल नै भयो । कहिले आफ्नै सहयात्रीलाई त कहिले प्रतिपक्षीलाई खसालेर व्यक्तिकेन्द्रित छुद्र टिप्पणी गर्ने ओली सम्मानित न्यायालयमाथि आक्रमण गर्न पनि पछि पर्नुहुन्न । गिरीबन्धु जग्गा प्रकरणमा सर्वोच्च अदालतको फैसलालाई नै चुनौती दिँदै उहाँले अदालतको निष्पक्षतामाथि प्रश्न गर्नुभयो ।

ओली पुराना नेता हुनुहुन्छ । उमेरले पनि पाको हुनुहुन्छ । राजनीतिक अनुभवले खारिनुभएका नेता ओलीले नयाँ पुस्तालाई संस्कार, अनुशासन र नैतिकताको पाठ सिकाइरहनुहुन्छ । आदर, सम्मान र प्रेमका बारेमा उहाँका प्रवचन सुन्नेहरु पनि प्रशस्तै छन् । तर उहाँका अभिव्यक्ति भने आफैंले दिने प्रवचन र उपदेशविपरीतका छन् । पटकपटक प्रधानमन्त्री भइसकेका र फेरि पनि देशको नेतृत्व गर्ने आकांक्षा राखेका पाका नेताबाट तुच्छ र घृणायुक्त अभिव्यक्ति आउनुले उहाँले नेतृत्व गरेको पार्टीका नेता तथा कार्यकर्ताले के सिक्दैछन् भन्नेमा समेत प्रश्न उठ्न सक्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.