
कपिलवस्तु । सबैका हातमा पञ्जा र मुखमा मास्क छ अनि सबैका हातमा बोरा ।
साना-ठूला सबैले बोरा बोकेर दोडादौड गरिरहेका छन् । बाटोको दाँयाबाँया भेटिएका फोहर वस्तु संकलन गर्दै हस्याङफस्याङ गर्दै दौड्दैछन् । यो दौड सामान्य नभएर कपिलवस्तुको विजयनगर गाउँपालिकाले आयोजना गरेको फोहोर संकलन खुला दौड प्रतियोगिता हो ।
फोहर व्यवस्थापनमा सचेतना फैलाउने उद्देश्यले गाउँपालिकाले आयोजितको प्रतियोगितामा एक घण्टामा ७ क्विन्टल ६० किलो फोहर संकलन भयो। बालबालिकादेखि समुदायका अगुवालाई कुनकुन वस्तु फोहोर हुन् भन्ने चिनाउादै संकलन गर्न उत्प्रेरित गर्न कार्यक्रम गरिएको हो ।
गाउँटोल सफा राख्न उत्प्रेरित गर्न समुदायलाई फरक ढंगले परिचालिन गरेर उत्साहित बनाउन कार्यक्रम गरिएको हो। सात वर्षे बालिकादेखि ६२ वर्षे ज्येष्ठ नागरिकसम्म सहभागी कार्यक्रममा निर्धारित समयमा धेरै फोहोर संकलन गर्ने तीन जनालाई नगद पुरस्कार दिइयो।
बिहान ८ बजे पत्थरदेइयास्थित जनता आधारभूत विद्यालयबाट सुरु भएको दौड जगदीशपुर प्रहरीचौकी पुगेर टुंगिएको थियो । एक किलोमिटर ८ सय मिटर दूरीमा पर्ने तीन गाउँ र दाँयाबाँयाका घर छेउकुनामा भएको फोहोर संकलन गरिएको थियो ।
प्लास्टिक, सिसा, जुत्ताचप्पल, बोतल, गुट्काका खोलजस्ता नकुहिने फोहोर संकलन गरिएको थियो । प्रचन्ड गर्मीमा असिनपसिन हुँदै सहभागीले फोहर संकलन गरे । संकलित फोहोर गाउँपालिकाले डम्पिङसाइटमा लगेर नष्ट गरेको छ। समुदायले आफैं सरसफाइ गर्नसक्छ भन्ने सन्देश जाने भएकाले कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको छ ।
फोहर संकलन खुला दौड प्रतियोगिताबाट प्रतिस्पर्धाभन्दा पनि सद्भाव र समन्वयले गाउँबस्ती सरसफाइ हुनसक्ने सकारात्मक सन्देशको अपेक्षा गरिएको छ ।