एसईईमा अनुत्तीर्णमध्ये १४ प्रतिशतले दोहोर्‍याएर परीक्षा नै दिँदैनन्

प्राविधिक शिक्षामा पनि आधाभन्दा कमको मात्र चासो
बाँकी विद्यार्थी बीचमै गायब, विज्ञ भन्छन्- राज्यले खोजोस्
जेष्ठ १०, २०८३ |नारायण किलम्बू
एसईईमा अनुत्तीर्णमध्ये १४ प्रतिशतले दोहोर्‍याएर परीक्षा नै दिँदैनन्

काठमाडौं । एसईई परीक्षाका बर्सेनि ननग्रेडेड अर्थात् माथिल्लो तह पढ्न नपाउने विद्यार्थीमध्ये करिब १४ प्रतिशतले दोहोर्‍याएर परीक्षा नै नदिने गरेको पाइएको छ । 

फेल भएकामध्ये बर्सेनि ७-८ हजारको संख्यामा विद्यार्थीहरू पूरक परीक्षा नदिए पनि प्राविधिक धारतर्फ जान्छन् । तर, ठूलो संख्या अझै पनि सरकारको रेडारभन्दा बाहिरै छ । यी विद्यार्थी खोज्न सरकारले कुनै प्रयत्न पनि गरेको छैन । २०८० सालको एसईईमा काठमाडौँको पकनाजोलस्थित नेपाल युवक माध्यामिक विद्यालयबाट ४२ जना सहभागी थिए । 

यीमध्ये ३० जना पास भए र १२ जना फेल । तर, फेल भएकामध्ये ३ जना पूरक परीक्षामा समेत सहभागी भएनन् । जति जाँच दिए पनि पास हुन सकिँदैन भन्ने कमजोर आत्मबलका कारण उनीहरूले परीक्षा नदिएको विद्यालयका प्रधानाध्यापक बताउनुहुन्छ ।

युवक मावि मात्र होइन, देशका अरू थुप्रै सामुदायिक विद्यालयका विद्यार्थीहरू ग्रेड वृद्धि परीक्षामा सहभागी नहुने गरेका छन् । तथ्यांकले यस्तै भन्छ । जस्तो, २०८० सालको एसईईको नियमित परीक्षामा ४ लाख ६४ हजार ७ सय ८५ विद्यार्थी सहभागी थिए । 

यीमध्ये करिब ५२ प्रतिशत अर्थात् २ लाख ४२ हजार ३ सय १३ जना ननग्रेडेड भए । तर, २ लाख १० हजारजतिले मात्र पूरक परीक्षा दिए । अर्थात् देशभरका ३२ हजार विद्यार्थीले दोहोर्याएर जाँच दिन चाहेनन् । ०८१ सालमा पनि दोहोर्‍याएर जाँच दिन नचाहने विद्यार्थीको संख्या उल्लेख्य छ । 

सहभागी ४ लाख ३८ हजार ८ सय ९६ विद्यार्थीमध्ये २ लाख ७१ हजार २ सय ९९ पास भए र १ लाख ६७ हजार ५ सय ९७ ननग्रेडेड भए । तर, यीमध्ये १ लाख ४३ हजारजतिले मात्र पूरक परीक्षा दिए । भन्नुको मतलब २४ हजार ४ सय विद्यार्थी दोहोर्‍याएर जाँच दिएर ग्रेड वृद्धि गराउनै आएनन् ।

यो दुई वर्षको तथ्यांक अनुसार १४ प्रतिशत हाराहारी अनुत्तीर्ण विद्यार्थीले पूरक परीक्षा नदिने गरेको देखिन्छ । यसपालि २०८२ सालको परीक्षामा पनि सहभागी भएकामध्ये १ लाख ४६ हजार ५ सय ५ जना ननग्रेडेड भएका छन् । यी परीक्षार्थीका लागि पूरक परीक्षा असार १ बाट सुरु हुँदैछ ।

यसरी बर्सेनि फेल हुनेको संख्या लाखभन्दा बढी हुनु अनि पूरक परीक्षामा हजारौँ विद्यार्थी उपस्थित नहुनु गम्भीर विषय भएको अधिकारीहरू नै बताउँछन्। सरकारले २०७५ सालमा एसईईमा लेटर ग्रेडिङ निर्देशिका जारी गर्दै विद्यार्थीहरू फेल नहुने व्यवस्था गरेको थियो । तर, २०८० सालदेखि सैद्धान्तिकमा ३५ भन्दा कम आए फेल हुने व्यवस्था गरियो ।

अब प्रश्न उठ्छ पूरक परीक्षासमेत नदिने विद्यार्थीहरू जान्छन् चाहिँ कहाँ ?

एसईईमा फेल भएका केही विद्यार्थीहरू चाहिँ उच्चमाध्यमिक शिक्षालाई निरन्तरता दिनुसाटो प्राविधिक धारतर्फ जाने गर्छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीका अनुसार एसईईमा फेल भएकाहरूका लागि कृषि, इन्जिनियरिङ, होटल म्यानेजमेन्टलगायत १८ वटा शैक्षिक कार्यकम सञ्चालनमा छन् । 

त्यस्ता विद्यार्थी बर्सेनि २६ हजार जनासम्म पढाउन सक्ने क्षमता सीटीईभीटीको छ । तर, विडम्बना प्रायः विद्यार्थीहरू यहाँ पनि आइपुग्दैनन् । २०८० मा ८ हजार, २०८१ मा ७ हजार र ०८२ मा ५ हजार जना मात्र यस्ता कोर्समा भर्ना भएको तथ्यांक छ ।

एसईईमा फेल भएका र पुनः परीक्षामा सामेल हुन नआउनेहरू अधिकांश ज्याला मजदूरी गर्ने अभिभावकका छोराछोरीहरू हुने गरेको सरोकारवालाहरू बताउँछन् । आर्थिक सामाजिक कारणले पढाइ र सीप सिक्नुभन्दा हातमुख जोर्नु नै प्राथमिकतामा परेपछि उनीहरू मूलधारबाट विस्थापित हुने शिक्षकहरूको भनाइ छ ।

विज्ञहरू भने फेल हुने र सीटीईभीटीसम्म पनि नपुग्ने यस्ता विद्यार्थी खोज्न राज्यले नै तदारुकता देखाउनुपर्ने बताउँछन् । साथै सीपयुक्त तालिम दिएर दक्ष बनाउन आवश्यक रहेको उनीहरूको सुझाव छ । विद्यार्थी १० कक्षाबाटै हराउनु कुनै सामान्य घटना होइन । 

राज्यले व्यवस्था गरिदिएको वैकल्पिक शिक्षा र सीपमूलक शिक्षामा समेत सहभागिता नदेखिनु अर्को गम्भीर समस्या हो । अर्कोतर्फ एक जना विद्यार्थीलाई १० कक्षासम्म पुर्‍याउन राज्यले थुप्रै लगानी गरेको हुन्छ । समाज र अभिभावकको लगानीको त आर्थिक हिसाब पनि हुँदैन । 

यस्तोमा सबै पक्षको लगानी खेर जाने स्थिति आउनु भनेको राज्यको प्रणालीमा कहीँकतै चुक छ भन्ने नै हो । जसलाई आगामी पूरक परीक्षा अर्थात् असार १ गते अगावै सम्बोधन गर्न अतिआवश्यक छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।