काठमाडौं । दक्षिण एसियाली फुटबलको प्रतिष्ठित प्रतियोगिता साफ महिला च्याम्पियनसिप २०२६ साेमबारदेखि भारतको गोवामा सुरू हुँदै छ ।
आठौं संस्करणसम्म आईपुग्दा धेरैपटक उपविजेतामा सीमित नेपालले यसपटक च्याम्पियन बन्दै इतिहास रच्ने लक्ष्य राखेको छ । साफ महिला च्याम्पियनसिपमा नेपाली टोलीले सधैं आशा जगाउँछ, तर अन्त्य निराशाजनक बन्छ । सातमध्ये छ संस्करणमा फाइनल पुगे पनि उपाधि हात पार्न नसक्नुले सधै पीडा दिन्छ ।
यसपटक भने त्यो इतिहास बदल्ने दृढ अठोटसहित टोली भारत पुगेको छ । मुख्य प्रशिक्षक नवीन न्यौपानेका लागि साफ च्याम्पियनसिप क्षेत्रीय प्रतियोगितामात्र नभइ प्रतिष्ठा र पहिचानको लडाइँ हो । टोलीमा अनुभवी र युवा खेलाडीको सन्तुलित संयोजन देखिन्छ ।
अनिता बस्नेत, हिरा भुजेल र गीता रानाजस्ता सिनियर खेलाडीले टोलीको मनोबल बलियो बनाउने छन् । युवा खेलाडीका लागि पनि साफ च्याम्यिनसिप आफ्नो क्षमता प्रमाणित गर्ने मञ्च हो । टोलीलाई सबैभन्दा धेरै अभाव सावित्रा भण्डारी 'साम्बा' र सविता रानाको खड्किने छ ।
यी दुवै अनुभवी खेलाडीले चोटका कारण प्रतियोगिता गुमाएका छन् । ६ टोली सहभागी हुने प्रतियोगितामा नेपाल समूह 'ए' मा छ । यस समूहमा भुटान र श्रीलंका पनि छन् । समूह 'बी' मा साविक विजेता बंगलादेश, भारत र माल्दिभ्स छन् । त्यसैले सेमिफाइनलमा नेपालले बलियो प्रतिद्वन्द्वीको सामना गर्नुपर्ने लगभग निश्चित छ ।
नेपालले उद्घाटन खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्ने छ । जेठ १७ मा श्रीलंकासँग खेल्ने तालिका छ । सेमिफाइनल २० र फाइनल खेल २३ गते खेलिने छ । नेपाल सधैं साफको उपाधि दाबेदार टोली हो । तर, बारम्बार फाइनलमा पुगेर हार्नुले मानसिक दबाब थपिएको छ ।
त्यसमा पनि पछिल्लो समय नेपाली फुटबलमा देखिएको शक्ति संघर्षको असर खेलाडीमा पनि परेको छ । त्यसकारण इतिहास दोहोरिए नेपालले एक पटक फेरि पीडा बेहोर्ने छ । इतिहास बदल्न सके सिंगो देशले सेलिब्रेसनको अवसर पाउनेछ ।