मनसुन, सीमान्तकृत र राज्यको उदासिनता

जेष्ठ ८, २०८३ |विकास आचार्य
मनसुन, सीमान्तकृत र राज्यको उदासिनता

काठमाडौं । एकातिर निम्न आर्थिक अवस्थाको पीर, अर्कोतिर मनसुनको तीर । 

निम्न वर्गीय परिवारलाई मनसुन सधैँ चिन्ताको विषय हो । प्रायः यस्ता विपद्‌मा ज्यान गुमाउने पनि सीमान्तकृत र निम्न वर्गीयहरू नै धेरै हुन्छन् । त्यसो त सरकारसँग विपद्ले जनधनको कति क्षति गर्‍यो भन्ने सोलोडोलो तथ्यांकबाहेक यसले नागरिकमा पारेको बहुआयामिक असरको कुनै जानकारी छैन । न त विपद्पछि समयमै पुनःस्थापित नै गर्न सकेको छ ।

मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना अनुसार यस वर्ष मनसुन अवधिमा देशभरका ५१ हजार ८ सय ६८ घरधुरीका २ लाख २६ हजार ६ सय ६१ जनसंख्या प्रभावित हुने आकलन छ । कार्ययोजनाले जोखिमयुक्त स्थानमा गरिएको बस्ती विकासलाई मनसुनजन्य विपद्‌लाई टेवा दिने मुख्य कारणमध्ये एक मानेको छ । 

जोखिमयुक्त स्थानमा प्रायः सीमान्तकृत र निम्न आर्थिक अवस्थाका जनसंख्याको बसोवास हुने गरेको छ । अर्थात् आर्थिकरूपमा पहिल्यै कमजोर वर्गलाई मनसुनजन्य विपद्ले झन् कमजोर बनाउने गरेको छ । विज्ञ पनि भन्छन्, विपद्लगायत अन्य धेरै कारणले पहाड र हिमाली क्षेत्रका मानिसहरू तराईको तुलनामा बढी पीडित छन् ।

त्यसो त सरकारले विपद् प्रभावितलाई समयमै उपयुक्त किसिमले पुनःस्थापित गर्न सकेको छैन नै, जनधनको सोलोडोलो तथ्यांकबाहेक निम्न आर्थिक अवस्थाका नागरिकमा परेको बहुआयामिक प्रकोपको विश्लेषण गरेकै छैन । हामीले विपद् प्रतिकार्यमा काम गर्ने प्रायः सरकारी कार्यालयमा सम्पर्क गर्दा कसैले पनि मनसुनजन्य विपद्ले कतिलाई गरिबीको रेखामुनि धकेल्छ भन्ने तथ्यांक राखेको पाइएन ।

त्यसो त विपद्ले धनी गरिब भन्दैन । तर, विपद्‌ले गरिबलाई चाहिँ अझ बढी गरिब बनाउँछ भन्नेमा दुईमत छैन । यति हुँदा हुँदै पनि सरकारको विपद् जोखिम न्यूनीकरणको पूर्वतयारी गरिबका लागि भनेर अलग्गै वा सीमान्तकृत केन्द्रित भने हुने गरेको छैन ।

सरकारको पहिलो ध्यान नागरिकको जीवन रक्षा र त्यसपछि जीवनस्तर उकास्न हुनुपर्ने हो । तर, यी दुवै कर्तव्यमा राज्य बर्सेनि चुक्ने गरेको मनसुनजन्य विपद्को तथ्यांकले देखाउँछन् । अरू त अरू राज्य आफैँले कबोल गरेको राहत रकम वितरणमा समेत सरकार चुक्ने गरेको छ । 

बर्सेनि विपद् आउने अनि बर्सेनि प्रभावितहरूलाई राहत उपलब्ध गराउनुपर्ने बाध्यता हुने भएकाले विज्ञहरूले भने अब सरकार बीमा प्रणालीमा जानुपर्ने बताउँछन् । जीवन स्तर सर्वेक्षण तथ्यांक २०२३-२४ का अनुसार नेपालमा कुल जनसंख्याको २०.२७ प्रतिशत मानिस गरिबीको रेखामुनि छन् । 

सहरमा भन्दा ६.६६ प्रतिशतले गाउँमा मानिसहरू अझ बढी गरिबीको रेखामुनि छन् । मनसुनजन्य विपद्‌ले प्रायः गाउँका तिनै निम्न वर्गीयलाई पिरोल्ने गरेको छ । अर्कोतर्फ विपद्‌को प्रभाव व्यक्तिगत र समष्टिगत दुवै छन् । राष्ट्रिय अर्थतन्त्रलाई पनि यसले बर्सेनि क्षति पुर्‍याइरहेको छ । 

त्यसैले सरकारले पूर्वतयारी र प्रतिकार्य यसैअनुरूप गर्न आवश्यक छ ।


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।