शिक्षामन्त्री सुमनाविरुद्ध केपी ओलीको ‘हेट स्पिच’ : पछुतो न कारबाही

ओलीमाथि सार्वजनिक आलोचना, तर सच्याइएन अभिव्यक्ति
जेष्ठ २४, २०८१ |सुबिन्द्र श्रेष्ठ
शिक्षामन्त्री सुमनाविरुद्ध केपी ओलीको ‘हेट स्पिच’ : पछुतो न कारबाही

काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठविरुद्ध नेकपा एमालेका अध्यक्ष केपी ओलीले केही दिनअघि गरेको टिप्पणीलाई लिएर सार्वजनिक रुपमै आलोचना भइरहेको छ ।

व्यवस्था फेरियो, संविधान र कानुन फेरियो । तर पनि सोच नै फेरिएन । ओलीको अभिव्यक्ति पनि त्यसैको उपज हो । तर, चौतर्फी आलोचना हुँदासमेत ओलीले भने आफ्नो अभिव्यक्ति सच्याउनु भएको छैन ।

राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले शिक्षामन्त्री श्रेष्ठलक्षित नेकपा एमालेका अध्यक्ष ओलीको द्वेषपूर्ण अभिव्यक्तिलाई नोटिसमा राखेको जनाउनुभएको छ । ‘अब महिलालाई कमजोर आँकेर नभई द्वेष राखेर, प्रतिस्पर्धाको भावनाले होच्याउने प्रवृत्तिको विकास भएको हो,’ उहाँले भन्नुभयो ।

आफूप्रति गरिएको निकृष्ट टिप्पणीप्रति शिक्षामन्त्री श्रेष्ठले सामाजिक सञ्जालमार्फत आक्रोश पोख्नुभएको छ । ओलीको अभिव्यक्ति आफूप्रति मात्रै नभई जो सानै उमेरमा राम्रो अध्ययनको अवसर लिन बाहिरिन्छ, जो कमाउन बाहिरिन्छ ती सबैप्रति लक्षित रहेको उहाँको भनाइ छ ।

नेकपा एमालेका अध्यक्ष ओलीको शिक्षामन्त्री श्रेष्ठ लक्षित यो द्वेषपूर्ण भनाइ दोस्रोपटक आएको हो । पहिलोपटक बोल्दा नै आलोचना भएपछि त्यसलाई सच्याउनुको सट्टा ओलीले त्यही कुरा दोहोर्याएर भन्नुभयो । त्यो पनि युवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिइरहँदा ।

उहाँको यो भनाइ लैंगिक विभेदपूर्ण त छ नै यसले महिलाको स्वतन्त्र अस्तित्वलाई पनि स्वीकारेको देखिँदैन । समानता र स्वतन्त्रताका लागि लामो समय संघर्ष गरेको दाबी गर्ने नेताको यो अभिव्यक्तिले महिलालाई हेर्ने दृष्टिकोण सकारात्मक छैन भन्ने पनि प्रस्ट हुन्छ । यो कुरा सरकारमै रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले एक सातापछि बुझ्यो र आपत्ति जनायो । ‘अन्तरदेशीय विवाह पितृसत्तालाई मनपरेको छैन,’ रास्वपाका सभापति रवि लामिछानेले भन्नुभयो ।

रास्वपाका सांसद शिशिर खनालले बुधबार संसद्‌मा ओलीको नाम नलिई उहाँको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो, ‘घुम्दाघुम्दै सांसद भएको त कहिले लुगामा टिप्पणी, कहिले समानुपातिक सांसद भनेर होच्याउने ?’

विवाह व्यक्तिको निजी मामिला हो । जीवनसाथी रोज्न पाउने हक संविधानले नै दिएको छ । पुरुषले विदेशी महिलासँग विवाह गर्दा समाजमा प्रश्न उठ्दैन । तर, महिलाले विदेशी पुरुषसँग विवाह गर्दा राष्ट्रियतामाथि प्रश्न उठाइन्छ । त्यसमाथि घुम्दै आएर सांसद भएको भन्नुले त सांसदहरुको पनि मान-मर्दन गर्दछ । स्वयं एमालेकै सांसदलाई पनि ओलीको बोली चित्त बुझेको छैन ।

देशकै मन्त्रीमाथि एक शीर्ष नेताले दिएको यस्तो द्वेषपूर्ण अभिव्यक्तिविरुद्ध अहिलेसम्म न कहीँ उजुरी परेको छ, न कुनै निकायले अनुसन्धान गरेको छ । लोकतन्त्रमा नागरिक सार्वभौम हुन्छन् । महिला र पुरुषमा विभेद हुँदैन । यसलाई संविधानले सुनिश्चित गरेको छ । तर आफूलाई मन नपरेको भन्दैमा तुच्छ अभिव्यक्ति दिने ओलीको बोली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकारका मूल्य र मान्यताविपरीत छ ।


Image

सुबिन्द्र श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टीभीका संवाददाता हुन् ।