आफूलक्षित ओलीको अभिव्यक्तिप्रति शिक्षामन्त्री सुमनाको जवाफ

जेष्ठ २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
आफूलक्षित ओलीको अभिव्यक्तिप्रति शिक्षामन्त्री सुमनाको जवाफ

काठमाडौं । जेठ १९ गते नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी नेता एवं शिक्षामन्त्री सुमना श्रेष्ठलाई लक्षित गरी आएको स्त्रीद्वेषी अभिव्यक्तिप्रति मन्त्री श्रेष्ठको जवाफ आएको छ ।

कसैको नाम उल्लेख नगरी 'समाजका अगुवाको अभिव्यक्ति' भन्दै मन्त्री श्रेष्ठले सामाजिक सञ्जालमा आफ्नो धारणा राख्नु भएको हो । उहाँले नेपाली राजनीतिमा जमेर बसेकाहरु तथा कर्मचारीतन्त्र र पेशाकर्मीमा विदेशबाट फर्किएकाहरु प्रति प्रतिस्पर्धाको भावना रहेको र सीप र लगनलाई बेवास्था गर्ने गरिएको औंल्याउनु भएको छ । 

उहाँले महिलाहरुलाई हेर्ने मानसिकता विकराल रहेको जनाउँदै महिलामाथि झनै प्रहार हुने गरेको उल्लेख गर्नु भएको छ । उहाँले भन्नु भएको छ, 'समाजको नियम भनेर के लगाउने, के बोल्ने हरेक कुरामा लक्ष्मण रेखा कोरिदिने र त्यहीभित्र बसोस् भन्ने सोच हुनेरहेछ, यहि भएर होला प्रायः हाम्रा बहिनी छोरी विदेशबाट फर्कन खोज्दैनन्।'

'अनि बिहे भए पछि जन्मेको घरप्रति कुनै जिम्मेवारी हुँदैन? श्रीमान् को पहिचान बाहिर नारीको आफ्नो पहिचान हुँदैन ? के विदेशसँग कुनै सम्बन्ध हुँदैमा मान्छे देशद्रोही भै हाल्छ? अहिलेसम्म पुस्तौदेखि नेपालमै बसेका, नेपालीसँगै विवाह गरेकाहरूले चलाएको देश हो यो, यहि कारणले मात्र उत्पात विकास हुने रहेछ त ?' मन्त्री श्रेषठले भन्नु भएको छ, 'हामीले लडेर ल्याइदिएको अधिकारको मज्जा लिइरहेको छौ भनेर नथाक्नेहरू नै त्यसको उपयोग गर्दा भने भड्किन पुग्छन् । यसको पछिल्लो उदाहरण समाजका अगुवाको अभिव्यक्ति हो । देख्दा त्यो केवल एकजना सुमना श्रेष्ठको लागि हो भन्ने देखिएला तर त्यसले मजस्तै जो सानै उमेरमा राम्रो अध्ययनको अवसर लिन बाहिरिन्छ, जो कमाउन बाहिरिन्छ, ती सबै प्रति लक्षित हो ।'

मन्त्री श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफू लक्षित ओलीको अभिव्यक्तिलाई दिएको जवाफ-


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.