५२ वर्षपछि विश्वकपमा हाइटीको पुनरागमन

जेष्ठ १०, २०८३ |अभय बस्नेत
५२ वर्षपछि विश्वकपमा हाइटीको पुनरागमन

काठमाडौं । फिफा विश्वकप २०२६ सुरू हुन अब १८ दिन बाँकी छ । 

यस पटकको प्रतियोगितामा धेरै टोलीहरू सहभागी भए पनि क्यारिबियन राष्ट्र हाइटीको कथा निकै रोचक छ । आजको विश्वकप विशेषमा हामी ५२ वर्ष अर्थात् पाँच दशकभन्दा लामो पर्खाइपछि फुटबलको विश्वमञ्चमा फर्किएको हाइटीको चर्चा गर्दैछौं ।

२०२६ फिफा विश्वकपमा हाइटीको चर्चा गर्दै गर्दा १९७४ को विश्वकप बिर्सन मिल्दैन । सन् १९७४ को विश्वकपमा हाइटीका फरवार्ड इमानुएल सानोनले इटालीका गोलकिपर डिनो जोफको लगातार ११४३ मिनेटसम्म गोल नखाएको कीर्तिमान तोड्दै ऐतिहासिक गोल गरेका थिए। 

उक्त गोल आज पनि हाइटीको मात्र नभइ क्यारिबियन फुटबल इतिहासकै सबैभन्दा गौरवशाली क्षणको रूपमा जीवित छ। हाइटीको विश्वकप इतिहास छोटो त छ तर विशेष छ। सन् १९७४ मा पश्चिम जर्मनीमा भएको विश्वकप नै उनीहरूको अहिलेसम्मको एकमात्र सहभागिता थियो, जहाँ उनीहरूले इटाली, अर्जेन्टिना र पोल्यान्ड जस्ता दिग्गज टोलीहरूसँग प्रतिस्पर्धा गरेका थिए। 

५२ वर्षसम्म विश्वकपको मैदानबाट बाहिर रहेको हाइटीका लागि सन् २०२६ को यो अवसर विश्वकपमा पुनर्जन्म सरह हो। तर, हाइटी २०२६ को विश्वकपका लागि कसरी छनोट भयो त ? हाइटीको यो यात्रा निकै सङ्घर्षपूर्ण र रोमाञ्चक छ । कन्काकाफ छनोटको तेस्रो चरणमा हाइटीले कोस्टा रिका र होन्डुरसजस्ता टोलीहरू रहेको समूह 'सी' मा शीर्ष स्थान हासिल गर्दै आफ्नो स्थान पक्का गर्‍यो।

विशेष गरी १८ नोभेम्बर २०२५ मा निकारागुआलाई २-० ले पराजित गर्दै हाइटीले आफ्नो विश्वकपमा ऐतिहासिक पुनरागमन सुनिश्चित गरेको हो। यो जितको महत्व अझ बढी यसकारण छ कि, सोही दिन हाइटीले आफ्नो स्वतन्त्रता दिवसको 'भर्टिएरेस युद्ध' को वार्षिकोत्सव मनाइरहेको थियो। 

यस पटकको टोलीमा प्लेयर्स टु वाचको कमी छैन। सन्डरल्यान्डका फरवार्ड विल्सन इसिडोर टोलीका मुख्य अस्त्र हुन् । उनीसँगै फिलाडेल्फिया युनियनका मिडफिल्डर ड्यानली जीन ज्याक, एफसी डलासका लुसियस डीड्सन र टोरन्टो एफसीका डेरिक एटियन जुनियर जस्ता खेलाडीहरूले टोलीको मेरुदण्ड सम्हालेका छन्।

फ्रान्सेली प्रशिक्षक सेबास्टियन मिग्नेको नेतृत्वमा हाइटीले आफूलाई रक्षात्मक रूपमा निकै बलियो बनाएको छ। हाइटीको विश्वकपमा कठिन समूहमा पर्ने सिलसिला यसपटक पनि दोहोरिएको छ । यसपटक हाइटी कठिन मानिएको समूह 'सी' मा छ । 

हाइटीले जुन १३ मा स्कटल्यान्डविरुद्ध खेल्दै आफ्नो विश्वकप यात्रा सुरु गर्नैछ । त्यस्तै जुन १९ मा पाँच पटकको विश्व विजेता ब्राजिलविरुद्ध खेल्नेछ । आफ्नो पहिलो विश्वकपमा अर्जेन्टिना सम्मिलित समूहमा परेको हाइटीले यस पटक विश्वविजेताको रुपमा ब्राजिल पाएको छ । 

उसले आफ्नो समूह चरणको अन्तिम खेल जुन २४ मा मोरक्कोविरुद्ध एट्लान्टामा खेल्नेछ । प्रशिक्षक मिग्नेको लक्ष्य यसपटक केवल सहभागिता मात्र नभइ, बरू विश्वकपमा पहिलो अंक जोड्दै नकआउट चरणसम्म पुग्ने रहेको छ। आन्तरिक द्वन्द्व र सङ्कटबाट गुज्रिरहेको हाइटीका लागि यो विश्वकप फुटबल आशा र राष्ट्रिय एकताको नयाँ किरण बन्ने अपेक्षा गरिएको छ ।


Image

अभय बस्नेत

बस्नेत कान्तिपुर टेलिभिजनकाे स्पाेर्ट्स ब्युराेमा कार्यरत छन् ।