बालेनको प्रहारलाई ओलीको जवाफ 'भैंसीको ढाडमा झिँगाको लात्ती'

जेष्ठ २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
बालेनको प्रहारलाई ओलीको जवाफ 'भैंसीको ढाडमा झिँगाको लात्ती'

चितवन । काठमाडौं महानगरका मेयर बालेन्द्र साह 'बालेन'ले गिरिबन्धु टी-स्टेटको विषयमा सामाजिक सञ्जालमार्फत नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरी राखेको धारणाप्रति ओलीले 'भैंसीको ढाडमा झिँगाको लात्ती' को संज्ञा दिनु भएको छ ।

चितवनको भरतपुरमा शुक्रबार पत्रकारहरुले बालेनको धारणाप्रति सोधेको प्रश्नमा जवाफ दिँदै ओलीले भन्नु भयो, 'भैंसीको ढाडमा झिँगा बस्यो कि के बस्यो त्यसले थाहा पाएको पनि हुँदैन, झिँगा दङ्ग परेको हुन्छ चार ताल हाने यसपल्ट भनेर ।'

उहाँले आफू कसैसँग अनावश्यक ढंगको विवादमा पर्न नचाहने जनाउनु भयो । ओलीले थप्नु भयो, 'के भन्न चाहन्छु भने, राष्ट्रिय राजनीतिलाई एउटा परिपक्व, जिम्मेवार, सभ्य राजनीतिमा लानुपर्छ असभ्य राजनीतिमा होइन ।'

यसैगरी, अध्यक्ष ओलीले शिक्षामन्त्री एवं रास्वपा सांसद सुमना श्रेष्ठलाई लक्षित गरी दिएको अभिव्यक्तिमा प्रष्टीकरण दिनु भएको छ ।

ओलीले आफूले बोलेको कुरालाई अनावश्यक रुपमा शिक्षामन्त्रीसँग जोडिएको बताउनुभयो । शिक्षामन्त्रीप्रति लक्षित अभिव्यक्तिबारे सोधिएको प्रश्नमा अध्यक्ष ओलीले झर्किँदै प्रतिप्रश्न गर्नु भयो, 'शिक्षा मन्त्रीसँग मैले के भनेको छु ?'

'मैले त, मलाई यस्तो कथा कुनै एउटा देशको सुनाएका थिए भनेको हुँ मैले, त्यो कसैसँग सम्बन्धित छैन,' ओलीले आफ्नो अभिव्यक्तिको वचाउ गर्दै थप्नु भयो, 'संयोगले कसैसँग कुनै नाम मिलेजस्तो पनि लाग्दैन, ठेगाना मिलेजस्तो पनि लाग्दैन त्यसलाई अनावश्यक ढंगले जोड्नु व्यर्थ छ ।'

अध्यक्ष ओलीले अहिलेको सत्ता समीकरण कुनै हालतमा पनि नढल्ने दाबी गर्नु भयो ।

'पहिले त बन्नै नदिने भन्ने छँदै थियो, बन्यो । विश्वासको मत नै लिन नदिने भन्ने थियो, त्यसपछि अनेक अवसरहरुमा यसलाई ढाल्ने खेती चलेकै छ ।' सत्ता गठबन्धनबारे ओलीले भन्नु भयो, 'तर यो ढल्नका निम्ति बनेकै होइन यसपल्ट । यो समीकरण भत्कियो भने कुनै राम्रो कुरा हुनेवाला छैन । त्यसकारण यो समीकरण भत्किँदैन ।'


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.