सर्लाही । सर्लाहीको बरहथवा अहिले तनावग्रस्त बनेको छ ।
प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विषय तथा मृतकका परिवारलाई क्षतिपूर्तिको माग राख्दै सर्लाहीको बरहथवामा आज फेरि प्रदर्शन चर्किएको हो ।
बिहानै प्रदर्शन उग्र बन्न थालेपछि सर्लाही प्रशासनले कर्फ्यु लगाए पनि त्यसलाई उल्लंघन गर्दै प्रदर्शन भइरहेको छ । त्यसक्रममा प्रदर्शनकारीहरुले बरहथवास्थित इलाका प्रहरी कार्यालयमा रहेको प्रतीक्षालयमा आगजनी गरेका छन् । आन्दोलन दबाउन प्रहरीले केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ ।
त्यसक्रममा आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता डिएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए । प्रशासनले आज दिउँसो पौने एक बजेदेखि भोलि बिहान ८ बजेसम्म कुनै किसिमको भेला हुन र बाहिर आवतजावत गर्न नपाउने गरी कर्फ्यु जारी गरेको हो ।
बरहथवा नगरपालिकाको पूर्वमा सीतापुर जाने बाटोको ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती चोर्निया पुलसम्मको क्षेत्रमा कर्फ्यु लगाइएको छ । आदेश उल्लंघन गर्नेलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गर्ने चेतावनी स्थानीय प्रशासनले दिएको छ ।
शुक्रबार बरहथवा नगर अस्पतालको स्तरोन्नतिको विषयलाई लिएर भएको प्रदर्शन नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागी स्थानीय युवा जयशंकर साहको मृत्यु भएको थियो ।
उनको शव तीन दिनदेखि सडकमै राखेर प्रदर्शन भइरहेको छ ।
यो पनि...
प्रदर्शनमा मानवीय क्षति नै हुने गरी किन चल्छ प्रहरीको गोली ? (अन्तर्वार्ता)
सर्लाही घटनाको छानबिन गर्न ३ सदस्यीय समिति गठन, मृतकका परिवारलाई १० लाख राहत
सुरक्षा समिति सर्लाहीका पदाधिकारीले बरहथवा घटनाको स्थलगत निरीक्षण गर्ने
सर्लाही घटनामा मारिएका साहको परिवारसँग प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारीको छलफल
सीडीओ भन्छन्- मैले गोली हान्ने आदेश दिएको छैन
सर्लाही झडप अपडेट : प्रहरीको गोली लागेर ३० वर्षीय जयशंकर साहको मृत्यु, ८ प्रहरी घाइते