सर्लाही । जिल्ला सुरक्षा समिति सर्लाहीका पदाधिकारीहरूले बरहथवा घटनाको स्थलगत निरीक्षण गर्ने भएका छन् । जिल्ला प्रशासन कार्यालयमा आज दिउँसो बसेको सर्वदलीय बैठकले स्थलगत निरीक्षण गर्ने निर्णय गरेको हो ।
सर्वदलीय बैठकले मृतकको शव व्यवस्थापन गर्ने, घटनामा प्रहरी दोषी देखिए कारबाही गर्ने, मृतकप्रति समवेदना व्यक्त गर्ने, प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा अधिकारीले घटनास्थलको स्थलगत निरीक्षण गर्ने निर्णय गरेको हो ।
नगर अस्पतालको विषयलाई लिएर हिजो भएको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको थियो । प्रशासनले आज बिहानदेखि भने कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञा भोलि बिहान ९ बजेसम्म कायम रहने प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जारी गरेको आदेशमा उल्लेख छ ।
गोली लागेर बरहथवा नगरपालिका-६ का २७ वर्षीय जयशंकर साहको मृत्यु भएको थियो। साहको शवलाई प्रदर्शनकारीले नै राखेका थिए ।
सम्बन्धित समाचार...
सर्लाही घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन, मृतकका परिवारलाई दश लाख राहत