को थिए सर्लाहीको बरहथवा झडपमा मारिने युवा ?

पुस २१, २०८० |जितेन्द्र झा
को थिए सर्लाहीको बरहथवा झडपमा मारिने युवा ?

काठमाडौं । अस्पतालका लागि भएको विवादले हिजो सर्लाहीको बरहथवामा झडपको रूप लियो । प्रहरीले गोली चलाउँदा एक जना युवाको ज्यान नै गयो । झडपमा मारिने ती युवा को थिए ? र उनको मृत्यु कसरी भयो ? 

सर्लाहीको बरहथवामा रहेको इलाका प्रहरी कार्यालय छेउमै छ-सर्लाही होटेल । होटेल सञ्चालक बरहथवा नगरपालिका-६ का बासिन्दा २९ वर्षीय जयशंकर साह शुक्रबार नगरपालिका अगाडि भएको प्रदर्शनमा सहभागी थिएनन् । तर, सोही प्रदर्शनका कारण चलेको गोलीका कारण उनको जीवन नै समाप्त भयो । 

प्रहरीको गोली लागेर सडकमा ढलेका जयशंकरको अस्पतालसँग कुनै लेनादेना पनि थिएन । प्रहरी नै भन्छ- उनी प्रदर्शनमा सहभागी थिएनन् । आन्दोलन चर्किएकाले शुक्रबार बिहानै होटेलको सटर उनैले बन्द गर्न लगाएका थिए । दाना उद्योगमा गई फर्किरहेका बेला प्रहरीको गोली लागेका उनी कहिल्यै नउठ्ने गरी ढले ।

बुवा बंगाली साह र आमा कलावती देवीको एक्ला छोरा थिए उनी । बंगलादेशमा एमबीबीएसको अध्ययन गरिरहँदा कोभिड महामारीमा उनको बुवा बंगाली साहको मृत्यु भएको थियो । एमबीबीएसको पढाइ छोडेर फर्किएका उनी बुबाको व्यापार हेर्नमै व्यस्त भए । साहका चार दिदी बहिनी छन् ।

जयशंकरको मृत्युपछि प्रशासनले कर्फ्यु लगाउँदा सडक सुनसान छ भने मृतक साहकी आमा कलावतीको रोदनले टोल शोकमग्न छ । बिरामीको अकालमा ज्यान जानबाट जोगाउन नगर अस्पताल बन्यो तर त्यो सुरु नहुँदै एक नागरिकको व्यर्थमै ज्यान गयो ।

सम्बन्धित समाचार...

सर्लाही घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन, मृतकका परिवारलाई दश लाख राहत

सर्लाही घटनामा मारिएका साहको परिवारसँग प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारीको छलफल


Image

जितेन्द्र झा

झा कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।