सर्लाही । सर्लाहीको बरहथवामा प्रदर्शनका क्रममा एकजना प्रदर्शनकारीको घटनास्थलमै मृत्यु भएको छ ।
नगर अस्पताललाई प्रादेशिक अस्पताल बनाउने कि नबनाउने भन्ने विषयमा मेयर र अन्य राजनीतिक दलहरुबीच विवाद थियो । सोही विवादलाई लिएर कांग्रेससहितका अन्य दलका कार्यकर्ताले आन्दोलन गरेपछि प्रहरीसँग झडप भएको थियो ।
झडपका क्रममा गोली लागेर अन्दाजी ३० वर्षीय जयशंकर साहको मृत्यु भएको हो । साहको टाउकोमा चोट देखिएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो ।
विवाद भए पनि प्रदर्शनकारीले मेयर कल्पनाकुमारी कटुवालको घरमा आक्रमण गरेको प्रहरीले जनाएको छ । सोही क्रममा प्रहरीको एउटा, नगरपालिकाको तीनवटा गाडीमा तोडफोड भएको छ ।
झडपका क्रममा एक प्रदर्शनकारीको मृत्यु भएको र आठ प्रहरी घाइते भएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले पुष्टि गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले १३ राउन्ड हवाई फायर गरेको प्रजिअ धमलाले कान्तिपुर टेलिभिजनलाई जानकारी दिए ।
नगरपालिका प्रमुख कटुवालका अनुसार १५ शय्याको नगर अस्पताललाई ५० शय्याको बनाउने सहमति गर्दै मधेश प्रदेशलाई हस्तान्तरण गर्ने कि नगर्ने भन्ने विषयमा विवाद हुँदै आएको थियो । विवाद समाधानका लागि सर्वदलीय बैठक बोलाइएको थियो । सर्वदलीय बैठकमा सहमति नजुटेपछि स्थगित भएको थियो । बैठक स्थगित भएपछि झडपको स्थिति सिर्जना भएको हो ।
यो पनि...