काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी काठमाडौंको बूढानीलकण्ठबाट आइतबार साँझ पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले रायमाझी पक्राउ परेको पुष्टि गरे । उनले कान्तिपुर टेलिभिजनसँग भने, ‘आफन्तको घरमा लुकिछिपीरहेको अवस्थामा रायमाझीलाई बूढानीलकण्ठबाट नियन्त्रणमा लिइएको छ ।’ प्रहरीले आफन्तको बारेमा भने खुलाएको छैन ।
रायमाझीसँग प्रमुख बिचौलियाका रुपमा पक्राउ परेका केशव दुलाल र सानु भण्डारीको साठगाँठ रहेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । रायमाझीले भण्डारी र दुलालसँग आफ्नो सम्बन्ध रहेको यसअघि नै स्वीकार गरेका थिए । त्यस्तै उनका छोरा सन्दीपको नाममा काटिएको १ करोड ५० लाखको चेक पनि प्रहरीले बरामद गरेको छ ।
प्रहरीले सांसद रायमाझीविरुद्ध वैशाख २१ गते पक्राउ पुर्जी जारी गरेको थियो । एक कार्यक्रममा सहभागी हुन सभामुख देवराज घिमिरेसँगै गृह जिल्ला अर्घाखाँची पुगेका सांसद रायमाझी वैशाख २० गते साँझ हवाइजहाजमार्फत काठमाडौं आउन लागेका थिए । पक्राउ पर्ने सम्भावना बढेपछि अन्तिम समयमा टिकट रद्द गरेर उनी फरार भएका थिए । सोही दिन रायमाझीका छोरा सन्दीपलाई प्रहरीले पक्राउ गरेको थियो ।
शरणार्थी प्रकरणमा मुछिएपछि फरार रहेका रायमाझीलाई एमालेले पार्टी सचिवबाट निलम्बन गरिसकेको छ । यस प्रकरणलाई एमालेले ‘राज्यविरुद्धको अपराध’ भएको ठहर गरेको छ ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री खाण, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझीका छोरा सन्दीप र पूर्वगृह सचिव टेकनारायण पाण्डेसहित १२ जनालाई काठमाडौँ जिल्ला अदालतले आइतबार थप अनुसन्धानको लागि चार दिन म्याद थप गरेको छ ।
थप समाचार...
भुटानी शरणार्थी प्रकरणमा संलग्न १२ जनालाई अनुसन्धानका लागि ४ दिन म्याद थप
पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी
नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणको आर्थिक कारोबारमा प्रहरीको अनुसन्धान
माइतीघरमा भ्रष्टाचारविरुद्ध प्रदर्शन
भ्रष्टाचारविरुद्ध नागरिक समाजको प्रदर्शनमा दलका नेता पुगेपछि...