भ्रष्टाचारविरुद्ध नागरिक समाजको प्रदर्शनमा दलका नेता पुगेपछि...

वैशाख ३०, २०८० |कान्तिपुर टीभी संवाददाता
भ्रष्टाचारविरुद्ध नागरिक समाजको प्रदर्शनमा दलका नेता पुगेपछि...

काठमाडौं । भ्रष्टाचारविरुद्ध नागरिक अगुवासहितको टोलीले शनिबार (आज) गरेको प्रदर्शनमा राजनीतिक दलका नेताहरु पनि सहभागी हुन इच्छुक देखिए ।तर, नागरिकहरुले भने नेताको विरोध गरे ।

नक्कली भुटानी शरणार्थी प्रकरणबारे खबरदारी गर्ने आज काठमाडौंको विभिन्न ठाउँमा प्रदर्शन भएको छ ।काठमाडौंको नक्सालस्थित नारायणचौरमा भएको प्रदर्शनमा ऐक्यबद्धता जनाउन पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमी पुगेका थिए । तर प्रदर्शनमा सहभागीहरुले भट्टराई दम्पतीको विरोध गरे ।

देशका नागरिक नक्कली भुटानी शरणार्थी बनेर बिदेसिनु पर्ने बाध्यता आउनुमा भट्टराई दम्पतीको पनि संलग्नता रहेको आरोप लगाउँदै प्रदर्शनकारीले विरोध गरे । एक प्रदर्शनकारीले भने, ‘भुटानी शरणार्थी भएर बाध्यकारी अवस्था सिर्जना गर्ने भनेको बाबुराम भट्टराई र हिसिला यमीहरु हुन् । यिनीहरुको विरुद्धमा जनता जाग्नुपर्छ ।’

आन्दोलनमा सहभागी हुन पुगेका अध्यक्ष भट्टराईले भने शरणार्थी प्रकरणमा फरार रहेका एमाले सांसद टोपबहादुर रायमाझी भागेर गलत गरेको बताए । रायमाझीलाई इंगित गर्दै भट्टराईले भने, ‘आफू अपराधी छैन भने भाग्नु पर्दैन, भागेपछि बेठिक भयो ।’

नागरिक समाजले गरेको स्वतस्फूर्त प्रदर्शनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुगेका थिए । त्यहाँ पनि केही प्रदर्शनकारीले लामिछानेमाथि नैतिक प्रश्न उठाएका थिए ।

नागरिक समुदायका तर्फबाट आयोजना गरिएको प्रदर्शनमा लामिछानेको सहभागितालाई लिएर केही व्यक्तिले उनको नागरिकता र पासपोर्ट प्रकरणबारे प्रश्न उठाएका थिए ।

नक्सालको प्रदर्शनमा नेपाली कांग्रेसका कार्यकर्ताले पनि ऐक्यबद्धता जनाएका थिए । त्यसैगरी पोखरामा पनि भ्रष्टाचारको विरोधमा प्रदर्शन गरिएको छ ।

सम्बन्धित समाचार...

माइतीघरमा भ्रष्टाचारविरुद्ध प्रदर्शन

आफू अपराधी छैन भने भाग्नु पर्दैन : बाबुराम भट्टराई


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.