भुटानी शरणार्थी प्रकरणमा संलग्‍न १२ जनालाई अनुसन्धानका लागि ४ दिन म्याद थप

वैशाख ३१, २०८० |रमेश धमला
भुटानी शरणार्थी प्रकरणमा संलग्‍न १२ जनालाई अनुसन्धानका लागि ४ दिन म्याद थप

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्‍न १२ जनालाई थप अनुसनधानका लागि ४ दिन म्याद थपिएको छ । यस प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ गरिएका पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १२ जनालाई ४ दिन अझै हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद थप गरिएको हो । 

नेपालीलाई  नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री खाण, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझीका छोरा सन्दीप र पूर्वगृह सचिव टेकनारायण पाण्डेसहित १२ जनालाई म्याद थपका लागि आजै काठमाडौँ जिल्ला अदालत लगिएको थियो ।

यसै प्रकरणको गिरोहमा मुछिएका पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ । तर उनी फरार छन् । त्यस्तै यही प्रकरणमा नेपाली कांग्रेसका पूर्वसभासद आङटावा शेर्पा र पूर्वगृहमन्त्री थापाका छोरा प्रतीकविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ ।

२०७६ सालमा थापा गृहमन्त्री भएकै बेला भुटानी शरणार्थी समस्या समाधानका लागि भन्दै कार्यदल बनेको थियो । त्यति बेलाबाटै थापाका छोरा प्रतीकको संलग्नता देखिएपछि प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएको हो ।

थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईले दिएको बयान र प्रमाणका आधारमा प्रतिकलाई पनि कारबाहीको दायरामा ल्याउनु पर्ने निष्कर्षमा प्रहरी पुगेको हो । प्रतीकको सम्बन्ध बिचौलिया सन्देश शर्मासँग रहेको पनि प्रहरी स्रोतको दाबी छ ।

संगठित अपराधको मुद्धामा ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सकिने कानुनी व्यस्था भएकाले आगामी सातासम्म अनुसन्धान सक्ने प्रहरीको तयारी छ । गृह मन्त्रालयका केही कर्मचारीसहित अनुसन्धानको घेरामा रहेका अन्यका विरुद्ध पक्राउ गर्ने समय अपुग भए पनि प्रतिवादी बनाएर मुद्दा लैजाने प्रहरीको योजना छ । सांसदहरु आरजु देउवा तथा मन्जु खाणको संलग्नता पनि प्रहरी अनुसन्धानकै घेरामा छ । पूर्वमन्त्री खाणको बयान र अन्य केही प्रमाणबाट आरजुको संलग्नता खुलाउने प्रयास भइरहेको प्रहरी स्रोतको दाबी छ ।

थप समाचार...

पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी

नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणको आर्थिक कारोबारमा प्रहरीको अनुसन्धान

माइतीघरमा भ्रष्टाचारविरुद्ध प्रदर्शन

भ्रष्टाचारविरुद्ध नागरिक समाजको प्रदर्शनमा दलका नेता पुगेपछि...

आफू अपराधी छैन भने भाग्नु पर्दैन : बाबुराम भट्टराई


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।