काठमाडौं । भ्रष्टाचारविरुद्ध काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ । शनिबार बिहान ११ बजे माइतीघर मण्डलमा प्रदर्शन भएको हो ।
भ्रष्टाचारीहरुलाई तत्काल कानूनी दायरामा ल्याइ कारबाही गर्न माग र्गै बिरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी, विवेकशील साझा पार्टीका मिलन पाण्डे, रन्जु दर्शनालगायत सयौँ मानिस सहभागी भएका छन् ।
नागरिक अगुवासहितको टोलीले माइतीघरमा जम्मा भइ भ्रष्टाचारविरोधी विभिन्न सांगीतिक प्रस्तुतिसमेत दिएका छन् । विरोध प्रदर्शनमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आसिम शाहले आफूले यस प्रकरणबारे संसदमा पनि आवाज उठाएको र अहिले नागरिकस्तरबाट आवाज आइरहेकाले सशक्त रुपमा सदन र सडकमा उभिएको जनाए । उनले राजनीतिको परिभाषा नै पैसा कमाउने हो भन्ने प्रवृत्ति देखिएकाले यस्तो प्रवृत्ति चिर्न आवश्यक रहेकोमा जोड दिए । प्रदर्शनप्रति ऐक्यबद्धता जनाउन रास्वपा सभापति रवि लामिछाने पनि माइतीघर पुगेका छन् ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करोडौँ रकम ठगी प्रकरणमा राजनीतिक उच्चपदस्थ व्यक्तिहरु धमाधम पक्राउ पर्न थालेपछि भ्रष्टाचारविरोधी प्रदर्शन बढ्दै गएको छ ।
शरणार्थी प्रकरणमा हालसम्म पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वउपप्रधानमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलगायत १२ जना पक्राउ परिसकेका छन् ।
टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपनि उनी फरार छन् । रायमाझीलाई प्रहरीले खोजी गरिरहेको छ ।
यस्तै यो प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा र खाणकी पत्नी मञ्जुको नाम पनि जोडिएको छ । उच्च राजनीतिक तहबाटै भ्रष्टाचार हुने गरेको भन्दै माइतीघरमा दलका नेताविरुद्ध नारा लागेको छ ।