काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरिएको प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला अदालत, काठमाडौंले उनलाई पक्राउ गर्न पुर्जी दिएको स्रोतले बतायो । बुबा गृहमन्त्री भएका बेला प्रतीकले मानव बेचबिखन गिरोहबाट आर्थिक लाभ लिएर अनुचित कार्य गरेको प्रहरीले प्रमाण जुटाएकाले पक्राउ पुर्जी जारी गरिएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्चपदस्थहरु धमाधम पक्राउ पर्न थालेसँगै उनी फरार छन् । यसअघि पक्राउ परेका पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईको बयानपछि प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
यस्तै, उक्त प्रकरणमा नेपाली कांग्रेसका पूर्वसभासद आङतावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । शरणार्थी प्रकरणको गिरोहका नाइके हिरासतमा रहेका सानु भण्डारीलाई भेटेका उनीमाथी पक्राउ पुर्जी जारी भएको काठमाडौं प्रहरी स्रोतले जानकारी दियो । उनी २०७० सालमा रामेछापबाट सांसदमा निर्वाचित भएका थिए ।
यस प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझीका छोरा सन्दीप, पूर्वगृह सचिव टेकनारायण पाण्डे पक्राउ परिसकेका छन् । यस प्रकरणको गिरोहका नाइकेको रुपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी, पाँचथरका टेक गुरुङ र मोरङका सागर राईलाई प्रहरीले पक्राउ गरेको थियो ।
पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । उनी भने फरार छन् ।
नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणको आर्थिक कारोबारमा प्रहरीको अनुसन्धान
माइतीघरमा भ्रष्टाचारविरुद्ध प्रदर्शन
भ्रष्टाचारविरुद्ध नागरिक समाजको प्रदर्शनमा दलका नेता पुगेपछि...