५ वर्षमा आविष्कार केन्द्रले १४ करोडजति खर्च गर्‍यो : महावीर पुन (भिडियो)

वैशाख १९, २०८० |कान्तिपुर टीभी संवाददाता
५ वर्षमा आविष्कार केन्द्रले १४ करोडजति खर्च गर्‍यो : महावीर पुन (भिडियो)

काठमाडौं । सामाजिक अभियन्ता एवं राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले माइतीघरमा गरेको आन्दोलन सरकारसँगको सहमतिपछि टुंगिएको छ । सरकारले एक प्रतिशत बजेटको अनुसन्धान कोष बनाउने, आविष्कार र अनुसन्धानलाई टेवा दिने कानुन बनाउनेलगायत माग पूरा गर्ने लिखित सहमति गरेको हो । आन्दोलनका क्रममा माइतीघरमा धर्ना बसेकै बेला पुनसँग कान्तिपुर टेलिभिजनकर्मी सुविन्द्र श्रेष्ठले सोमबार गरेको कुराकानीको सारांश यहाँ प्रस्तुत गरिएको छ -

अहिलेसम्म राष्ट्रिय आविष्कार केन्द्रले के-के अनुसन्धान गरेको छ ? के-के काम गरेको छ ?

राष्ट्रिय आविष्कार केन्द्रले अहिलेसम्म केही ठूलो काम गरेको छैन । राष्ट्रिय आविष्कार केन्द्रले सिक्दै छ । अहिलेसम्म पाँच वर्ष भयो, हामीले विभिन्न क्षेत्रका सानातिना कुराहरु, कृषि क्षेत्र, स्वास्थ्य, शिक्षा, खाद्य क्षेत्रजस्ता विभिन्न क्षेत्रका विभिन्न किसिमका सानातिना अनुसन्धानहरु गरेका छन्, गर्दै छन् । र, अनुसन्धान कसरी गर्ने भन्ने कुरा सिक्दै छन् ।

यसलाई हामी व्यवहारिक अनुसन्धान भन्छौं । यो व्यवहारिक अनुसन्धानको काम अहिलेसम्म नभएको हुनाले सिक्नुपर्छ । यो अनुसन्धान गर्ने, गराउने यो मुद्दा राष्ट्रिय आविष्कार केन्द्रको मात्र मुद्दा होइन । यो राष्ट्रिय आविष्कार केन्द्रका लागि त अहिलेसम्म हामीले सरकारलाई सहयोग मागेकै होइन । यो आन्दोलन राष्ट्रिय आविष्कार केन्द्रका लागि सहयोग मागेको होइन । देशको प्रतिभा भएको जोसुकैले, जहाँसुकै बसेर पनि आफ्नो विषयमा अनुसन्धान गर्न पाओस्, अनुसन्धान गरेर उद्यमी बन्न पाओस् र देशको अर्थतन्त्रमा टेवा पुर्याओस् भनेर हामीले आन्दोलन गरेको हो ।

सोसल मिडिया, फेसबुकतिर मैले फाटफुट के देख्छु भने महावीर पुनलाई पैसा पुगेन छ, अनि अनुसन्धान गर्न थाल्यो भनिराखेको छ क्या । यो महावीर पुनको कुरा होइन, यो राष्ट्रको कुरा हो । राष्ट्रलाई समृद्ध बनाउने कुरा हो । र, अन्तिममा कहाँ गएर जोडिन्छ भने यो आन्दोलनचाहिँ राष्ट्रको अस्तित्व जोगाउनका लागि हो । यो आन्दोलन गरेर राष्ट्रको अस्तित्व कसरी जोगिन्छ भन्ने मूर्खहरु पनि छन् यहाँ । र, थाहा नपाउनेहरु पनि छन् ।

राष्ट्रको अस्तित्व राख्नका लागि देशको अर्थतन्त्र दरिलो हुनुपर्छ । र, अर्थतन्त्र दरिलो बनाउन यो अनुसन्धान, आविष्कार र नवप्रवर्तन भन्ने चिजचाहिँ गर्नुपर्छ । यो नगरीकन अर्थतन्त्र दरिलो हुन त के, बन्दै बन्दैन । अझै दरिलो बनाउन त अझै धेरै आविष्कार अनुसन्धानहरु गर्नुपर्छ । त्यसकारण यो अभियान राष्ट्रका लागि हो । आविष्कार अनुसन्धान गरेर देशमा व्यवसायहरु निकाल्नुपर्यो । उद्यमीहरु निकाल्नुपर्यो । देशमा रोजगारी सिर्जना गर्नुपर्यो भन्ने यसको मुख्य उद्देश्य हो ।

सरकारले नास्टलगायतका अनुसन्धान केन्द्रहरुलाई वर्षौंदेखि बजेट छुट्याउँदै आएकाके छ, यसलाई चाहिँ कसरी लिनुहुन्छ ?

अहिले जुन नास्टले काम गरिराखेको छ र अरु किसिमका अनुसन्धानका कामहरु अलिअलि भइराखेका छन्, तर त्यो सबै नाम मात्रको भएको छ । अनुसन्धान गरिसकेपछि अनुसन्धान गर्नेहरुलाई हौसला दिने, उनीहरुलाई आवश्यक सहयोग, मद्दत गर्ने भन्ने किसिमको अहिलेसम्म कानुन छैन ।

मैले भनिराखेको छु, यो आन्दोलन भनेको कानुन बनाउन आन्दोलन हो क्या । हामीले भने अनुसारको कानुन भयो भने नास्टले पनि राम्रोसँग काम गर्न सक्छ । अन्य अनुसन्धान केन्द्रहरुले पनि राम्रोसँग, सहज तरिकाले काम गर्न सक्छन् । अहिले त उनीहरुको केन्द्र खोलिदिएको छ, अनि हात खुट्टा बाँधिदिएको छ । हात खुट्टा बाँधेर केन्द्र खोलेर मात्रै त्यसले कसरी काम गर्न सक्छ ? त्यो केले बाँधिदिएको छ भन्दाखेरि कानुनले । उनीहरु भनेअनुसार सहज तरिकाले अनुसन्धान गर्न सक्दैनन्, आविष्कार गर्न सक्दैनन् । गर्न खोज्यो भने पनि सक्दैनन् ।

त्यसकारणले यी सबै कुराहरु कानुनसँग सम्बन्धित छन् । यो कानुन बन्यो भने प्राइभेट अनुसन्धान केन्द्र, सरकारी अनुसन्धान केन्द्रहरु, मुनाफा वितरण नगर्ने अनुसन्धान केन्द्रहरु त्रिभुवन विश्वविद्यालयजस्ता विश्वविद्यालयका अनुसन्धान केन्द्रहरु, सबैलाई सजिलो बाटोको सिर्जना गर्छ यसले । अनिमात्र देशमा अनुसन्धान, आविष्कार हुन्छ, अर्थतन्त्र बढ्छ र देशको अस्तित्व बच्छ ।

अनुसन्धान आविष्कार गर्ने कार्यमा कति खर्च लाग्छ ?

यो घर बनाउने हैन । घर बनाउने हो भने यति पैसाले बन्ने भन्ने हुन्छ । यति किलोमिटर बाटो यति पैसाले बन्ने भन्ने हुन्छ । एउटा पुल यति पैसाले बन्ने भन्ने हुन्छ । अनुसन्धान आविष्कार भन्ने चिजलाई जति पैसा भए पनि पुग्दैन । तर, जति पैसा भए पनि पुग्दो रहेनछ, सुरु नै नगरौं भनेर त भएन । यो एक-दुई वर्षको प्रोजेक्ट होइन । यो पृथ्वीमा मानिस रहुन्जेलसम्म मानिसलाई केही न केही चिज चाहिन्छ । त्यसैलाई पूरा गर्न अनुसन्धान गर्नैपर्छ । पैसाको त खोला बगाउनुपर्छ । तर, नभएको पैसा त केको खोला बगाउने ? आफूसँग जे जति गर्न सकिन्छ, त्यसको खोला बगाउने हो ।

यसका लागि आर्थिक उपार्जन बढाउनुपर्यो होला ?

यसका लागि भएकै पैसाको व्यवस्थापन गर्ने । मेरो माग के छ त भन्दा विकास गर्नका लागि जो विकास बजेट छुट्याउँछौ, त्यसको १ प्रतिशत छुट्याउँ भनेको छ । मैले विकास बजेटको आधा अनुसन्धान केन्द्रका लागि छुट्याउँ, आधाले विकास गर त भनेको छैन । एक प्रतिशत छुट्याउँभन्दा पनि यिनीहरुको दाँतबाट पसिना झर्छ । यो एक प्रतिशतले अनुसन्धान आविष्कार गर्नलाई छोप पनि हुँदैन । पछि सरकारले दुई प्रतिशत, तीन प्रतिशत बढाउँदै लैजानुपर्छ ।

युवाहरुलाई अनुसन्धानमा कसरी लाग्नुपर्छ भनेर सुझाव दिनुहुन्छ ?

यो त सिक्दै जाने कुरा हो । अनुसन्धान नवप्रवर्तनमा यसै गरेर लाग्ने भन्ने हुँदैन । यो नेपालको कुरा मात्र होइन, संसारको कुरा हो । सिक्दै जाने । किनभने एउटा तरिका हुँदैन यसको । यो सिकर्मीले यसरी काठको काम गर्ने, डकर्मीले यसरी काम गर्ने भनेजस्तो हुँदैन । यसमा अनेकौं तरिका, अनेकौं उपाय हुन्छ, त्यसको भनेर साध्य नै छैन । त्यो कुरा गर्नका लागि एउटा वातावरण तयार गरिदिनुपर्छ । र, यो वातावरण तयार गर्ने हो । सिकाउने हैन, वातावरण तयार गर्दियो भने अनुसन्धान गर्नेहरुले जे गर्ने हो, आफ्नै तरिकाले गर्छन् । वातावरण बनाउनका लागि ठाउँ चाहिन्छ । यो त व्यक्तिले गर्ने होइन, सरकारले गर्ने कुरा हो । वातावरण बनाइदियो भने नेपालीहरु विदेश पलायन हुँदैनन् । यो कुरा दिमागमा आउनुपर्छ ।

आविष्कार केन्द्रमा आइडिया लिएर आउनुपर्छ, त्यहाँ जागिर खान जाने होइन । आइडिया लिएर आउनुपर्छ र त्यो आइडिया राम्रो हुनुपर्छ । त्यो आइडिया सफल भयो भने उनीहरु उद्यमी, व्यवसायी बन्नुपर्छ ।

राष्ट्रिय आविष्कार केन्द्रको खर्चचाहिँ कसरी चलिरहेको छ ?

खर्चचाहिँ जनताले जुटाइदिएको छ । आविष्कार केन्द्र भनेको यो पढाउने ठाउँ होइन । यो तालिम दिने ठाउँ होइन । आफू आउने हो, केमा अनुसन्धान गर्ने, आफैंले बसेर निरन्तररुपमा काम गर्ने हो । जहाँको अनुसन्धान केन्द्रमा पनि गर्नेचाहिँ त्यही हो । यो युनिभर्सिटीजस्तो, तालिम केन्द्रजस्तो गएरु तालिम लिने, पढाउने, पढ्ने भन्ने हुँदैन यसमा । यही अनुसार हामीले राष्ट्रिय आविष्कार केन्द्र पनि चलाइराखेको छ । तर, एकदम अचम्मको कुरा र हाम्रो सौभाग्यको कुरा के छ भन्दाखेरि अहिलेसम्म हामीलाई जनताले खर्च जुटाइदिएको छ ।

पाँच वर्षमा कति खर्च भयो ?

पाँच वर्षमा अहिलेसम्म १३/१४ करोड रुपैयाँ खर्च भइसक्यो ।

कोभिडका बेलामा पनि आविष्कार केन्द्रले भेन्डिलेटरहरु मर्मत गरेको थियो हैन ?

त्यो त सामाजिक काम हो । त्यो आविष्कारको काम होइन । कोभिडका बेलामा देशलाई, समाजलाई परेको दुःखलाई अलिकति मा गर्दिऔं भनेर गरेको सामाजिक काम हो । त्यो आविष्कार केन्द्रले गर्नुपर्ने थिएन, तर हामीले दुःख देखेर गरेको हो । कृषि औजार कारखानाको जुन काम छ, त्यो पनि सरकारको दुःख देखेर गर्दिएको काम हो ।

यो पनि...

अनुसन्धान र आविष्कारका लागि सरकार गम्भीर भएन भन्दै महावीर पुन आन्दोलनमा (भिडियोसहित)
सांसदहरुले काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने महावीर पुनको चेतावनी
सरकारसँगको ७ बुँदे सहमतिपछि महावीर पुनको धर्ना स्थगित


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.