काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आफ्नो पार्टीलाई हलुका रूपमा नलिन चेतावनी दिनुभएको छ । गठबन्धन दलका रूपमा सहज दल भए पनि कांग्रेसलाई 'टेकन फर ग्रान्टेड'का रूपमा लिन नहुने महतको भनाइ छ ।
कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम फायरसाइडमा कुरा गर्दै प्रवक्ता महतले सरकारका निर्णय प्रक्रियाहरूमा कांग्रेसको सहभागिता सुनिश्चित गर्न र नागरिकमुखी भएर सेवा प्रवाह सुधार गर्न एमाले नेतृत्वको सरकारलाई सुझाव पनि दिनुभयो ।
निजामती सेवा विधेयकमा छेडखानी भएको सन्दर्भमा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले नैतिकता देखाउन नसकेकोमा पार्टी समेत चुप बसेको सन्दर्भमा महतले नैतिकता भन्ने विषय व्यक्तिगत भएको जिकिर गर्नुभयो । छानबिन समितिले दोषी देखाए कारबाही भोग्न तयार रहेको बताएका कारण छोडिएको भन्दै महतले खतिवडाको बचाउ गर्नुभयो ।
प्रवक्ता महतले अर्को वर्षको मंसिरमा महाधिवेशन नहुने पनि स्पष्ट पार्नुभयो। आज राति ९ बजे प्रसारण हुने कार्यक्रम फायरसाइडमा महतलाई पार्टीको आगामी सभापतिका उम्मेदवारहरूबारे पनि प्रश्न गरिएको छ । मोहम्मद आफताब आलमलाई अदालतको सफाइ, ५२ संवैधानिक पदाधिकारी नियुक्तिसम्बन्धी मुद्दामा संवैधानिक इजलासको फैसला, भिजिट भिसा प्रकरणमा राजनीतिक नेतृत्वलाई उन्मुक्ति जस्ता विषयमा पनि महतले आफ्ना धारणा राखेको कार्यक्रम कान्तिपुर टिभीको युट्युब च्यानल र कान्तिपुर टिभी एपमा पनि हेर्न सकिनेछ ।