काठमाडौं । शल्य चिकित्सकहरूले ठूला जलनका घटना भए नेपालका अस्पतालले धान्न नसक्ने बताएका छन् । विश्व प्लास्टिक सर्जरी दिवसको अवसरमा एसोसिएसन अफ प्लास्टिक सर्जन अफ नेपाल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान प्लास्टिक सर्जरी विभागले संयुक्त रूपमा गरेको पत्रकार सम्मेलनमा शल्यचिकित्सकहरूले नेपालमा जलनको उपचारमा राज्यले पर्याप्त मात्रामा सहयोग नगरेको जनाएका हुन् ।
जनशक्तिको अभाव, काठमाडौं केन्द्रित उपचार सेवा तथा जनचेतना अभावका कारण समस्या निम्तिएको उनीहरूको भनाइ छ ।
नेपालमा बर्सेनि ठूला-साना गरी ५० हजारको हाराहारीमा जलनका घटना हुने गरेका छन् । तर नेपालमा जलनसम्बन्धी काम गर्ने जनशक्ति ५० भन्दा कम छन् ।