फायरसाइडमा प्रकाशशरण महत : के कांग्रेससँग मुलुक हाँक्ने ऊर्जा बाँकी छ ?

असार २३, २०८२ |रुपेश श्रेष्ठ
फायरसाइडमा प्रकाशशरण महत : के कांग्रेससँग मुलुक हाँक्ने ऊर्जा बाँकी छ ?

संसद्‌को ठूलो दल नेपाली कांग्रेससहित नेकपा एमाले नेतृत्वको सत्ता गठबन्धन निर्माण भएको एक वर्ष पुग्न लागेको छ । सुशासन र अर्थतन्त्र सुधार एवं संविधान पुनरावलोकनसहित संशोधनको मूल उद्देश्य लिएर गठन भएको नयाँ सरकारले बितेको वर्ष आफैंले लिएका तीन वटै कार्यभारमा सन्तोषजनक प्रगति देखाउन सकेको छैन । 

सत्ता गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक चलिरहँदा सरकारको काम र पार्टीको भूमिकाका विषयमा मात्र प्रश्न उठेको छैन, पार्टीको नेतृत्वबीचमै आरोपप्रत्यारोप चलिरहेको छ । सरकारमा पार्टीको सहभागिताको औचित्य पुष्टि हुने आधार कांग्रेस पार्टी पंक्तिले खोजिरहेको छ । नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिइरहेको समर्थन फिर्ता लिएको छ, जनता समाजवादी पार्टीले त्यस्तै निर्णय गर्दैछ । यसले पनि सरकार नैतिक रूपमा संकटमा फस्दै गएको पुष्टि हुन्छ । 

सरकारमा आफ्नो कमजोर उपस्थितिकै कारण ८४ को निर्वाचनमा कमजोर हुने डर पनि कांग्रेसीजनमा फैलिएको छ । अर्कोतर्फ विधानबमोजिम ०८३ को मंसिरभित्रै महाधिवेशन गर्नुपर्नेमा पार्टीको एउटा समूहले पैरवी गरिरहँदा पार्टीका भ्रातृ संगठनहरू पनि लथालिङ्ग छन् । सत्ताको नेतृत्व पर्खिरहेको नेपाली कांग्रेस के सोचिरहेको छ ? कांग्रेसकै जिम्मेवार नेता भन्छन– पार्टीभित्र एकता छैन । पार्टीभित्र अनुशासन छैन । नैतिकता हराउँदै गयो । व्यापारी र बिचौलियाको प्रभावले पार्टीदेखि सरकारसम्म थिलथिलो भयो । यस्तोमा के अब कांग्रेससँग मुलुक हाँक्ने ऊर्जा बाँकी छ ?

फायरसाइडको आजको अंकमा हामी यिनै प्रश्नको उत्तर खोज्नेछौं । र आज हामीसँग हुनुहुन्छ, नेपाली कांग्रेसमा प्रवक्ता प्रकाशशरण महत ।

हेर्नुहोस् कार्यक्रम फायरसाइड :


Image

रुपेश श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका नायब समाचार प्रमुख हुन् ।