फायरसाइडमा शंकर पोखरेललाई प्रश्न : विद्या भण्डारीलाई कसरी रोक्नुहुन्छ ?

असार ३०, २०८२ |रुपेश श्रेष्ठ
फायरसाइडमा शंकर पोखरेललाई प्रश्न : विद्या भण्डारीलाई कसरी रोक्नुहुन्छ ?

काठमाडौं । पार्टी राजनीतिमा फर्किने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयको विपक्षमा हुनुहुन्छ, एमाले महासचिव शंकर पोखरेल । भण्डारी र पोखरेल कम्युनिस्ट राजनीतिका सहयात्री हुन् । तर राष्ट्रप्रमुख भइसकेको व्यक्ति राजनीतिमा फर्किनुले गणतन्त्रको मर्यादामा आँच पुग्ने पोखरेलको तर्क छ ।

भण्डारीको घोषणाअघि के पोखरेलले विधानमै व्यवस्था गरेर भण्डारीलाई पार्टीमा फर्किने बाटो बन्द गर्ने प्रस्ताव लैजानुभएको थियो ? के थियो प्रस्ताव ? कसरी असफल भयो त्यो प्रस्ताव ?

कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम फायरसाइडमा रूपेश श्रेष्ठसँग कुरा गर्दै भण्डारीले एमालेले भण्डारीलाई औपचारिक रूपमा स्वागत गर्नेबारे छलफल भइनसकेको बताउनुभयो ।

विधान महाधिवेशनको तयारीमा रहेकाले अहिले पार्टीको नेतृत्वबारे बहस गर्ने बेला नभएको बताउँदै आउनुभएको पोखरेलको भनाइ छ, “विधान महाधिवेशनपछि हामी राष्ट्रिय महाधिवेशनमा जान्छौं । विधान महाधिवेशनपछि नेतृत्वकोबारे बहस गरौं ।”

७० वर्षे उमेर हद अब हटाउने कि राख्ने ?

“मुकुन्द न्यौपानेलाई पार्टीमा स्थान बनाउनका लागि केन्द्रीय कमिटिले विधानमा राखिएको ७० वर्षको उमेर हदलाई निलम्बन गरिएको थियो”, पोखरेलको भनाइ छ, “अब विधान महाधिवेशनले त्यसलाई अनुमोदन गर्नुपर्ने छ । केन्द्रीय कमिटीले त्यो प्रस्ताव लैजान्छ ।”

अध्यक्ष केपी ओलीलाई फेरि अध्यक्षको रूपमा दोहोर्‍याउन बाटो खोल्ने कि रोक्ने भन्ने तय गर्न सक्ने यही प्रावधानले विद्या भण्डारीको पार्टीमा भूमिका र भावी रणनीति तय हुने बुझिन्छ । तर महासचिव पोखरेल के चाहनुहन्छ ? आज राति ९ बजे प्रसारण हुने कार्यक्रममा उहाँलाई सोधिएको छ- एमालेमा विद्या भण्डारीलाई रोक्न विधान महाधिवेशनमा के के लैजाँदै हुनुहुन्छ ?

सरकारले बितेको एक वर्षमा स्थायित्वको सन्देश दिएको पोखरेलको दाबी छ । सुशासन र अर्थतन्त्र सुधारमा उल्लेख्य काम गरेको दाबी गर्नुभएका पोखरेलले सेवा प्रवाहमा अझै काम हुन नसकेको स्वीकार गर्नुभयो । संविधान संशोधन गर्ने विषय ७ बँदे सहमतिमा उल्लेख गरिए पनि अहिले त्यसको प्रक्रिया सुरु गर्ने बेला नभएको उहाँले बताउनुभयो ।

पोखरेलसँगको पूरा अन्तर्वार्ता राति ९ बजे प्रसारण हुनेछ । कान्तिपुर टिभीको युट्युब च्यानल वा Kantipur TV App मा पनि कार्यक्रम फायरसाइड हेर्न सकिन्छ ।


Image

रुपेश श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका नायब समाचार प्रमुख हुन् ।