काठमाडौं । ७० वर्षको उमेर हद र दुई कार्यकालको विषयले नेकपा एमालेमा ध्रुवीकरण बढाउनेमा महासचिव पोखरेलको भनाइले पनि पुष्टि गरेको छ । अघिल्लो विधान महाधिवेशनले नेतृत्वमा ७० वर्षको उमेर हदको व्यवस्था गरेको भए पनि केही नेतालाई भित्र्याउन विधानको सो व्यवस्था निलम्बन गरिएको थियो ।
केन्द्रीय कमिटीले त्यो निर्णयलाई आउने विधान महाधिवेशनमा अनुमोदनका लागि प्रस्ताव गर्ने महासचिव पोखरेलले जानकारी दिनुभयो । कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम फायरसाइडमा कुरा गर्दै महासचिव पोखरेलले विधान महाधिवेशनले गर्ने निर्णयले नै उमेर हदको भविष्य निर्क्योल गर्ने बताउनुभएको हो ।
उमेर हद निलम्बनको केन्द्रीय कमिटीको कदमका सम्बन्धमा गर्ने विधान महाधिवेशनले गर्ने निर्णयले त्यसपछि हुने नेतृत्वको बहसलाई सिधा असर पर्ने देखिएको हो । राष्ट्रप्रमुख भइसकेको व्यक्ति राजनीतिमा फर्किँदा गणतन्त्रको साखमै असर पर्ने आफ्नो तर्क भए पनि आफूले भण्डारीलाई रोक्ने गरी विधानमा व्यवस्था गर्ने प्रस्ताव नगरेको पोखरेलले स्पष्ट पार्नुभयो । तर एमालेले संस्थागतरूपमा भण्डारीलाई स्वागत गरेको छैन ।
महासचिव पोखरेलले ओली नेतृत्वको सरकारको एक वर्ष सरकार ढल्छ भन्ने भाष्यको प्रतिवाद गर्दै बितेको पनि बताउनुभयो ।
आज राति ९ बजे प्रसारण हुने कार्यक्रम फायरसाइडमा सरकारको एक वर्षको कामको समीक्षा गरिएको छ । साथै, विद्या भण्डारीको सक्रिय राजनीतिमा फर्किएको घोषणापछि एमालेमा सुरु भएको बहसका बारेमा विश्लेषण गरिएको छ । कार्यक्रम कान्तिपुर टेलिभिजनको युट्युब च्यानलका साथै कान्तिपुर टिभी एपमा पनि हेर्न सकिनेछ ।