विश्व टेनिसमा अब यानिक सिन्नर र कार्लोस अल्काराजको युग सुरु

असार ३१, २०८२ |फायज होदा
विश्व टेनिसमा अब यानिक सिन्नर र कार्लोस अल्काराजको युग सुरु

काठमाडौं । विश्व टेनिसमा लामो समयदेखि रोजर फेडेरर, राफायल नडाल र नोभाक जोकोभिचले एकछत्र राज गर्दै आएका थिए । तर अब विश्व टेनिसमा नयाँ पुस्ताका दूई खेलाडी यानिक सिन्नर र कार्लोस अल्काराजले प्रभाव जमाउन थालेका छन् । दुवै २५ वर्षभन्दा कम उमेरका छन् र वर्तमानमा प्रमुख प्रतिस्पर्धीका रूपमा अघि बढिरहेका छन् ।

विश्व नम्बर एक इटालियन खेलाडी यानिक सिन्नरले दुई पटकको डिफेन्डिङ च्याम्पियन कार्लोस अल्कारेजलाई हराउँदै पहिलो पटक विम्बल्डनको उपाधि जितेका छन् । यस वर्षको सुरूमा तीन महिनाको डोपिङ प्रतिबन्ध भोगेका सिन्नरले आफ्नो करियरको चौथो ग्रान्ड स्लाम उपाधि जितेका छन् र हार्ड कोर्टमा बाहेक पहिलो ग्रान्ड स्लाम हासिल गरेका छन् । 

यससँगै अल्काराज-सिन्नर प्रतिद्वन्द्वीताले रोचक मोड लिएको छ । यसअघि उनी कार्लोस आल्कारेजसँग फेन्च ओपनमा ५ सेटमा पराजित भएका थिए ।

सिन्नरको जितले अल्काराजसँग लगातार पाँच पटक पराजित भएको चोट पनि तोडिएको छ । अल्काराजलाई विम्बल्डनमा हराएसँगै अब सिन्नरले चारवटा ग्रान्ड स्लाममध्ये तीन वटा जितेका छन् । यद्यपि उनीहरूबीचको हेड-टु-हेडमा सिन्नर ५-८ ले पछि छन् । स्पेनका अल्काराजसँग अझै पनि पाँच वटा ग्रान्ड स्लाम छन् भने सिन्नरसँग चारवटा । तर यदि सिन्नरले सेप्टेम्बरमा हुने युएस ओपनको उपाधि रक्षा गर्न सके भने, ग्रान्ड स्लामको सङ्ख्या बराबरी हुनेछ ।

सिन्नर र अल्काराजबीचको प्रतिस्पर्धाले टेनिसको नयाँ युगलाई स्पष्ट रूपले परिभाषित गर्न थालेको छ । सिन्नरको हालको विम्बल्डन जितले केवल उनको क्षमताको प्रमाण दिएको छ र अल्काराजविरुद्धको मनोवैज्ञानिक बाधा पनि तोडेको छ । 

दुवै युवा खेलाडी अहिलेको खेल जगतका मुख्य आकर्षण हुन्, र उनीहरूको हरेक भेटमा दर्शकले भविष्यका महान् प्रतिस्पर्धाको झल्को पाउने गरेका छन् । यदि सिन्नरले युएस ओपन डिफेन्ड गर्न सफल भए भने, उनीहरूले साझा रूपमा ग्रान्ड स्लाम उपाधिको सङ्ख्यामा बराबरी गर्नेछन् । जसले यो प्रतिस्पर्धा झनै चर्को, ऐतिहासिक र रोमाञ्चक बनाउनेछ । टेनिस अब नयाँ युगमा प्रवेश गरिसकेको छ, जहाँ सिन्नर र अल्काराजको भिडन्तले दशकौंसम्म खेलप्रेमीको मुटु धड्काउने सङ्केत देखाएको छ ।


Image

फायज होदा

फायज कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन्