के प्रिगोजिनलाई कारबाही गर्ने पुटिनको वाचा पूरा भएको हो ?

भाद्र ८, २०८० |मिमराज पाण्डेय
के प्रिगोजिनलाई कारबाही गर्ने पुटिनको वाचा पूरा भएको हो ?

काडमाडौं । भ्लादिमिर पुटिनको २२ वर्षे शासनकालमा सबैभन्दा ठूलो विद्रोह छेडेका निजी सैन्य समूहका कमान्डर यभ्गेनी प्रिगोजिनको बुधबार एक निजी विमान दुर्घटनामा मृत्यु भयो ।

रुसको राजधानी मस्कोबाट सेन्ट पिटर्स्बर्गका लागि उडेको विमान रहस्यमय तरिकाले दुर्घटना भएको हो । रुसको सरकारी समाचार एजेन्सी ‘तास’का अनुसार मस्कोको उत्तरपश्चिमी क्षेत्र टिभेर नजिकैको कुजेन्किनो गाउँमा विमान दुर्घटनामा परेको हो । दुर्घटनामा प्रिगोजिनसहित विमानमा सवार १० यात्रुको पनि मृत्यु भएको रुसको सङ्घीय हवाई उड्डयन एजेन्सीले पुष्टि गरेको छ । विमानमा रहेका व्यक्तिको सूचीमा वाग्नर ग्रुपका एक अर्का प्रमुख कमान्डर दिमित्री उत्किनको नाम पनि रहेको एजेन्सीले जनाएको छ । घटनास्थलबाट भेटिएका शवहरूको डीएनए परीक्षण र थप अनुसन्धान भने भइरहेको छ ।

को थिए प्रिगोजिन ?

यभ्गेनी प्रिगोजिन सन् १९८१ मा चोरी डकैतीको कसुरमा जेल परेका व्यक्ति हुन् । उनले त्यस बेला ९ वर्ष हिरासतमा बिताएका थिए । जेलबाट निस्किएपछि उनले सेन्ट पिटर्स्बर्गमा हटडग बेच्ने काम गर्थे । सन् १९९७ तिर प्रिगोजिनले एक रेस्टुरेन्ट पनि चलाए । रेस्टुरेन्टले उत्कृष्ट सेवा दिन थालेसँगै प्रिगोजिनले क्याटरिङका ठूल्ठुला ठेक्का पाउन थाले । त्यससँगै प्रिगोजिनको उच्च नेतृत्वसँगको कनेक्सन बन्यो ।

क्याटरिङ सेवा दिने प्रयोजनका खातिर प्रिगोजिन उच्च तहका सरकारी भ्रमणमा सामेल हुने मौका पाउँथे । उनले सन २००६ मा अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुस र २०१० मा रुसी राष्ट्रपति पुटिनजस्ता विश्व नेतालाईसमेत सर्भ गरे । पछि उनको भूमिका ‘क्याटरिङ सेवा’ प्रदायकको रूपमा मात्रै सीमित रहेन । हटडग बिक्रेता, रेस्टुरेन्ट सञ्चालक, केटरर, एक धनी व्यापारी हुँदै प्रिगोजिन सैन्य बलको कमान्डरसमेत हुन पुगे । जससँग निजी सेना थिए ।

कसरी जन्मियो वाग्नर ?

सन् २०१४ मा रुसले पूर्वी युक्रेनको नेनेक्समा आक्रमण गर्‍यो । त्यसमा प्रिगोजिन पनि सामेल थिए । त्यसैबेलादेखि प्रिगोजिन सैन्य बलसँग आबद्ध भएको पाइन्छ । २०१४ पछि एक बटालिएन बाट नै वाग्‍नर ग्रुपको उदय भएको रुसी थिङ्‍कट्‍याङ्‍कको विश्लेषण छ । प्रिगोजिन आफैले पनि गत वर्षको सेप्टेम्बरमा भनेका थिए- १ मे २०१४ मा एक देशभक्तहरूको समूह जन्मिएको थियो, जसले पछि ‘वाग्‍नर बटालियन’ नाम पायो ।

यस ग्रुपलाई रुसी इन्टेलिजेन्सको पनि अनियमित सहायता रहँदै आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा उल्लेख भएको भेटिन्छ । यस्तै ग्रुप विस्तार सँगै वाग्‍नरले आफ्ना सैनिकहरू युद्ध लड्नका लागि भाडामा पठाउन थालेको र सिरिया, लिबिया, सुडान, माली, मोजाम्बिकलगायतका देशमा पनि वाग्‍नरका गतिविधिहरू भेटिएको विभिन्न रिपोर्टहरूले देखाउँछन् । वाग्‍नरले विशेष गरी त्यहाँ सुरक्षा प्रदान गर्ने, हतियारमा सघाउने, तालिम र रिसर्चलगायतका गतिविधिमा सामेल हुने गरेको थियो । वाग्‍नर ग्रुपले २०१६ को अमेरिकी निर्वाचनसमेत प्रभाव पारेको एफबीआईले आरोप थियो ।

रुस-युक्रेन युद्धमा वाग्‍नर

रसियाले २४ फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण सुरु गर्‍यो । ५ सय ४७ दिनसम्म पनि युद्ध जारी नै छ । युक्रेन र रुसी सेनाहरू लडिरहेकै छन् । ‘रुस-युक्रेन युद्ध’मा रुसी सेनासँग मिलेर वाग्‍नर सेनाले महत्त्वपूर्ण योगदान गर्दै आएका छन् । उनीहरू अत्यन्त रक्तपातयुक्त तरिकाले लडेको सञ्चारमाध्यमले उल्लेख गर्दै आएका छन् । रुस-युक्रेन युद्धमा लगभग १० हजार वाग्‍नर लडाकु मारिएको संयुक्त राज्य अमेरिकाको अनुमान छ । तर युक्रेन लडाइँमा आफ्ना २० हजार सैनिक मारिएको वाग्नर ग्रुपको दाबी छ । यसरी युक्रेनविरुद्धको युद्धमा रुसलाई सघाउँदै आएको निजी सैनिक बटालियनका कमान्डर प्रिगोजिनको पछिल्लो समय रुसी रक्षा मन्त्री सोइगुसँग र सेना प्रमुख गेरासिमोभसँग सम्बन्ध बिग्रिँदै गएको थियो ।

वाग्‍नर विद्रोह

जसलाई सहयोग गरेको हो उसैको सेनाले आफ्नो शिविरलाई लक्षित गरी मिसाइल प्रहार गरेको भन्दै वाग्नर समूहले रुसी सैन्य नेतृत्वको आलोचना गर्दै आएको थियो । विभिन्न कुरामा असन्तुष्टि चुलिँदै गएपछि गत जुन महिनामा प्रिगोजिनले रुसी सैन्य नेतृत्वविरुद्ध विद्रोहको आह्वान गरेका थिए । त्यस बेला उनले रुसको रोस्तोभ-अन-डनका प्रमुख क्षेत्रहरू कब्जा गरेको र आफ्ना सेना राजधानी मस्कोतर्फ बढ्दै गरेको पनि घोषणा गरेका थिए ।

त्यसबीचमा रुसी राष्ट्रपति पुटिनले प्रिगोजिनलाई देशद्रोही घोषणा गर्दै उनलाई कारबाही गर्ने वाचा गरेका गरेका थिए । प्रिगोजिनको कदम आफ्नो ‘देश र जनताको पिठ्युँमा छुरा प्रहार’ सरह भएको पुटिनले बताएका थिए । अन्ततः रुसी सैन्य नेतृत्व हटाउन आफू ‘जुनसुकै हदमा जाने’ चेतावनी दिएका प्रिगोजिन विद्रोहको २४ घण्टाभित्रै नाटकीय रुपमा पछि हटेका थिए ।

प्रिगोजिन चढको विमान दुर्घटना बारे कसले के भने ?

प्रिगोजिन अन्तिम पटक करिब एक साताअघि अफ्रिकाबाट एउटा भिडियोमा देखा परेका थिए । केही अन्तर्राष्ट्रिय विश्लेषकले भने उक्त विमान दुर्घटना प्रिगोजिनले आफैले रचेको टिप्पणीसमेत गरेका छन् ।

यता दक्षिण अफ्रिकामा आयोजित ब्रिक्सको ३ दिने सम्मेलनको अन्तिम दिन भर्चुअल माध्यमाबाट उपस्थिति जनाएका रुसी राष्ट्रपति पुटिनले विमान दुर्घटना र प्रिगोजिनको मृत्युबारे विहीबार साँझ मात्रै मुख खोलेका छन् । रुसको सेन्ट पिटर्सबर्गमा भने प्रिगोजिनका लागि स्मारक बनाई श्रद्धाञ्जली दिने क्रम जारी छ ।

प्रिगोजिनले गम्भीर गल्ती गरे : राष्ट्रपति पुटिन

विमान दुर्घटना बारे राष्ट्रपति पुटिनले एक भिडियो सन्देशमार्फत सबै मृतकका परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्न चाहेको बताएका छन् । पुटिनले यभ्गेनी प्रिगोजिनलाई १९९० को दशकको सुरुदेखि नै चिनेको बताउँदै प्रिगोजिन एक प्रतिभाशाली व्यक्ति र एक प्रतिभाशाली व्यापारी रहेको टिप्पणी गरेका छन् ।

तर प्रिगोजिनले जीवनमा गम्भीर गल्ती गरेको राष्ट्रपति पुटिनको ठम्याइ छ । ‘प्रिगोजिन एक जटिल भाग्य भएका व्यक्ति थिए । उनले जीवनमा धेरै गम्भीर गल्तीहरू गरे,’ पुटिनले भने । उनले बुधबार भएको विमान दुर्घटना बारे अधिकारीहरूले आफूलाई बिहीबार मात्रै रिपोर्ट गरेको जनाएका छन् । ‘जहाँसम्म मलाई थाहा छ- प्रिगोजिन हिजो मात्रै अफ्रिकाबाट फर्केका थिए । उनले यहाँ केही अधिकारीहरूलाई भेटे । तर के कुरा स्पष्ट छ भने- आज बिहान मात्रै विमान दुर्घटना छानबिन समिति प्रमुखले मलाई रिपोर्ट गरे’, राष्ट्रपति पुटिनले बिहीबार भने ।

उनले उक्त दुर्घटनाको प्रारम्भिक अनुसन्धान सुरु भइसकेको र छानबिन पूर्ण रूपमा सम्पन्न गरिने पनि बताएका छन् । ‘परीक्षणहरू- प्राविधिक र जेनेटिक परीक्षणहरू अहिले भइरहेको छ । यसका लागि केही समय लाग्छ’, उनले भने । विमानलाई खसाल्नुका पछाडि रुस रहेको हुनसक्ने प्रतिक्रिया दिनेहरूप्रति भने पुटिनले कुनै टिप्पणी गरेका छैनन् ।

राष्ट्रपति पुटिनले सैन्य विद्रोहको नेतृत्व गरेका प्रिगोजिनको परिवारलाई भने बिहीबार समवेदना पठाएका छन् ।

रसियामा धेरै कुराहरू भएका छैनन् जसमा पुटिन पछाडि नहोउन् : राष्ट्रपति बाइडेन

यस घटनाबारे विभिन्न विश्व नेताहरूले भने छुट्टा छुट्टै प्रतिक्रिया दिएका छन् । वाग्नरका केही समर्थकहरूले यस घटनाको लागि रुस राज्य नै जिम्मेवार रहेको टिप्पणी गरेका छन् । विद्रोहको बदला लिन पुटिनले नै विमान खसाल्न चाहेको हुनसक्ने अनुमान हुन थालेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले भनेका छन्, ‘के भयो भन्ने तथ्य मलाई थाहा छैन तर मलाई अचम्म लागेको छैन । रसियामा धेरै कुराहरू भएका छैनन् जसमा पुटिन पछाडि नहोउन् ।’ यस्तै जर्मन विदेशमन्त्री एन्नालिना बाएरबकले भने क्रेमलिनबाट आउने कुनै पनि सूचनाको विश्वास गर्न नसकिने बताएकी छन् ।

यस्तै युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोडोल्याकले पुटिनले आफ्नो बदला लिने समयको प्रतीक्षा गरिरहेको टिप्पणी गरेका छन् । ‘हामीलाई यो दुर्घटनाको अवस्था अझै थाहा छैन । हामीले केही उचित शङ्का गर्न सक्छौँ, ’ फ्रान्स सरकारका प्रवक्ताको भनाइ छ ।

यस्तै युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले उक्त विमान दुर्घटनाका पछाडि युक्रेन नभएको प्रतिक्रिया दिएका छन् । ‘हामीलाई यसमा कुनै चासो थिएन । यस घटनाका पछाडि कसको के सम्बन्ध छ भन्ने कुरा सबैले बुझेका छन्,’ जेलेन्स्कीले भनेका छन् ।

तस्बिर : रोयटर्स् 

सम्बन्धित समाचार...

पुटिनको प्रतिबद्धता : वाग्नर विद्रोहका नेतालाई न्यायको कटघरामा ल्याइने छ

नाटकीय रुपमा पछि हट्यो वाग्नर समूह

विमान दुर्घटनामा रुसी वाग्नर समूहका प्रमुख प्रिगोजिनको मृत्यु भएको पुष्टि


Image

मिमराज पाण्डेय

पाण्डेय कान्तिपुर टेलिभिजनमा कार्यरत छन् । सामाजिक सञ्जालहरूमा उनलाई @mrpandeya लेखेर खोज्न सकिन्छ ।


Enter Kantipur TV HD
Advertisement