भारत र रूसबीच रक्षा, व्यापारलगायतका सात महत्वपूर्ण क्षेत्रमा सम्झौता

भारतलाई विनाअवरोध तेल निर्यात गर्ने पुटिनको दाबी
मंसिर १९, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
भारत र रूसबीच रक्षा, व्यापारलगायतका सात महत्वपूर्ण क्षेत्रमा सम्झौता

काठमाडौं । भारत र रूसबीच रक्षा, व्यापारलगायतका सात महत्वपूर्ण क्षेत्रमा सम्झौतामा हस्ताक्षर भएको छ। 

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको भ्रमणमा अवसरमा दुई देशबीच सम्झौता तथा सहमतिपत्रमा हस्ताक्षर भएको हो । भारत र रूसबीच स्वास्थ्य शिक्षा, कामदारको आवतजावत, कृषि, जहाज निर्माण तथा यातायात, श्रम तथा दूरसञ्चार, खाद्य सुरक्षा, रासायनिक मललगायतका विषयमा सम्झौता भएको हो ।

शुक्रबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दु्ई देशबीच सन् २०३० सम्मका योजनाका लागि सहमति भएको बताउनुभयो । उहाँले रूसी नागरिकका लागि ३० दिनको निःशुल्क इ-टुरिस्ट भिसा जारी गर्ने जानकारी दिँदै दुई देशबीच भएको जहाज निर्माणसम्बन्धी सम्झौताले मेक इन इन्डिया नारालाई अझ मजबूत पार्ने उल्लेख गर्नुभयो । 

प्रधानमन्त्री मोदीले युक्रेनका विषयमा आफूहरू सुरूदेखि नै शान्तिको पक्षमा रहेको बताउँदै युक्रेनमा भइरहेको स्थायी समाधानका लागि भइरहेको सबै प्रयासको स्वागत गर्ने पनि बताउनुभयो । सो अवसरमा रूसी राष्ट्रपति पुटिनले दुवै देशले आर्थिक सहयोगलाई बढाउने उल्लेख गर्दै भारतीय सेनाको आधुनिकीकरणका लागि सहयोग गर्ने बताउनुभयो । 

उहाँले भारतलाई विनाअवरोध तेल निर्यात गर्ने पनि बताउनुभयो । दुई दिने भारत भ्रमण सकाएर पुटिन आजै स्वदेश फर्कंदै हुनुहुन्छ ।