नाटकीय रुपमा पछि हट्यो वाग्नर समूह, प्रिगोजिन बेलारुस जाने

असार १०, २०८० |कान्तिपुर टीभी संवाददाता
नाटकीय रुपमा पछि हट्यो वाग्नर समूह, प्रिगोजिन बेलारुस जाने

काठमाडौं । विद्रोहको घोषणा गर्दै मस्कोतर्फ अगाडि बढेको रुसको निजी सैन्य समूह वाग्नर पछाडि हटेको छ ।

रुसको रोस्तोभ सहरमाथि नियन्त्रण कायम गरेको वाग्नर समूह पछिल्लो २४ घण्टाभित्रै नाटकीय रुपमा पछि हटेको हो ।

राष्ट्रपति भ्लादिमिर पुटिनको २२ वर्षे शासनमा सबैभन्दा ठूलो चुनौती खडा गरेको विद्रोही फौजका कमान्डर यभ्गेनी प्रिगोजिनले मस्कोतर्फको यात्रा रोक्न आदेश दिएका हुन् ।

वाग्नर समूहका सैनिकहरु नियन्त्रणमा लिएको भनिएको रोस्तोभ सहरबाट पनि बाहिर निस्कन थालेका छन् । रक्तपात हुन सक्ने अवस्थालाई ध्यानमा राखेर तत्काललाई आफ्नो सेनालाई फिर्ता बोलाइएको प्रिगोजिनले जनाएका छन् ।

वाग्नर समूहका सैनिक मस्कोतर्फ अगाडि बढिरहेको अवस्थामा रुसको छिमेकी तथा समर्थक देश बेलारुसले मध्यस्थता गरेको हो । बेलारुसका राष्ट्रपति अलेक्जेन्डर पेरोसेन्कोले वाग्नर समूहको नेतृत्व गरिरहेका प्रिगोजिनलाई थप अगाडि बढ्नबाट रोक्न सफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । पेरोसेन्को र प्रिगोजिनबीच लामो वार्ता भएको थियो ।

रुसको सरकारी सञ्चारमाध्यमकाअनुसार प्रिगोजिन अब बेलारुस जाने छन् । वाग्नर समूहमाथि लगाइएको विद्रोहको आरोप फिर्ता लिन रुस तयार भएपछि प्रिगोजिन आफ्ना सैनिकलाई फिर्ता बोलाउन सहमत भएको उल्लेख गरिएको छ । वाग्नर समूह फिर्ता हुन थालेसँगै रुसमाथिको सम्भावित संकट टरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

वाग्नर समूह रुसी सरकारले भाडामा प्रयोग गर्दै आएको सैन्य दस्ता हो । यो समूहले हाल रुसी सरकारी सेनासँग मिलेर युक्रेनविरुद्धको लडाइँ लडिरहेको छ । रुसी सरकारी सेनाले आफ्नो शिविरलाई लक्षित गरी मिसाइल प्रहार गरेको भन्दै वाग्नर समूहले रुसी सैन्य नेतृत्वको आलोचना गर्दै आएको छ । यस समूहका प्रमुख नेता प्रिगोजिनले न्यायको लागि आफ्नो समूहले लडाइँ लड्नु परेको बताएका छन् ।

वाग्नर समूहका सैनिक मस्कोतर्फ अगाडि बढेसँगै मस्कोमा हलचल मच्चिएको थियो । साथै राष्ट्रपति पुटिनले मस्को छाडेको पनि अफवाह फैलिएको थियो । फ्लाइट ट्रयाकिङ डाटामार्फत दुई विशिष्ट विमानले उडान भरेको जानकारी प्राप्त भएसँगै यस हल्लामा थप बल पुगेको थियो । यद्यपि, पुटिनका प्रेस सचिवले उनी क्रमलिनमै रहेको जनाएका थिए ।

युक्रेनमा युद्धरत वाग्नर समूहका लडाकु शिविर छाडेर रुसतर्फ लागेका थिए । योसँगै युक्रेन युद्धकाबीच रुसी सेना र वाग्नर समूहबीच टकराबको अवस्था सिर्जना भएको हो । यसका साथै वाग्नर समूहको गतिविधिसँगै चेचन्याको विशिष्ट सैन्य बल पनि मस्को तर्फ अगाडि बढ्ने खबर आएको थियो । आवश्यकता परेको खण्डमा चेचन लडाकु वाग्नर समूहको लडाकुको प्रतिकार गर्न तयार थिए । यद्यपि, सेना फिर्ता गर्ने वाग्नर समूहको घोषणासँगै रुसको सम्भावित संकट टरेको विश्लेषण भइरहेको छ । 

यो पनि...

रुसी २ सैन्य केन्द्र कब्जामा लिएको वाग्नर समूहको दाबी, कारबाही गर्ने मस्कोको चेतावनी


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement