युक्रेन लडाइँमा आफ्ना २० हजार सैनिक मारिएको वाग्नर ग्रुपको दाबी

जेष्ठ ११, २०८०
युक्रेन लडाइँमा आफ्ना २० हजार सैनिक मारिएको वाग्नर ग्रुपको दाबी

मस्को । रुसको निजी सैनिक कम्पनी वाग्नर ग्रुपले युक्रेनको पूर्वी सहर बाखमुत नियन्त्रणका लागि भएको युद्धमा आफ्ना करिब २० हजार सैनिक मारिएको जनाएको छ ।

वाग्नर ग्रुपका संस्थापक येभगेनी प्रिगोचिनले युक्रेनविरुद्धको महिनौं लामो युद्धमा लड्न करिब ५० हजार कैदीलाई वाग्नर समूहमा भर्ना गरेको जनाए । उनीहरुमध्ये करिब २० प्रतिशत मारिएको उनको भनाइ छ । करिब त्यत्तिकै संख्यामा अनुबन्धन गरिएका भाडाका सैनिक पनि सो युद्धमा मारिएको प्रिगोचिनले जनाएका छन् ।

यही शनिबार वाग्नर समूह र रुसी सेनाले बाखमुत सहर पूर्णत आफ्नो कब्जामा आएको घोषणा गरेका थिए । राष्ट्रपति भ्लादिमिर पुटिनले यसका लागि आफ्ना सेनालाई बधाईसमेत दिएका थिए । तर युक्रेनले भने बाखमुत सहर जोगाउन आफना सैनिकहरु निरन्तर लडिरहेको जनाउँदै आएको छ । महिनौंसम्म चलेको लडाइका कारण बाखमुत सहर भने खण्डहर झैं भएको छ ।

यसैबीच गत सोमबार युक्रेनको सीमावर्ती क्षेत्रबाट रुस भूमि-बेलगोरोड क्षेत्रमा सशस्त्र अतिक्रमण गरेको समूहले छिट्टै रुसमाथि यस्ता थप आक्रमण गर्ने चेतावनी दिएको छ । आफूलाई रसियन भोलुन्टियर कोर आरभीसीका कमान्डर बताउने डेनिस क्यापुस्टिनले बुधबार युक्रेनतर्फको भूमिमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो चेतावनी दिएका हुन् ।

युक्रेनभित्र रहेर आफ्नो गतिविधि चलाउँदै आएका दुई सशस्त्र रुसी समूहले सोमबार र मंगलबार रुसी भूमिका भएको अतिक्रमणको जिम्मेवारी लिएका थिए । रुसले भने सो अतिक्रमणमा युक्रेनी सेनाको संलग्नता रहेको र ७० जना विद्रोहीलाई समाप्त पारेको दाबी गरेको छ ।