रुसी २ सैन्य केन्द्र कब्जामा लिएको वाग्नर समूहको दाबी, कारबाही गर्ने मस्कोको चेतावनी

असार ९, २०८०
रुसी २ सैन्य केन्द्र कब्जामा लिएको वाग्नर समूहको दाबी, कारबाही गर्ने मस्कोको चेतावनी

मस्को । रुसी सेनाविरुद्ध विद्रोहको घोषणा गरेको निजी सैन्य समूह वाग्नरले रुसका महत्त्वपूर्ण दुईवटा सैन्य केन्द्र कब्जामा लिएको दाबी गरेको छ ।

रुसी सेनाले आफ्नो शिविरमा आक्रमण गरेको आरोप लगाउँदै विद्रोहमा उत्रिएको वाग्नरले रोस्तोभ र भोरोनेजका सैन्य केन्द्र कब्जामा लिएको जनाएको हो ।

वाग्नर प्रमुख येभगेनी प्रिगोजिनले रुसी रक्षामन्त्री सेर्गेई शोइगु र उच्च सैनिक अधिकारीले आफूसँग भेट नगरेमा मस्कोतर्फ अघि बढ्ने चेतावनी दिएका छन् । शुक्रबार राति रक्षामन्त्री सेर्गेईले नै आफ्नो शिविरमा आक्रमण गर्न आदेश दिएको येभगेनीको आरोप छ । उक्त आक्रमणमा आफ्ना २ हजार सैनिक मारिएको उनको दाबी छ ।

वाग्नर सैनिकहरुले रुसनियन्त्रित युक्रेनको दोनेत्स्क सहरलाई पनि नियन्त्रणमा लिएका छन् । उनीहरुले दोनेत्स्कको केन्द्रीय कमान्ड तथा सरकारी भवनहरुलाई समेत नियन्त्रणमा लिएको अल जजिराले जनाएको छ । वाग्नर रुसका लागि युक्रेनविरुद्ध लडिरहेको भाडाको सैनिक समूह हो ।

नयाँ घटनाक्रम विकसित भएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विद्रोहको षड्यन्त्र गर्नेहरुलाई कारबाही गर्न निर्देशन दिएका छन् । मस्को र आसपास क्षेत्रका अधिकारीहरुले आतंकवादविरोधी आपत्‌काल घोषणा गरेका छन् भने सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

युक्रेनले भने प्रिगोजिनको विद्रोहले पुटिन शासन अन्त्यको संकेत गरेको टिप्पणी गरेको छ । राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रुसी कमजोरीको पर्दाफास भइसकेको बताएका छन् ।

यसैबीच, बेलायती प्रधानमन्त्री ऋषि सुनकले नागरिकको सुरक्षाका लागि रुसी राजनीतिक दललाई आग्रह गरेका छन् ।

थप समाचार...

रुसी सहर रोस्तभमाथि वाग्नर ग्रुपको नियन्त्रण दाबी (तस्बिरमा)
रुसमा सुरक्षा व्यवस्था कडा, वाग्नर समूहका प्रमुखमाथि विद्रोहको आरोप
युक्रेन लडाइँमा आफ्ना २० हजार सैनिक मारिएको वाग्नर ग्रुपको दाबी


Enter Kantipur TV HD
Advertisement